arrow

कर्ण मल्लप्रति डा. आरजू राणाको आक्रोश - 'करुवा हरुवालाई कसैले भोट नहाल्नु होला'

logo
राम धामी,
प्रकाशित २०७९ वैशाख २१ बुधबार
arju-malla.jpg

डडेल्धुरा । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.आरजू राणा देउवाले गृह जिल्ला डडेल्धुरा पुगेर कांग्रेसका असन्तुष्ट जिल्ला स्तरीय नेताहरूले एमालेसँग चुनावी तालमेल गरिरहेकोमा आक्रोश व्यक्त गरेकी छिन् ।

 डडेल्धुरा कांग्रेसभित्र षड्यन्त्र खेल्नेहरू नेपाली कांग्रेस (विपी) पार्टीका नाममा करुवा चुनाव चिन्ह लिएर एमालेसँग तालमेल गर्नु राम्रो नभएको बताइन् । नेपाली कांग्रेस अमरगढी नगर समितिको आयोजनामा बुधबार डडेल्धुराको बागबजारमा भएको चुनावी आमसभामालाई सम्बोधन गर्दै नेतृ डा. राणाले कांग्रेससमा रहेर षड्यन्त्र गर्नेहरू पार्टी छोडेर जाँदा केही फरक नपर्ने जिकिर गरिन् । 

प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी समेत रहेकी डा. राणाले ‘जसको राष्ट्रिय स्तरको नेता नभएको पार्टीले के गर्न सक्छ ? करुवा पार्टीको नेता को हो ? भन्दै डडेल्धुरा जिल्लाको विकासका लागि प्रधानमन्त्री देउवाले उल्लेखनीय काम गरेको दाबी गरिन् । नेपाली कांग्रेस डडेल्धुराका निवर्तमान सभापति कर्णबहादुर मल्लप्रति लक्षित गर्दै डा.देउवाले भनिन्, ‘करुवा, सरुवा हरुवालाई कसैले पनि भोट नहाल्नु होला, रुख चिन्हमा मतदान गरि नेपाली कांग्रेसका सबै उम्मेदवारलाई जिताउनु होला ।’ 

उनले प्रश्न गरिन,‘गुण्डालाई उठाएर म करुवा पार्टी भनेर तपाईँ पत्याउने ? पहिला चप्पल लगाउन पैसा नहुनेहरू विदेश घुम्छन् । टिकटक बनाउँछन्,’ उनले भनिन, ‘भोलि यता बजेट आवश्यकता पर्दा कसले दिन्छ बजेट ? अहिले भर्खरै प्रधानमन्त्री देउवाले जिल्लामा ३१ करोडको बजेट पार्नु भएको छ । करुवाले कति बजेट दिएको छ ?’ आक्रोशित नेतृ डा. राणाले भनिन् । धर्तीको माया गर्नेहरूले रुखमा भोट हाल्नुपर्ने बताउँदै उनले कांग्रेसको विजय भए मात्रै डडेल्धुराको विकास हुने जिकिर गरिन् ।

आसन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस डडेल्धुराका निवर्तमान सभापति मल्लको नेतृत्वमा डडेल्धुरा कांग्रेसका असन्तुष्ट नेताहरूले सामूहिक विद्रोह गर्दै नेपाली कांग्रेस (विपी) मा समाहित भएर चुनाव चिन्ह करुवा लिएर नेकपा (एमाले)सँग चुनावी तालमेल गरेका छन् । मल्ल पक्षीय नेताहरूले एमालेसँग सहकार्य गरेर हेविवेट उम्मेदवारहरू खडा गरेपछि सत्तारुढ दलहरुबीच गठबन्धन बन्न नसकेको डडेल्धुरामा नेपाली कांग्रेस एक्लै चुनावमा होमिएको छ ।

सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल हुन नसकेको र जिल्लामा नेपाली कांग्रेसमा देखिएको विभाजनका कारण कांग्रेस सभापति तथा प्रधानमन्त्री देउवाको गृह जिल्ला डडेल्धुरामा कांग्रेसका उम्मेदवारहरू पराजय भोग्न सक्ने अवस्था देखिएकाले नेतृ राणा डडेल्धुरा पुगेकी हुन । 

नेतृ राणाले केही दिन डडेल्धुरामा बसेर पार्टीका चुनावी सभाहरू सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस डडेल्धुराले जनाएको छ । यससँगै यही वैशाख २७ गते नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री देउवासमेत चुनावी सभा सम्बोधन गर्न डडेल्धुरा आई पुग्ने कार्यक्रम छ । 
 



नयाँ