arrow

सशस्त्रका उच्च अधिकारीहरु असन्तुष्ट

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २२ बिहिबार
apf-armed-police-force-logo.jpg

काठमाडौं । गृह मन्त्रालयले बुधबार साँझ सशस्त्र प्रहरी बलको एआईजीमा डीआईजी नारायणदत्त पौडेललाई मात्रै सिफारिस गरेपछि सशस्त्रका उच्च अधिकारीहरु असन्तुष्ट बनेका छन् । नवनियुक्त आईजीपी राजु अर्याल सदस्य सचिव रहेको बढुवा समितिले पौडेललाई मात्रै एआईजीमा सिफारिस गरेपछि उच्च अधिकारीहरु असन्तुष्ट बनेका हुन् । 

गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका डीआईजी पौडेललाई मात्रै सिफारिस गर्न दबाब दिँदा आईजीपी भएको दुई दिनमै राजु अर्यालले आफूलाई ठूलो दबाबको भएको महसुस गरेका छन् । एक महिना अघिसम्म अर्यालसँगै प्रतिस्पर्धी रहेका डीआईजी चन्द्रप्रकाश गौतम (सीपी) लाई छुटाएर एकल रुपमा पौडेललाई मात्रै बढुवा सिफारिस गरिएको छ । 

मन्त्रालयमा बुधबार साँझ बसेको बढुवा समितिको बैठकले एआईजी बढुवाका लागि पौडेललाई सिफारिस गर्ने निर्णय गरेको थियो । यद्यपि वरीयतामा पौडेल अगाडि नै थिए । 

पौडेलपछिको वरीयतामा क्रममा रहेका गौतमलाई  एआईजीमा बढुवा सिफारिस नगर्न दबाब दिँदा बाध्य भएर एक जनालाई मात्रै सिफारिस गर्नु परेको मन्त्रालय स्रोतले जनाएको छ । 

पौडेललाई तीन वर्षपछि आईजीपी बनाउने गरी अहिले एआईजी बढुवा गरिएको पनि स्रोतको दाबी छ । एआईजीको बढुवाका लागि चार जना डीआईजीले आवेदन दिएका भए पनि उनीहरुमध्ये एक जनालाई मात्रै  सिफारिस गरिएको हो । 

डीआईजी पौडेलसहित गौतम, वंशीराज दाहाल र किशोर प्रधानले एआईजी बढुवाका लागि आवेदन दिएका थिए । त्यसमध्ये गौतम आईजीपीकै दावेदार हुन् । 

तर उनलाई एआईजीमा पनि बढुवा गरिएन । उनको स्थानमा हाल डीआईजी वंशी दाहालले दाबी गरिरहेका छन् । तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसी र अर्का एआईजी रामशरण पौडेलले आइतबार अवकाश पाएपछि एआईजीको दुई पद रिक्त भएको थियो । 

गृह मन्त्रालयको बढुवा सिफारिस समितिले बुधबार पौडेललाई सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम (१) को (क) बमोजिम एआईजीमा बढुवा सिफारिस गरेको जनाएको छ । 

सशस्त्रमा दुई वटा एआईजी पद रिक्त भए पनि पौडेललाई आईजीपीको एकल दाबेदार बनाउन र सिनियारिटी देखाउन एकल बढुवा सिफारिस गरिएपछि उच्च अधिकारी असन्तुष्ट बनेका हुन् । 

केसीको ठाउँमा एआईजीमा बढुवा भएका राजु अर्याललाई सरकारले सशस्त्र प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो । अर्याल र पौडेलको रिक्त एआईजी पदमा बढुवाको सूचना जारी गर्दा दाहाल र प्रधानले पनि आवेदन हालेका थिए । 

अब हुने एआईजीका लागि गौतम र दाहालमध्ये एक जना एआईजी हुनेछन् ।  अर्याल र पौडेलले १८ चैत २०५४ मा नेपाल प्रहरीमा निरीक्षकका रुपमा सेवा थालेका थिए । 

तर गौतम उनीहरु भन्दा दुई वर्षअघि नै भर्ना भएका थिए । नेपाली सेनाबाट सशस्त्रमा प्रवेश गरेका गौतमले २०५२ सालमा सेवा प्रवेश गरेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ