arrow

खोप वितरण गरेकोमा टेड्रोसलाई धन्यवाद, खोप लगाएकामा राष्ट्रपतिलाई कृतज्ञता

logo
शरद् शर्मा, 
प्रकाशित २०७९ वैशाख ९ शुक्रबार
trado-rastapati.PNG

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले शिष्टाचार भेटवार्ता गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा उनीहरुबीच आज बिहान भेटवार्ता भएको राष्ट्रपति भण्डारीका प्रेस सल्लाहकार टीका ढकालले जानकारी दिए । 

उनका अनुसार भेटमा राष्ट्रपति भण्डारीले कोरोना भाइरस महामारीमा सबै देशलाई समान तरिकाले डब्ल्यूएचओले खोप वितरण गरेकामा डब्ल्यूएचओ महानिर्देशक डा टेड्रोसलाई धन्यवाद ज्ञापन गरिन् । 

महानिर्देशक डा टेड्रोसले नेपालले कोरोना भाइरस खोप धेरैजसोलाई लगाएकामा कृतज्ञता व्यक्त गरे । त्यस अवसरमा महानिर्देशक डा टेड्रोसले राष्ट्रपति भण्डारीलाई नेपालले स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदानकाबारेमा जानकारी गराएका थिए । महानिर्देशक डा टेड्रोसले नेपालको स्वास्थ्य नीतिका बारेमा चासो राखेका थिए । 

उनले डब्लुएचओ नेपाललाई गर्ने सहयोगका बारेमा पनि राष्ट्रपति भण्डारीलाई जानकारी गराएको पनि ढकालले जानकारी दिए । 

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा तीनदिने भ्रमणमा बिहीबार नेपाल आएका महानिर्देशक डा टेड्रोसले बिहीबार नै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेना, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा र परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटघाट गरे। 

महानिर्देशकका साथ डब्ल्यूएचओको दक्षिणपूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल र डब्ल्यूएचओका अन्य अधिकारीसमेत आएका छन् । उनी यही वैशाख १० गते नेपालबाट फर्किने कार्यक्रम छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ