arrow

देउवाको गृहजिल्लामा कांग्रेस राजनीति र कर्णबहादुर मल्लको कारबाही

logo
राम धामी,  
प्रकाशित २०७९ वैशाख १४ बुधबार
karnabahadur-malla-dadeldhura-karwahi.jpg

डडेल्धुरा । नेपाली कांग्रेसले डडेल्धुराका निवर्तमान जिल्ला सभापति एवं सुदूरपश्चिम प्रदेशसभा सदस्य प्रभावशाली नेता कर्णबहादुर मल्ललाई साधारण सदस्यबाट निष्काशन गरेको छ । 

मंगलबार कांग्रेस प्रदेशसभा सदस्य मल्लले पार्टीको विधान विपरीत कार्य गरेको भन्दै सधारण सदस्यसमेत नरहने गरी निष्काशन गरिएको हो । ‘नेपाली कांग्रेस डडेल्धुराका निवर्तमान सभापति एवं सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्लले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) विपरित गतिविधि गरेको हुनाले निजलाई नेपाली कांग्रेसको सदस्यसमेत नरहने गरी निर्देशानुसार पार्टीबाट हटाइएको छ ।’ मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।

विधान विपरीत मल्लले गरेका कामका विषयमा भने खुलाइएको छैन । ‘विधिवत रुपमा पार्टी सञ्चालन हुनुपर्ने भनेर न्यायका लागि संघर्ष गर्दैगर्दा राजनीतिक जीवन समाप्त पार्ने दूरासयले अनाहकमा कारवाही गरिएको सञ्चारमाध्यमबाट थाहा पाएँ,’ सांसद मल्लले प्रतिकृया दिँदै भने, ‘सम्माननीय प्रधानमन्त्री तथा पार्टी सभापति देउवाले छैटौं पटकको अथक प्रयासपछि मलाई पार्टीबाट निकाल्न सफल हुनु भएको छ, उहाँलाई बधाई दिँदै सहर्ष रुपमा कारबाही स्वीकार गर्दछु ।’

उनले देउवाले प्रजातान्त्रिक कांग्रेसका पालामा सदस्यताबाट निष्काशन गरेको स्मरण गर्दै कांग्रेस एकीकरणपछि छैटौं पटकको अथक प्रयासपछि कारबाही गर्न सफल भएको बताए । आफू जिल्ला सभापति भएका बेला नेपाली कांग्रेस डडेल्धुराको सातौं जिल्ला अधिवेशनमा सहभागी हुन नपाएको बताउँदै सांसद मल्लले प्रजातान्त्रिक दल भित्रको निरकुंशता खेप्न नसक्ने इमान्दार नेता कार्यकर्ताहरु कारबाहीको शिकार हुनुपर्ने अवस्था आउनु दुर्भाग्य भएको जिकिर गरे ।

प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेल्धुराको पाँचौं र छौटौं जिल्ला अधिवेशनबाट देउवाले नचाहेरै जिल्ला सभापति बनेका मल्ल डडेल्धुराको प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’ बाट निर्वाचित प्रदेश सांसद हुन । प्रधानमन्त्री देउवाले मल्ललाई पटक पटक पार्टीबाट निकाल्न खोजेको मल्लको गुनासो छ । 

पार्टीको १४ औं महाधिवेशनका क्रममा सभापति देउवाले केन्द्रबाटै झण्डै ९ सय क्रियाशील सदस्यता थपघट गरेर तत्कालीन जिल्ला सभापति मल्ललाई कमजोर बनाउन खोजेपछि क्रियाशील सदस्यता विवाद टुंग्याउन माग गर्दै मल्ल नेतृत्वको जिल्ला कार्यसमितिले केन्द्रीय कार्यालयसम्म पुगेर अनसनसहित विरोधका कार्यक्रम सम्पन्न गरेको थियो ।  

मल्ल नेतृत्वको जिल्ला कार्यसमितिका अधिकांश पदाधिकारीहरु, प्रदेश सभा क्षेत्रीय समितिका पदाधिकारीहरु र स्थानीय तहका पदाधिकारीहरु राजधानीमा आन्दोलन गरिरहेका बेला एकपक्षीय रुपमा सातौं जिल्ला अधिवेशन सम्पन्न गरिएको थियो । 

आसन्न स्थानीय तहको निर्वाचनका क्रममा पनि मल्ल निकटस्थ नेता कार्यकर्ताहरुलाई टिकटबाट बञ्जित गरिएपछि मल्ल निकटस्थ नेता कार्यकर्ताहरुले नेपाली कांग्रेस (वीपी) गठन गरेर एमालेसँग चुनावी तालमेल गर्दै निर्वाचनमा होमिएका छन् । 

एमाले र नेपाली कांग्रेस (वीपी) ले तालमेल गर्दै जिल्लाका सातै स्थानीय तहमा उम्मेदवारी दर्ता गरेका छन् ।

अमरगढी नगरपालिका, नवदुर्गा गाउँपालिका र गन्यापधुरा गाउँपालिका नेपाली कांग्रेस (वीपी) ले र नेकपा (एमाले) ले परशुराम नगरपालिका, आलिताल गाउँपालिका, भागेश्वर गाउँपालिका र अजयमेरु गाउँपालिकाको प्रमुखमा उम्मेदवारी दिएको छ । 

कांग्रेस सभापति शेरबहादुर देउवाले अन्तिमसम्म पनि गृहजिल्लाको पार्टी मिलाउनमा चासो नदिएपछि आफूहरू नेपाली कांग्रेस (वीपी)बाट स्थानीय तहको निर्वाचनमा होमिएको मल्ल निकटस्थ मानिने निवर्तमान उपसभापति करुणाकर भट्टले बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ