arrow

शुक्रवार चार अमेरिकी सांसद र प्रतिनिधिसभा सदस्य नेपाल आउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ६ मंगलबार
us-senator-representative-nepal-us-senator.jpg

काठमाडौं। यसै हप्ताको शुक्रवार चार अमेरिकी डेमोक्रेट सांसद र एक प्रतिनिधिसभा सदस्य गरी पाँच जनाको टोली नेपाल आउने भएको छ । सिनेटर मार्क केली, सिनेटर कर्स्टन गिलिब्रान्ड, सिनेटर कोरी बुकर, एड मार्की र प्रतिनिधिसभा सदस्य मोन्डेयर जोन्स नेपाल आउन लागेका हुन् ।

सिनेटर मार्क केलीले थप जानकारी बाहेक नौ दिने भ्रमणको कुरा खुलाएको अमेरिकी समाचार वेबसाइट द हीलले जनाएको छ । रुसले युक्रेनमाथि आक्रमण गरेपछि रुसविरुद्ध विश्व शक्ति लागिपरेको छ । नेपाल भ्रमणका क्रममा यो टोलीले युक्रेन मुद्दालाई पनि प्राथमिकतामा राख्ने बताइएको छ ।

चार सांसद, प्रतिनिधिसभा सदस्य र अन्य उच्च अधिकारीहरूसमेत रहने भनिएको यो भ्रमण टोली पोल्याण्ड, युएई, भारत, नेपाल र जर्मनीको नौ दिने भ्रमणमा निस्किएको हो । युक्रेनको पक्षमा समर्थन जुटाउनु र द्विपक्षीय सम्बन्धलाई सुदृढ गर्ने भ्रमणको टोलीको प्राथमिकता भनिए पनि अन्य एजेण्डाहरु भने सार्वजनिक भएका छैनन् ।

'अमेरिका र युक्रेन र नेटोका सहयोगीलाई रुसी अप्रत्याशित युद्धविरुद्ध कसरी बचाउन सक्छ भन्ने कुरा थाहा पाउन यो बलियो कंग्रेसनल प्रतिनिधिमण्डलले पोल्याण्डमा अमेरिकी सैन्य नेतृत्व र सेनासँग भेट्ने अवसर पाउनेछ,' सांसदहरूले संयुक्त विज्ञप्तिमा भनेको अमेरिकी सञ्चारमाध्यमले जनाएको छ ।

अन्तर्राष्ट्रिय तटस्थताको नीतिबाट विचलित हुँदै युक्रेनमा रुसको आक्रमणको निन्दा गर्ने एसियाली मुलुकमध्येको नेपालमा थप समर्थन जुटाउन सांसद टोली प्रतिबद्ध रहने ठानिएको छ ।

नेपालमा रहँदा टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा नारायण खड्कालगायत  प्रमुख नेताहरूसँग भेटघाट गर्ने बुझिएको छ । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले चार सिनेटर र प्रतिनिधिसभा सदस्यसहितको अमेरिकी टोली नेपाल भ्रमणमा आइरहेको बताएकी छन् ।

अर्का हप्ताको आइतबारसम्म उक्त टोली नेपालमा रहने भनिए पनि आधिकारिक रूपमा भ्रमण मितिबारे जानकारी भने सार्वजनिक भएको छैन ।

पारित भइसकेको अमेरिकी आर्थिक सहायता परियोजना एमसीसीले चर्चा पाएयता अमेरिकी उच्च अधिकारीहरूको नेपाल भ्रमण भने संयोग बस हो या योजनागत रुपमै, बाक्लिएको भने पक्कै देखिन्छ । यसअघि आइतबार नेपाल दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी उप सहायक विदेश मन्त्री केल्ली किडरलिङ नेपाल भ्रमणमा आएकी थिइन् ।

यसै साताको अन्त्यमा अर्को ठूलो टोली नेपाल आउन लागेको हो । गत नोभेम्बरमा पनि केल्ली किडरलिङ नेपाल आएकी थिइन् । त्यति बेला अर्का अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु पनि नेपाल भ्रमणमा थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ