arrow

काँग्रेसले हामीलाई उपेक्षा गर्‍यो, गठबन्धन गर्दैनौँ  : सङ्खुवासभा माओवादी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३ शनिबार
Maoist-750-1-750.jpg
फाइल तस्बिर

सङ्खुवासभा। आगामी ३० वैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर जाने विषयमा सत्तारुढ नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र बिच आरोप प्रत्यारोप सुरु भएको छ।

पाँच दलबीच गठबन्धन हुन नसक्ने निष्कर्षका साथ केन्द्र र प्रदेशका संयन्त्रलाई जानकारी गराउने निर्णय गरेर अलग भएका काँग्रेस र माओवादी केन्द्र बिच आरोप प्रत्यारोप सुरु भएको हो। दुवैले गठबन्धन नहुनुमा एक अर्कालाई दोष लगाउन थालेका छन्।

माओवादीले काँग्रेसको आन्तरिक कलह समाधान हुन नसक्दा जिल्लामा चुनावी गठबन्धन गर्न नसकेको आरोप लगाएको छ। निर्वाचनका लागि सत्तारुढ पाँच दलबीच गठबन्धन गर्ने कोसिस अन्ततः काँग्रेसका कारण सम्भव हुन नसकेको भन्दै जिल्लामा सहमति गर्न नसकिएको माओवादी जिल्ला अध्यक्ष टेकमान राईले आरोप लगाएका हुन्।

‘२ वैशाखको बैठकमा सहभागी सबै दलको तर्फबाट आ–आफ्नो धारणा राख्ने काम भयो तर नेपाली काँग्रेसभित्र देखिएको चरम अन्तर कलह, गठबन्धन दलहरूबिच पालिकाहरूमा गर्ने विषयमा भएको सकस र काँग्रेसबाट हाम्रो पार्टीलाई अति उपेक्षा र अवमूल्यन गरेको कारण यस जिल्लामा सहमति गर्न नसकिएको निष्कर्षमा पुगिएको हो,’ राईले प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘उक्त विषयको जानकारी प्रदेश र केन्द्रको संयन्त्रलाई गराउने सहमति भएको साथै गठबन्धन भने नतोड्ने र अन्तिम विन्दुसम्म सहमतिको प्रयास गर्ने गरी बैठकबाट बाहिरिए लगत्तै काँग्रेसले एकतर्फी रूपमा माओवादीसँग गठबन्धन टुटेको घोषणा गरेको छ।’

आफ्नो दलभित्र उत्पन्न समस्या व्यवस्थापन गर्न र अन्य सहयात्री दलको अस्तित्वलाई स्विकार्दै आवश्यक लचकता अपनाउनुको साटो काँग्रेसले पाँच दलीय गठबन्धनको केन्द्रीय निर्णय, भावना र मर्म विपरीत एकपक्षीय रूपमा गठबन्धन तोडेको घोषणा गर्नु गैर जिम्मेवार निर्णय भएको माओवादी केन्द्रको भनाइ छ।

खाँदवारिमा चार दिनसम्म चलेको बैठकबाट स्थानीय तहको भागबन्डा गर्न नसकेपछि पाँच दलीय गठबन्धनको बैठक नै छाडेर माओवादी केन्द्र बाहिरिएको थियो। गठबन्धनको बैठकबाट बाहिरिएपछि काँग्रेस जिल्ला सभापति दीपक खड्काले सङ्खुवासभामा गठबन्धन टुटेको घोषणा शुक्रवार गरेपछि माओवादीले शनिवार प्रेस विज्ञप्ति जारी गरेर प्रस्टीकरण दिएको हो।

 



नयाँ