arrow

अप्रत्याशित लाभ एवं राजमान र अधिकार प्राप्ति हुने कुम्भको योग, यस्तो हुनेछ साल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १ बिहिबार
horoscope-kumbha-aquarious.jpg

कुम्भ राशि हुनेहरूको लागि वि.सं. २०७९ साल वर्षको पूर्वार्धको तुलनामा उत्तरार्ध तसै अनुकूल देखिएको छ । पूर्वार्ध अलमल, संघर्षकर एवं केही विपरीत महसुस हुनेछ । 

हार्मोनिक असन्तुलन, घाउखटिरा एवं पित्तविकार तथा संक्रामक ज्वरोप्रकोपको भय रहने छ । कामकार्यमा अड्चन तथा ढिलासुस्ति गराउने ग्रहगोचर छ, सामान्य कार्यले पनि बढी समय लिनेछ । पछि इज्जतप्रतिष्ठमा प्रश्नचिह्न लाग्ने र पश्चातापमा पर्नसक्ने कैफियत कार्यमा चेष्टा हुनसक्ने खतरा छ जसबाट बच्न निकै संयमित हुनुपर्ला । 

आयको तुलनामा व्यय तथा खतिक्षति बढाउने ग्रहगोचर मण्डलको भूमिका देखिएको हुनाले विशेष सजगतापूर्वक जनव्यवहार एवं स्वकार्यको सम्पादन गर्नु उचित हुनेछ । र पनि आफ्नो आस्था एवं सिद्धान्तबाट विचिलित नभइ स्वकर्मशील रहनाले तसै उपलब्धि हातपार्न सकिने छ । निस्काम कर्मको सिद्धान्तलाई अवलम्बन गर्ने र प्रतिकूल ग्रहदशाको उचित उपाय अपनाउनेहरूलाई सामान्यतया उपयुक्त कर्मफल मिल्ने छ ।

थोरधेर लाभ एवं उपलब्धि पनि हुनेछ । तर प्रमाद् तथा मदहोश गर्नेको लागि भने प्रतिफल विपरीत नै हुने खतरा रहने छ । जन्म समयमा शनि आदि ग्रह अनुकूल अर्थात् कारक रहनेको हकमा भने अपेक्षित कार्यमा अवरोध भए पनि अनपेक्षित रूपमा आकस्मिक लाभ एवं उपलब्धिहरू तथा अप्रत्याशित लाभ एवं राजमान र अधिकार प्राप्ति हुनेछ । 

प्रदेश जाने, मुग्लान पस्ने, घरपरिवारबाट टाढा हुने जस्ता कार्यमा ग्रहको साथ तसै उपयुक्त देखिन्छ, दलालीबाट बचेर यात्रा सम्पादन गर्नु उचित हुनेछ । शत्रु प्रभाव बढ्ने गोचरयोग हुनाले लोकव्यवहार एवं कार्यक्षेत्रमा सावधानी अपनाउनु बुद्धिमानी हुनेछ । 

वर्षको उत्तरार्धबाट कृषि एवं पशुपंक्षी पालन र कलाजन्य क्षेत्रबाट आवधिक लाभ मिल्ने छ । आकांक्षीले उचित तयारी गरी आयोग लडेको खण्डमा नोकरी मिल्ने छ । भइरहेको जागिरमा पदोन्नति हुनेछ । 

शिक्षाकारक ग्रह अनुकूल हुँदै गएकोले विद्यार्थी भाइबहिनीहरूले अध्ययनमा सफलता प्राप्त गर्नसकिने छ । ब्याकपेपर हुनेहरूले पनि मेहनत बढाउँदा पास हुनसकिने छ । उद्योगधन्दा व्यापार व्यसाय आदि पेशामा पनि ग्रहगोचरले साथ दिने हुनाले राम्रो लाभांश हातपार्न सकिने छ ।

विवाहाकांक्षीहरूको नयाँ घरवार जोडिने योग छ, प्रेमपारखीहरूको लागि पनि समय अनुकूल रहने छ । गृहस्थीहरूलाई पारिवारिक सौहार्दता बढेर जानेछ । मुमुक्षुहरूको लागि आत्मज्ञानमा बृद्धि हुनेछ । 

घरघडेरी जोडिने तथा गृहनिर्माणको अवसर जुट्ने छ । प्रदेशिएको पारिवारको सदस्य घर फर्कदा पारिवारिक उमङ्ग बढ्ने छ । राजनीति समाजसेवा आदिमा सफलता एवं प्रतिष्ठा बढेर जानेछ । महादशा, अन्तर्दशा एवं योगिनीदशा आदिमा प्रतिकूल तथा अकारक दशा चल्नेहरूलाई अनुकूलताको तुलनामा केही बढी प्रतिकूल तथा संघर्षजन्य परिस्थितिको सामना गर्नुपर्ने हुन्छ । 

जसको लागि धेरै पक्षमा सावधानी अपनाउनु जरुरी हुनेछ । मिथ्यापवाद अथवा झुटो आरोप, मुद्धामामिला आइपर्ने खतरा छ, जसबाट बच्न कार्यक्षेत्र एवं जनव्यवहार आदिमा निकै संयम तथा होसियारी अपनाउनु होला । दुर्घटना, दैविक विपत्ति तथा धनजनको क्षतिखति, परिबन्द, चोरी, राज्यबाट भय–कष्ट, गलत संगत, स्वजनबाट विश्वासघात, फसिने–ठगिने, नहुनेकार्यमा मन जाने र समय फुत्किसके पछि पश्चाताप पर्नेजस्ता फलको संकेत ग्रहगोचरले गरिरहेको छ ।

यसैगरी वातव्याधि, स्नायू तथा नशा रोग, शिर मस्तिष्कमा समस्या, अल्सर, क्षय, श्वासकाश, चोटपटक एवं प्रोष्टेड बृद्धि, मिर्गौला, लिभर, गर्भाशय आदिमा रोगको सिकायत, थायरायड, स्तन विकार आदि स्वास्थ्य समस्याको जोखिम देखिएको छ । हृदयरोग, उच्च रक्तचाप, मधुमेह, दम जस्ता दीर्घरोगीहरू लगायत सम्बन्धित सबैले विशेषरूपमा स्वास्थ्यको ख्याल गर्नु उचित हुनेछ ।

कुम्भ राशिका व्यक्तिहरूले यस वर्ष महाकाल शनिमृत्युञ्जयको पाठ, महावीर हनुमानको र वर्षको पूर्वार्ध माँ बगलामुखी यसै गरी विद्यार्थीहरूले माँ सरस्वतीको स्तुति आराधना उपाशना गर्नु अथवा आफ्नो कुल धर्म संस्कृति अनुसार सात्त्विक तरिकाले वर्षभरी शनि र वर्षको पूर्वखण्डसम्म गुरु बृहस्पतिको शान्तिका उपयुक्त उपायहरू अवलम्बन गर्नु शुभकर हुनेछ । साथै दीनदुःखी, गरीब, अनाथ, असाय एवं श्रमिक वर्गलाई सहयोग हुने काम गर्नाले पनि ग्रहजनित दुष्प्रभाव कम गर्न मद्दत मिल्नेछ । 

जागिर पेशा व्यवसायिक कर्म आदिको शिलशिलामा घर बाहिर अथवा देश विदेश रहनुको जस्ता विभिन्न कारणले ग्रह शान्तिजन्य कर्मकाण्डी विधिविधान गर्न सम्भव हुँदैन भने पनि बुबाआमा हुनेहरूले प्रत्यक्ष अप्रत्यक्ष रूपमा जसरी सकिन्छ उहाँहरूको सेवा गर्नाले, लोपोन्मुख स्थानीय जातिका गाईको वंशलाई संरक्षण गर्ने हेतुले स्थापना भएका गौशालाहरूलाई सहयोग गर्नाले, दीनदुःखी असहाय, रोगी, अशक्त, बालबृद्धहरूलाई सेवाको लागि सञ्चालन भएका निकायहरूलाई सहयोग गर्नाले साथै अहिंसा आदि सत्याचरणमा रहेर परोपकार एवं लोकहितको कर्म गर्नाले पनि ग्रहजनित दुस्प्रभावलाई कमगर्न सकिन्छ ।

कतिपय व्यक्तिललाई आफूलाई फाप्ने कलर एवं नं.को बारेमा जान्ने जिज्ञाशा राख्ने गर्नुहुन्छ । यद्यपि ग्रहरत्न, रङ्ग र अङ्कको प्रयोग गर्दा राशिको आधारमा मात्र नभएर जन्म कुण्डलीका केन्द्र त्रिकोण अनुसार कारकतत्व विचार पुर्याउनु पर्ने कुरामा ध्यान दिन जरुरी हुनेछ । 

तथापि राशिको आधारमा कलर र नं. जान्न चाहनुहुने कुम्भ राशि हुने व्यक्तिहरूले निलो, कालो, हरियो र पानी रङ्ग अथवा आंशिक सेतो रङ्गको प्रयोग अथवा यी रङ्गका वस्तुको प्रयोग गर्न सक्नु हुनेछ । यसै गरी अङ्कमा २, ३ र ७ अङ्कको प्रयोग फापकर हुनसक्ने छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ