- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
लालबन्दी । नेपाली कांग्रेस लालबन्दीले आफ्नो पार्टीका मेयर पदको उम्मेदवारलाई कुनै पनि हालतमा पछि नहटाउने बताएको छ । कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले हस्ताक्षर गरी पार्टीको तर्फबाट लालबन्दी नगरपालिकाको मेयर पदका उम्मेदवार वासुदेव अधिकारीको उम्मेदवारी फिर्ता भएको र माओवादी केन्द्रका उम्मेदवारलाई सहयोग गर्ने निर्णय भएको पत्र सार्वजनिक भएपछि कांग्रेस लालबन्दीको आधिकारिक धारणा सार्वजनिक भएको हो ।
नेपाली कांग्रेस लालबन्दीका नगर सभापति प्रशान्त आचार्यले आफूहरू चुनावमा होमी सकेकाले कुनै पनि हालमा उम्मेदवारी फिर्ता नहुने र कसैलाई पनि सहयोग समेत नगर्ने बताए ।
लालबन्दीमा कांग्रेसको अवस्था राम्रो देखेर विपक्षी दलले अनेक पत्र लेखाई अनावश्यक हल्ला पिटाएका सभापति आचार्यको भनाई छ । केही दिनअघि उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्दा पनि सभापति देउवाले आफ्ना उम्मेदवार अधिकारीको उम्मेदवारी फिर्ता भएको भन्दै पत्र पठाएका थिए ।
तर पछि निर्वाचन अधिकृतले अन्तिम नामावली प्रकाशन भइसकेपछि पत्र आएको भन्दै अधिकारीको उम्मेदवारी कायमै रहेको पत्र निकालेका थिए । त्यसपछि मेयर पदका उम्मेदवार अधिकारी मत माग्दै निरन्तर घरदैलोमा छन् ।
लालबन्दीमा नेकपा माओवादी केन्द्रले कांग्रेसका उम्मेदवारलाई ‘ब्याक’ गराउने प्रयास गरिरहेको छ । माओवादीले लालबन्दीको मेयरमा पार्टीभित्र केन्द्रीय राजनीतिमा प्रभाव पार्ने र अध्यक्ष प्रचण्ड नजिकका केन्द्रीय सदस्य प्रह्लाद बुढाथोकीलाई उठाएको छ ।
माओवादीले लालबन्दीको मेयर-उपमेयरमा नेकपा (एकीकृत समाजवादी) सँग चुनावी तालमेल गरेको छ । मेयरमा बुढाथोकी र उपमेयरमा समाजवादीबाट गोविन्द अधिकारीलाई उठाइएको छ ।