arrow

खेलाडी, कलाकार र कृषकलाई फलिफाप हुने मीनको यस्तो हुनेछ समग्रमा २०७९ साल

logo
ज्यो. हरि पन्त,
प्रकाशित २०७९ वैशाख १ बिहिबार
horoscope-min-pisces.jpg

मीन ः मीन राशि हुनेहरूको लागि वि.सं. २०७९ साल वर्षको पूर्वार्धको तुलनामा उत्तरार्ध सामान्य राहतप्रद रहने छ । पूर्वार्धमा आयको तुलनामा व्यय बढी हुनजाने देखिन्छ । 

अप्रत्यासित खतिक्षतिको जोखिमलाई पनि नकार्न सकिन्न । एउटा कामको लागि साँचेको धन अर्कोतिर खर्च गर्नपर्ने छ । स्वास्थ्यले पनि निहुँ खोज्नसक्ने लक्षण देखिएको छ । हात छाती एवं नाककान घाँटीतिर स्वास्थ्य समस्या देखिनसक्ने छ । खर्च, धपडीपूर्ण यात्रा र अवमुल्यन आदि प्रतिकूलताको सामना गर्नुपर्ने देखिन्छ । ग्रहगोचर परिषद्को अवस्था त्यति सकारात्मक नदेखिएको हुनाले विशेष सजगतापूर्वक जनव्यवहार एवं स्वकार्यको सम्पादन गर्नु उचित हुनेछ । 

शत्रु प्रभाव बढ्ने गोचरयोग परेको हुनाले लोकव्यवहार एवं कार्यक्षेत्रमा निकै सावधानी अप्नाएर अघि बढ्नु बुद्धिमानी हुनेछ । घरपरिवार तथा आफन्तिदेखि टाढा बनाउन ग्रहगोचरले जोड गरिरहेको छ, प्रदेशी हुने तथा मुग्लान पस्ने काम बन्ने छ ।

विना मेहनतको कैफियत आम्दानीतर्फ चेष्टा बढ्न सक्ने र त्यसले पछि पश्चातापमा पार्नसक्ने खतरालाई नकार्न सकिन्न । महादशा आदिमा प्रतिकूल तथा अकारक दशा चल्नेहरूलाई विपरित फल बढी घटित हुनेछन् जसको लागि सक्बन्धित ग्रहउपचारको उपाय अवलम्बन गर्नु शुभकर हुनेछ । र पनि आफ्नो आस्था एवं सिद्धान्तबाट विचिलित नभइ स्वकर्मशील रहनाले तसै उपलब्धि हातपार्न सकिने छ । 

वर्षको मध्यपछि छोटो समयको लागि तसै अनुकूल रहने छ । रोजगारको अभिलाषीलाई जागिर मिल्ने र जागिरेलाई प्रमोशन हुनसक्ने छ । व्यापार व्यवसाय तथा उद्योगधन्दामा स्तर वृद्धि हुनेछ । 

राजनीति एवं सामाजिक सेवा आदिमा पदप्रतिष्ठा र जिम्मेवारी बढ्ने छ । विद्यार्थीलाई अध्ययनमा सफलता मिल्ने छ । जग्गाजमीन थपिने छ, गृहनिर्माण आदि कार्य सम्पादन गर्नसकिने छ । सामान्य कष्टको बाबजुत सन्तान अभिलाषीलाई सन्तान प्राप्ति हुने तथा सुख एवं सन्तोष मिल्ने समय छ ।

खेलाडी, शारीरिक परिश्रम एवं कृषि र कलाजन्य क्षेत्रमा आवधिक सफलता प्राप्त हुनेछ । जन्म समयमा शनि आदि ग्रह अनुकूल अर्थात कारक रहनेको हकमा आकस्मिक उपलब्धि तथा अप्रत्यासित लाभ एवं राजमान र अधिकार प्राप्ति हुनसक्ने संभावना पनि रहेको छ । 

न्यायिक विजय मिल्ने र कुलभित्र प्रतिष्ठा बढ्ने छ । राम्रो काममा नयाँ लगानीको अवसर प्राप्त हुनेछ । शेयर आदिबाट पनि राम्रो फाइदा उठाउन सकिने छ । 

विशेष कार्यहरू र रोकिएर रहेका काममा सफलता प्राप्त गर्न तथा पूरा गर्नसकिने छ । समय र अवसरको उचित ढङ्गले सदुपयोग गर्दै अगाडि बढ्नाले सामाजिक एवं व्यवहारिक र व्यवसायिक क्षेत्रमा प्रष्ठिाको साथमा भौतिक उन्नति हुनजाने छ । 

तर, महादशा, अन्तर्दशा एवं योगिनी दशा आदिमा प्रतिकूल तथा अकारक दशा चल्नेहरूको लागि समय अल्लि बढी विपरीत सिद्ध हुनेछ । माघ महिनाको अन्तिमबाट साढेसाती शनि शुरु हुँदैछ । 

झुटो लाञ्छना लाग्ने, चारित्रिक एवम् नैतिक प्रतिष्ठामा आँच आउने, मुद्धामामिला सपर्नसक्ने, धन–जन तथा भौतिक सम्पत्तिको क्षतिखति हुने र चोटपटकादि भय रहेको छ । दैविक विपत्ति, कूल–परिवारमा रोगशोक आदिको संकेत छ । नगरी नहुने काममा बाहेक अन्यमा बढी सरोकार नगरी इष्ट साधना तथा कर्ममा तप बढाउनु तपाईको लागि बुद्धिमानी हुनेछ ।

यो वर्ष मीन राशिका व्यक्तिहरूले इष्टदेवको साथमा माँ बगलामुखी एवं विद्यार्थीहरूले माँ सरस्वती र भैरवदेवको साथै फागुनदेखि महावीर पवनपुत्र हनुमानको साथमा माँ भगवतीको भक्ति उपाशना गर्नु अथवा आफ्नो कुल धर्म संस्कृति अनुसार सात्त्विक तरिकाले गुरु बृहस्पति, राहु र केतुको साथै माघमहिनाको अन्तिमबाट शनि ग्रहको शान्तिका उपयुक्त उपाय अवलम्बन गर्नु शुभकर हुनेछ । 

यसैगरी ब्रह्मज्ञानी गुरुजनको आशीर्वाद लिने, दीनदुःखी, वृद्धवृद्धा एवं गाईको सेवामा सहयोग गर्ने, विद्यार्थीलाई पाठ्य सामाग्री उपहार दिने गर्नाले शुभफललाई बढाउन मद्दत मिल्ने छ ।

जागिर पेशा व्यवसायिक कर्म आदिको शिलशिलामा घर बाहिर अथवा देश विदेश कहीँ पनि हुनुहुन्छ र ग्रहशान्तिजन्य कर्मकाण्डी विधिविधान गर्न सम्भव हुँदैन भने पनि बुबाआमा हुनेहरूले प्रत्यक्ष अप्रत्यक्ष रूपमा जसरी सकिन्छ उहाँहरूको सेवा गर्नाले, लोपोन्मुख स्थानीय जातिका गाईको वंशलाई संरक्षण गर्ने हेतुले स्थापना भएका गौशालाहरूलाई सहयोग गर्नाले, दीनदुःखी असहाय, रोगी, असक्त, बालवृद्धहरूलाई सेवाको लागि सञ्चालन भएका निकायहरूलाई सहयोग गर्नाले साथै अहिंसा आदि सत्याचरणमा रहेर परोपकार एवं लोकहितको कर्म गर्नाले पनि ग्रहजनित दुस्प्रभावलाई कम गर्न सकिन्छ । 

कतिपय व्यक्तिलाई फाप्ने कलर एवं नंको बारेमा जान्ने इच्छा हुनसक्छ । यद्यपि ग्रहरत्न, रङ्ग र अङ्कको प्रयोग गर्दा राशिको आधारमा मात्र नभएर जन्म कुण्डलीका केन्द्र त्रिकोणअनुसार कारकतत्व विचार पुर्याउनु पर्ने कुरामा ध्यान दिन जरुरी हुनेछ । तथापि राशिको आधारमा कलर र नं. जान्न चाहनुहुने मीन राशि हुने व्यक्तिहरूले पहेंलो, रातो र सेतो रङ्गको प्रयोग गर्नु वा यी रङ्गका वस्तुको प्रयोग गर्नु र यसै गरी अङ्कमा ३, ४ र ८ अङ्कको प्रयोग फापकर हुन सक्नेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ