arrow

हेटौंडामा गठबन्धनको प्रतिबद्धता : खानेपानी, बिजुली निःशुल्क, वडा-वडामा डाक्टर, फूलैफूलको बगैँचा

logo
रविन्द्र गौतम
प्रकाशित २०७९ वैशाख २० मंगलबार
gathabandhan-ghosana.jpg

हेटौंडा। हेटौंडामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितको पाँच दलीय गठबन्धनले आगामी स्थानीय तहको नेतृत्व लिँदा गर्ने कामहरूको बारे प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।

मङ्गलवार हेटौंडामा एक कार्यक्रमका बीच गठबन्धनले संयुक्त रूपमा प्रतिबद्धता सार्वजनिक गरेको हो ।  प्रतिबद्धता पत्रमा उपमहानगरपालिका बासीलाई ३ सय युनिटसम्मको बिजुली निःशुल्क प्रदान गर्नेदेखि प्रत्येक वडामा एमबीबीएस डाक्टरसहितको स्वास्थ्य सेवा उपलब्ध गराउने उल्लेख छ ।

ज्येष्ठ नागरिक तथा अशक्तलाई घरमै पुगी स्वास्थ्य सेवा दिइने, एक घर एक रोजगारी, व्यावसायिक कार्यका लागि सिप विकास, सहुलियत ऋण, बजार व्यवस्थापनको लागि सहयोग जस्ता प्रतिबद्धता जनाइएको छ ।

त्यस्तै हेटौंडामा हरेक घरमा मासिक १० हजार लिटर खानेपानी निःशुल्क गर्ने, हेटौंडा विकास प्राधिकरण गठन गर्ने तथा नगर यातायातको गुरुयोजना तयार गरी कार्यान्वयन गर्ने प्रतिबद्धता पनि जनाइएको छ ।

हरेक वर्ष कम्तीमा ५ जनालाई एमबीबीएस अध्ययनको लागि छात्रवृत्ति प्रदान गर्नुका साथै सामुदायिक विद्यालय तथा कलेजमा स्वास्थ्यकर्मीको व्यवस्था, नगरभित्रका नदी खोलाहरूको व्यवस्थापन गरी अस्थायी स्विमिङ पुल निर्माण, जलबाहिर तथा पार्कहरू निर्माण गरी पर्यटनमैत्री नगर बनाउने योजना गठबन्धनको प्रतिबद्धता पत्रमा उल्लेख छ ।

धार्मिक क्षेत्रहरूको सुधार तथा प्रवर्द्धन गर्नुका साथै हरेक वडामा फलफूलको बगैँचा बनाउने, नगरमा सुविधा सम्पन्न सार्वजनिक शौचालयको निर्माण तथा व्यवस्थापन, भोकाहरूको खानाको व्यवस्थापन, नगर स्तरीय प्रज्ञा प्रतिष्ठान स्थापना लगायतका कुरा उल्लेख गर्दै गठबन्धनले प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।

प्रतिबद्धता सार्वजनिक कार्यक्रममा गठबन्धनबाट मेयर पदका उम्मेदवार मिना लामा, उपमेयर पदका उम्मेदवार राजेश बानियाँ, नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, नेकपा एकीकृत समाजवादीका नेता केदार न्यौपाने, विरोध खतिवडा, नेकपा माओवादी केन्द्रकी नेतृ प्रमीला पुलामी, प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी, नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामालगायतको उपस्थिति थियो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ