- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । निर्वाचन कार्यक्रमअन्तर्गत यही बैशाख ११ र १२ गते भएको मनोनयन दर्ताका क्रममा अधिकांश स्थानबाट दर्ताको विवरण आयोगको सूचना प्रणालीमा प्रविष्ट भइरहेको छ भने केही स्थानबाट विवरण आउन बाँकी रहेको छ ।
मंगलबार दिउँसो ३ः१५ बजे गरिएको अद्यावधिक अनुसार १ लाख ४७ हजार २ सय ७४ जनाको उम्मेदवारी परेको छ । रातिसम्म सबै विवरण प्रविष्ट भइसक्ने निर्वाचन आयोगको दाबी छ । बैशाख ११ र १२ गते मनोनयन दर्ता भएपछि १२ गते बेलुकी नै सबै उम्मेदवारको सूची सार्वजनिक गर्ने जनाइएको थियो ।
१३ गते मंगलबार उम्मेदवारहरुको दाबी विरोधको कार्यक्रम रहेको थियो । स्थानीय तहमा दाबी विरोधको कार्यक्रम भए पनि आयोगले भने अझैसम्म पूर्णरुपले आगोको सूचना प्रणालीमा प्रविष्ट गर्न सकेको छैन ।
यसैबीच निर्वाचन आयोगले यही बैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन–२०७९ का लागि मंगलबार निर्वाचन सुरक्षा विषयक मुख्य प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ ।
नेपाल सरकार, गृहमन्त्रालय, रक्षा मन्त्रालय, चारवटै सुरक्षा निकाय, आयोगका कर्मचारी र साझेदार संस्था युएनडिपी, इएसपीका प्रतिनिधि सहभागी सो प्रशिक्षण कार्यक्रमको आयोगका आयुक्त डा जानकीकुमारी तुलाधरले शुभारम्भ गरे । आयुक्त डा तुलाधरले शुभारम्भ कार्यक्रममा आयोगका सचिव गोकर्णमणि दुवाडीसहित उच्च अधिकारीको उपस्थिति थियो ।
प्रशिक्षणको दोस्रो सत्रमा आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले निर्वाचनसम्बन्धी कानूनी पक्ष, आयोगका सहसचिव तुलसीबहादुर श्रेष्ठले निर्वाचन कार्यक्रम र व्यवस्थापन, आयोगका उपसचिव सूर्यप्रसाद अर्यालले मतदान र मतगणना विषयमा प्रशिक्षणमा प्रस्तुति र सहजीकरण गरेका थिए ।
प्रस्तुतीकरणहरुमा स्थानीय तहको निर्वाचन कार्यक्रम, निर्वाचन कसुर तथा सजाय, आचारसंहिता, अनुगमन, पर्यवेक्षण, सामाजिक सञ्जाल अनुगमन, विवाद सुनुवाइ र निरुपण, मतपत्र छपाइ र ढुवानी, मतदान र मतगणना प्रक्रिया आदि विषय समाविष्ट गरिएको थियो ।
निर्वाचनका लागि आधिकारिक भाइबर ग्रुप
निर्वाचनका लागि निर्वाचन आयोग, नेपाल र सामाजिक सञ्जाल भाइबरले आधिकारिकरूपमा आयोगको भाइबर ग्रुप औपचारिकरूपमा सुरु गरेको छ ।
आयोगले यस प्लेटफर्मको प्रयोग गरी नागरिक तथा निर्वाचन सरोकारवालालाई समयसापेक्ष, अद्यावधिक र सही सूचना उपलब्ध गराउनेछ ।
यस प्लेटफर्मको प्रयोग गरी निर्वाचनसम्बन्धी मतदाता शिक्षा र विभिन्न जानकारी प्राप्त गर्न सकिनेछ ।