- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। देशभरका स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यका लागि ३५ हजार २ सय २१ पदका लागि यही वैशाख ३० गते मतदान हुँदै छ। तर तीन सय ५५ जना भने निर्विरोध निर्वाचित भइसकेका छन्। अर्थात् ३४ हजार आठ सय ६६ जनप्रतिनिधि चुन्न ३० गते निर्वाचन हुँदै छ।
निर्वाचन आयोगले वैशाख ३० गते हुन गइरहेको स्थानीय तह सदस्यको आवधिक निर्वाचन अन्तिम र महत्त्वपूर्ण चरणमा प्रवेश गरेको जनाएको छ। मङ्गलवार विज्ञप्ति जारी गर्दै आयोगले स्थानीय तह निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा सम्पन्न गर्न मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयहरूबाट सम्पूर्ण तयारीहरू पूरा भइसकेको जनाएको हो।
यस निर्वाचनमा विभिन्न राजनीतिक दलका ३५५ जना विभिन्न पदाधिकारीहरू निर्विरोध निर्वाचित भई सकेको आयोगले जानकारी दिएको छ। जसमा ६ वडा अध्यक्ष सहित ३५ जना स्वतन्त्र सदस्यहरू निर्विरोध निर्वाचित भएको आयोगले जनाएको छ।
निर्वाचनमा १० हजार ७ सय ५६ मतदान स्थलका २१ हजार ९ सय ५५ मतदान केन्द्रहरूबाट १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाताले जम्मा ३५ हजार २ सय २१ जना मध्ये निर्विरोध निर्वाचित भएका बाहेकका पदमा प्रतिनिधि छनोट गर्नका लागि मतदान गर्ने आयोगले जानकारी दिएको छ।
मतदान केन्द्रमा आवश्यक हुने निर्वाचन सामग्रीहरू सहित १ लाख ९ हजार ८८ जना कर्मचारी र ६५ हजार ८ सय ६५ जना स्वयंसेवकहरू आ-आफ्नो मतदान केन्द्रमा पुगिसकेको आयोगले जनाएको छ।
स्थानीय तह निर्वाचनमा भाग लिने भनी दर्ता भएका ७९ वटा राजनीतिक दलहरू मध्ये जम्मा ६५ वटा राजनीतिक दलहरू चुनावी प्रतिस्पर्धामा रहेका आयोगले जनाएको छ। ५५ हजार ६९८ जना महिला र ८९ हजार ३ सय १३ जना पुरुष गरी विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवार समेत जम्मा १ लाख ४५ हजार ११ जना चुनावी प्रतिस्पर्धामा रहेका छन्।
निर्वाचनमा मतदाताले शान्तिपूर्ण वातावरणमा निर्बाध रूपले मतदान गर्ने अधिकारको सुनिश्चितताका लागि शान्ति सुरक्षाको कडा व्यवस्था मिलाउन नेपाल सरकार लगायत सम्बन्धित स्थानीय प्रशासनहरूलाई आवश्यक निर्देशन दिई सकिएको र सो बमोजिम निर्वाचन सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाइएको आयोगले जनाएको छ।