arrow

तीस वर्ष भयो, धारा सुक्दै गयो !

logo
तारानाथ आचार्य,
प्रकाशित २०७९ वैशाख २८ बुधबार
tap-water.jpeg

 बलेवा । बागलुङको बडिगाड गाउँपालिका–१ का ५३० घरमा एउटै आयोजनाको भर परेर पानी खानुपर्छ । त्यो पनि १२ किमी परको तारेभिरमा मात्रै मुहान छ ।

दैनिक बिहान ४ बजेदेखि उठेर पानी नभरे स्थानीयवासीले दैनिकी गर्न भ्याउँदैनन् । खानेपानी उपभोक्ता समितिका उपाध्यक्ष रेमबहादुर भुजेलले राति ४ बजेदेखि कुरेर पानी भर्दा बिहानभर लाग्ने गरेको गुनासो गरे । तीस वर्षअघि बनेका ५० वटा धाराको भरमा वडा नं १ को सबै बस्तीमा अझै पानी वितरण छ । पानी सुक्दै गएपछि स्थानीयवासीले राति ४ बजेदेखि नै उठेर लाइन बस्दा पनि चाहेजति भर्न नपाएको गुनासोसमेत गरेका छन् । तीस वर्षअघि तुम्डाँडाका प्रेमलाल पोखरेलले १२ किमी परको तारेभिरमा पुगेर पानीको मुहान भेटेका थिए ।

विश्व सेवा लुथ्रन नामक संस्थाले यो आयोजना निर्माण गरेको थियो । पोखरेल अहिले ७५ वर्षका भए । उनी हिँडेर मुहानसम्म पुग्न सक्दैनन् । गाउँलेले अझै अर्को मुहान भेटेका छैनन् । पहिलाको जनसङ्ख्या बढेर दोब्बर भइसक्यो । ‘एक घर, एक धारा’को अभियान पनि सुरु भयो तर पुरानो पानी घट्दै गएको छ । त्यसैले सरसफाइ अभियानलाई खानेपानी चुनौती बनेको छ ।

तुम्डाँडाकी सीता विकले पानी खेप्ने हतारोले छोराछोरी समयमा बिद्यालय जान नपाएको गुनासो गरे । पानी भरिसकेपछि मेलापात, खेतीपाती गर्नु त छँदैछ । उनको टोलमा १० घरलाई एउटामात्रै धारो छ । दगागाउँको वडाभवन नजिकैको धारामा त १५ घरले पानी थाप्नुपर्छ । रातिदेखि लाइन बस्छिन् ।

कसैले पालो मिचेमा झगडासमेत हुन्छ । समयमा उठ्न सकिएन भने त पानी थाप्नै नपाइने भुजेलले बताइन् । “पानी खेपेर २०० लिटरको ड्रम भरेर भित्र राखेपछि मात्रै ढुक्क हुन्छ”, भुजेलले भनिन्, “नत्र खानेपानीदेखि शौचालयसम्मको समस्या छ ।” बारीमा तरकारी फलाउने, गाईभैँसीलाई खुवाउने काममा त झनै धेरै पानी चाहिन्छ । दैनिक एक हजार लिटर पानी नभएसम्म दैनिकी नचल्ने भुजेलले बताइन् ।

टुटीफेद, गहते, सिमलचौरलगायतका बस्तीमा पनि पानीको सास्ती छ । पुरानो मुहान धेरै स्थानमा भत्केको छ । पानीको चुहावट छ, त्यसैले यहाँ नियमित पानीसमेत आउँदैन । स्थानीयवासीकै पहलमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले पानी खुवाउने काम भने थालेको तर टुक्रे बजेटले यो अभियान पूरा हुन नसकेको हो । “केही ट्याङ्की त निर्माण भइरहेका छन्, तर बजेट अभावले पूरा भएका छैनन्”, स्थानीयवासीले भने, “पूर्ण सरसफाइयुक्त वडा बनाउन लागेका छौँ, पानीकै समस्या भयो ।” सबै घरमा शौचालय बने पनि पानीकै कारण कतिपय प्रयोगमा आउन नसकेको उनले बताए । रासस
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ