arrow

मुलुकले स्थानीय तहका जनप्रतिनिधि पाइरहँदा यस्तो हुनेछ जेठभरको महिना

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १ आइतबार
monthly-horoscope.jpg

मासिक फल : जेठको सक्रान्ति आइतबारबाट सुरु हुनेछ । यस्तै, यस महिनामा ५ वटा आइतबार, सोमबार र मङ्गलवार परेको छ । ५ वटा आइतबारले रोगव्याधि बढाउने, ५ वटा सोमबारले खाद्य वस्तुको भाउ नियन्त्रणमा आउने र ५ वटा मङ्गलवारले राजनीतिक र सुरक्षाको भय हुनेछ । समग्रमा यस महिनामा राष्ट्रिय राजनीतिमा सुव्यवस्था कायम हुन सक्ने, मुलुकका धेरै क्षेत्र सकारात्मक ढङ्गले अघि बढ्ने सङ्केत गर्दछ । जनतामा पनि जोस र जाँगर बढ्ने, सुख र शान्ति छाउने देखिएको छ । यस महिनामा सवारी दुर्घटनामा पनि कमी आउनेछ । महिनाको अत्यधिक वर्षा हुन सक्छ । आँधी हुरीको सम्भावना पनि त्यत्तिकै रहेको छ । दक्षिण एसियाली मुलुकमा पनि तनाव उत्पन्न हुन सक्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिन्छ ।

मासिक राशिफल :

मेष : जेठ महिना समग्रमा ग्रह गोचर राम्रो रहे पनि सूर्य प्रतिकूल भएकोले बोल्दा विचार गर्नुपर्ला । दाँत मुखमा पीडा हुनुका साथै धनमाल हराउन सक्छ, सजग रहनुहोला । विदेश यात्राको सुरसारमा हुनुहुन्छ भने सजिलै सफल हुनुहोला । व्यापारमा गरेका प्रयासहरू फलदायी रहनेछन् । प्रेम गर्ने अवसर मिल्ने, चलेको प्रेमले वैवाहिक मार्गलाई अँगाल्नेछ । सामाजिक काममा रुचि बढ्नेछ । सैन्य क्षत्रमा संलग्न हुनेहरुका लागि समय अनुकूल रहनेछ । नोकरीमा सफलता मिल्नेछ, धन मनग्य आर्जन हुनेछ । पढाइमा सफलता मिल्नेछ । नयाँ कामको अवसर पनि मिल्नेछ । अरूको विश्वास आफूतिर रहनेछ । ठुला व्यक्तिले सहयोग गर्ने योग भए पनि मित्र तथा पारिवारिक सहयोग मिल्ने सम्भावना न्यून रहनेछ ।

वृष : यस महिनामा धैर्यतामा जोड दिए समयले मध्यम फल दिनेछ । स्वास्थ्यको ख्याल महिना भरिनै गर्नुहोला । बोलीको प्रभावले मनोबल बढ्नेछ । आम्दानीका श्रोतहरू चौतर्फी जुट्नेछन् । पराक्रमको गति तीव्र रहनेछ । काममा सफलता सजिलै मिल्नेछ । मित्रहरूले पूर्णपुरमा साथ दिनेछन् । परिवारजनको साथ मिल्नेछ । घर तथा सावारी साधन जोड्ने तरखरमा हुनुहुन्छ भने सजिलै होला । पढाइमा प्रगतिको लक्षण देखिन्न । व्यापारमा वैदेशिक कार्यमा र प्रेममा उल्लेख्य सफलता मिल्नेछ । वैवाहिक कार्यले पनि उचित स्थान पाउनेछ । भाग्यले साथ दिनेछ भने सामाजिक कार्यमा सम्मान पाउने योग रहेको छ । नोकरी तथा राजनीतिमा उतार चढाव आउनाले लक्ष्यमा पुग्न असहज हुनेछ । रिसको वेग बढ्ने भएकोले धैर्यता अपनाउँदा मात्र सफलता मिल्नेछ

मिथुन : यस महिनामा स्वास्थ्यमा समस्या ठुलै आउने भएकोले खर्च अलि बढिनै हुने देखिन्छ । खानपान र यात्रामा सचेत हुँदा राम्रो हुनेछ । विवाद तिर नलाग्नु नै वेश हुनेछ । धनमाल हराउन सक्ने भएकोले धनको ढुकुटीमा कडा नजर लगाउनु राम्रो । जोस र जाँगर बढ्ने भएकोले प्रयास गर्दा काममा सफलता मिल्नेछ । नयाँ कामको अवसर पनि मिल्नेछ । मित्र तथा परिवारको सहयोग मिल्नेछ । नयाँ मित्रको आगमन पनि हुनेछ । भुलेका मित्रले पुनः याद गर्नेछन् । पढाइमा सोचेजस्तै सफलता पाउन सकिनेछ । शत्रु अलि सक्रिय हुने भएकोले सजग हुनु राम्रो हुनेछ । व्यापारमा गरेका प्रयासहरू राम्रै रहनेछन् । लेनदेनमा भने अलि विचार पुर्‍याउन राम्रो भाग्य बलियो छ । नोकरी तथा राजनीतिमा आफ्नो वर्चस्व बढाउन सजिलै सकिनेछ । मान्यजनको सद्भाव पनि राम्रै मिल्नेछ । धन मनग्य कमाउने अवसर मिल्नेछ । प्रेममा खटपट र पतिपत्नीमा विवाद सिर्जना होला, संयम हुनुहोला ।

कर्कट : जेठ महिनामा ग्रह गोचरले साथ दिनेछ । आँटेका काम धेरै पूरा हुनेछन् । मनमा प्रसन्नता बढ्नेछ भने आम्दानीका श्रोतहरू चौतर्फी बढ्नेछन् । यात्रा गर्ने अवसर मिल्नेछ । वैवाहिक कार्यहरू अघि बढ्नेछन्, प्रेममा सफलता मिल्नेछ । पराक्रमको गति तीव्र हुनुको साथै अधूरा काम बन्ने तथा नयाँ काम पाउने योगछ । काममा मित्र तथा परिवारको पूर्ण सहयोग नमिले पनि आफ्नै प्रयासले अघि बढ्न सकिनेछ । शत्रुलाई पराजय गर्दै अघि बढ्दा सफलताको मार्ग अझ बलियो बनाउनेछ । व्यापारमा सफलता सोचे जस्तै मिल्नेछ भने नोकरी तथा राजनीतिमा आफ्नो वर्चस्व बढ्नेछ । मित्र तथा परिवारको भरोसामा धोका हुनेछ । स्वास्थ्यको ख्याल गर्नुपर्ला, नगद कारोबारमा अघि नबढ्दा नै उचित हुनेछ ।

सिंह : यस महिना समय राम्रो छ । मान सम्मान पाउने योग छ । शत्रुसँग अलि सतर्क रहनु पर्ला । पढाइमा उल्लेखनीय सफलता मिल्नेछ । यात्राका अवसरहरू मिल्नेछ । स्त्रीसँगको पहिलो भेटमा नै प्रेमको प्रस्ताव आउनेछ । आँटेका काममा सफलता मिल्नेछ । आम्दानीका अवसरहरू प्रशस्त मात्रामा मिल्नेछन् । नोकरीमा पदोन्नति र राजनीतिमा प्रगतिको बलियो सम्भावना छ । राज्यले कूटनीतिक नियुक्ति गर्ने बलियो सम्भावना छ । व्यापारमा सोचेभन्दा बढी लाभ मिल्नेछ । वैदेशिक कार्यमा गरेका प्रयासहरू फलदायी रहनेछन् । ठुला व्यक्तिले आफूमाथि भरोसा गर्नेछन् । नयाँ कामको अवसर मिल्नेछ, वैवाहिक कार्यमा अघि बढ्ने बलियो सम्भावना छ । भाग्यको भरोसा नगर्नुहोला कर्ममा जोड दिनु राम्रो होला ।

कन्या : जेठ महिनामा ग्रह गोचर मध्यम रहनेछ । स्वास्थ्य स्थिति कमजोर भए पनि भाग्यले साथ दिने भएकोले आँटेको काममा सजिलै सफलता मिल्नेछ । शत्रु अलि बलिया भएकोले आफ्नो जित निश्चित पार्न काम गर्दा सजग हुनुपर्नेछ । मित्र तथा परिवारसमेत आफ्नो वसमा नभएकोले विश्वासमा काम गर्ने अवस्था छैन । नोकरीमा प्रतिस्पर्धा गर्नु परे पनि ठुलै सफलता हात पर्नेछ । कुरा काटनेहरुलाई निस्तेज गर्दै अगाडि बढ्न सकिने भएकाले नयाँ तरिका अपनाउनु पर्नेछ । व्यापारमा प्रशस्त सफलता हात पर्नेछ । वैदेशिक कार्यमा धेरै ठुला अवसरहरू आउनेछन् । लेनदेनमा विवादको सामना गर्नु पर्नेछ । पढाइमा भने राम्रै सफलता हासिल गर्न सकिनेछ । शत्रुहरूले पुराना कुरा कोट्याएर अप्ठ्यारो पार्ने काम गर्न सक्ने भएकोले महिना भरिनै सचेत हुनुपर्ने देखिन्छ ।

तुला : यस महिनामा ग्रह गोचर त्यति अनुकूल देखिँदैन । समस्याहरू प्रशस्तै आउनेछन् । मनमा दुबिधाले दरिलो डेरा जमाएको छ । कुरा काट्नेहरू निकै सक्रिय देखिन्छन् । धन नाश हुनुका साथै दाँत मुखमा पिडा पनि बढ्नेछ । कामको फुर्सद मिल्ने छैन, अरूको काम धेरै गर्नुपर्नेछ । घरेलु समस्याले प्रशस्त मात्रामा सताउनेछ । मित्र तथा परिवारले पनि अनावश्यक पिरोल्नेछन् । यस्तै, पढाइमा अनुकूल वातावरण बन्नेछ । व्यापारमा गरेका प्रयास भने सकारात्मक रहनेछन् । यात्रा केही सुलभ रहला, प्रेममा सकारात्मक अवस्था देखिन्छ । लेनदेनमा अघि नबढ्नु नै उचित होला । नोकरी तथा राजनीतिमा गरेका प्रयासले उच्च स्थान पाउन सक्ने छैन । महिना भरिनै सचेत रहनु राम्रो हुनेछ ।

वृश्चिक : यस महिनामा संयम भएमा परिश्रमी र सैन्य वर्गका लागि समय अनुकूल रहे पनि ठूलाठूला चुनौतीको सामना गर्नुपर्नेछ । कामको बिचमा अवरोध सिर्जना गर्नेहरू निकै सक्रिय देखिन्छन् । आत्मबल पनि कमजोर बन्नेछ । हाड जोर्नीको समस्याले पनि सताउनेछ । कुरा काट्नेहरू सक्रिय हुनेछन् । आर्थिक कारोबारमा प्रशस्त अप्ठ्याराहरू आउनेछन् । धातु रोगले पनि सताउनेछ । उच्च रक्तस्रावको पनि सम्भावना देखिन्छ । आफन्तहरूले संवेदनशील समयमा धोका दिनेछन् । मङ्गल अनुकूल हुने हुँदा समयले साथ दिनेछ । परिवारबाट सहयोग मिल्ने, पढाइमा सफलता मिल्ने र नोकरी तथा राजनीतिमा वैदेशिक कार्य अनि व्यापारमा आफ्नो वर्चस्व बढाउन सकिने भएकोले महत्त्वपूर्ण काम आफ्नै उच्च मनोबलका साथ गर्नु उचित हुनेछ ।

धनु : जेठ महिनामा समय राम्रो भए पनि शनि साढे साति र द्धित्तीय मङ्गलको प्रतिकूल प्रभाव पर्ने हुँदा संयम हुनु जरुरी छ । आफन्त र परिवारलाई समेत यथार्थ खोलेमा गरेका काममा सफलता मिल्नेछैन । अरूको विश्वास सजिलै जित्न सकिने छैन । मित्रहरूको सहयोग नमिले पनि आफ्नै प्रयासले भने महत्त्वपूर्ण काम धेरै गर्न सकिनेछ । पराक्रम बढ्नुका साथै अधूरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । बोलीको प्रभाव नपर्ने भएकोले ठुला व्यक्तिलाई आकर्षण गर्न कम बोल्नुपर्ला । पढाइमा सफलता मिल्नेछ, व्यापारमा लाभ राम्रै मिल्नेछ । भाग्यले साथ दिनेछ, नोकरी तथा राजनीतिमा सोचेजस्तै सफलता मिल्नेछ । प्रेम गर्ने अवसर पनि मिल्नेछ । वैवाहिक बन्धनमा बाँधिने योग पनि छ । आठौँ राहुले स्वास्थ्यमा समस्या आउनुका साथै मनमा चिन्ता बढाउने र आर्थिक कठिनाइ सिर्जना गर्ने योग भएकोले नगद कारोबारमा विचार गर्नुपर्नेछ ।

मकर : ग्रह गोचर त्यति राम्रो देखिन्न राशिको मङ्गल तथा बाह्रको शनिको प्रतिकूल प्रभावले स्वास्थ्यमा बाधा पुर्‍याउन सक्ने भएकोले ख्याल गर्नुपर्ला शत्रुसँग सतर्क हुँदै अघि बढेमा आर्थिक लाभका अवसर हरू प्रशस्त मात्रामा मिल्नेछन् । आँटेका काममा पनि सफलता मिल्नेछ । बोलीको प्रभाव राम्रो नभएकोले थोरै बोल्ने प्रयास गर्नु वेश । घरेलु काममा रुचि बढ्ने र मित्रहरूले सहयोग गर्ने योग भएकोले महत्त्वपूर्ण काम हात पर्ला । कुरा काट्नेहरूदेखि सजग रहनु होला । पढाइमा धेरै कठिनाइको सामना गर्नु पर्नेछ । नोकरी तथा राजनीतिमा सफलता हात पर्नेछैन । व्यापारमा उन्नतिको अवसर मिल्नेछैन । वैदेशिक कार्यमा ठुलै झन्झट आउने सुल्झाउन नसकिने । प्रेममा पनि सन्तोष मिल्ने छैन । वैवाहिक प्रक्रिया अवरोध आउने सम्भावना छ । कूटनैतिक कार्यमा आफ्नो दक्षता दर्साउँदा पनि सफलता मिल्नेछैन । ठुलो चुनौतीको सामना गर्नु पर्नेछ ।

कुम्भ : यस महिनाको समय राम्रो छ । बोलीको प्रभाव राम्रो रहनेछ । तपाईँको सत्यताले अरूको विश्वास जित्न सजिलै सक्नेछ । जोस प्रशस्त मात्रामा बढ्नेछ । बौद्धिक तीव्रताले सजिलै आँटेको काम पूरा गर्न सकिनेछ । लगनशीलता र इमानदारिताको अरूले खुलेर प्रशंसा गर्नेछन् । घरेलु समस्याले सताउने र मित्रहरूको गुनासो बढ्ने हुनाले घर बाहिर आफन्तहरूबाट टाढा रहेर काम गर्नु उचित हुनेछ । सन्तान नहुनेका लागि सन्तान प्राप्तिको अवसर पनि यस महिनामा रहेको छ । व्यापारको मार्ग अलि खर्चिलो रहनेछ । प्रेममा खटपट, पतिपत्नीमा विवाद यात्रामा कठिनाइ आउन सक्ने हुँदा संयम रहनुहोला । नोकरीमा गरेका प्रयास सकारात्मक रहनेछन्, राजनीतिमा उतारचढावको सामना गर्नु परे पनि अन्ततः सफलता प्राप्त हुनेछ ।

मीन : यस महिनाको समय समग्रमा राम्रो रहे पनि स्वास्थ्य स्थिति अलि कमजोर रहनेछ, संयम हुनुहोला । पराक्रम तीव्र गतिमा अघि बढ्नेछ । सानै प्रयासले पनि ठुला कामहरू अघि बढ्नेछन् । बोलीको सत्यता अरूले स्वीकार गर्नेछन् । नयाँ कामको अवसर पनि मिल्नेछ । आफन्तहरूको सहयोग भन्दा बढी नै पाउने योग छ । मित्रहरूको सहयोगले मनलाई हर्षित बनाउन सक्छ । पढाइमा लाभ मिल्ने भए पनि खर्च भने अलि बढी नै हुनेछ । व्यापारमा ठुलै फड्को मार्न सकिनेछ । बौद्धिक कार्यमा ऐतिहासिक सफलता मिल्नेछ । वैदेशिक कार्यमा आफ्नो वर्चस्व बढाउन सकिनेछ । प्रेमको प्रस्ताव अरूबाटै आउनेछ । वैवाहिक बन्धनमा बाँधिने बलियो सम्भावना छ । सवारी चढ्दा वा चलाउँदा, आर्थिक कारोबार गर्दा पनि संयम हुनु उचित हुनेछ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ