- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस) पार्टीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धन दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबाट सहयोग नभएको आरोप लगाए पनि सुदूरपश्चिम प्रदेशमा दरिलो उपस्थिति देखिएको छैन । एमालेबाट विभाजन हुँदा सबैभन्दा धेरै नेता र सांसदहरु लिएका नेपालले त्यही प्रदेशमा आफ्नो उपस्थिति देखाउन सकेनन् ।
सुदूरपश्चिम प्रदेशमा नेकपा एस पार्टीको हैसियत देखिएन । सुदूरपश्चिममा नेपाली कांग्रेस अगाडि छ । त्यसपछि एमाले र माओवादी केन्द्र छन् । स्वतन्त्र उम्मेदवारसमेत विजयी भएका छन् । तर सुदूरपश्चिम प्रदेशमा सबैभन्दा ठूलो दलको हैसियत बनाएको नेकपा एकीकृत समाजवादी निरीह भयो । अहिलेसम्म ५ वटामात्र पालिकाको प्रमुख जितेको छ ।
नेकपा एमालेबाट फुटेर बनेको एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेशमा सबैभन्दा ठूलो दल हो । ५२ सदस्यीय प्रदेश सभामा १४ जना सांसद एकीकृत समाजवादीका छन् । तर प्रदेश सभामा ठूलो हैसियतमा भए पनि एकीकृत समाजवादीले स्थानीय तहको निर्वाचनमा भने राम्रो प्रभाव देखाउन सकेन । प्रदेशमा अझै धनगढी उपमहानगरपालिकासहितका पालिकाको नतिजा आउन बाँकी छ ।
एमालेबाट विभाजन भएर नयाँ पार्टी बनाएका माधव नेपाललाई गठबन्धन दलहरुले प्रयोग मात्रै गरेर मतदान प्रकृयामै धोका दिएको भन्दै आपत्ति जनाएका छन् । सीट बाँडफाँडमा नेपाली कांग्रेस र माओवादी केन्द्र मिलेर दोहोरो चरित्र देखाएको र मतदान प्रकृयामा पनि धोका दिएको उनीहरुको तर्क छ ।
नेकपा एकीकृत समाजवादीका एक केन्द्रीय सदस्यका अनुसार आन्दोलनबाट आएको शक्ति नभएको विद्रोहबाट जन्मेको पार्टी भएकाले गठबन्धन दलहरुले जुन सदासयता देखाउनु पर्ने हो त्यो नदेखाएको तथा समाजवादीको तर्फबाट मत लिने तर समाजवादीका उम्मेदवारलाई भने मत दिइएको छैन ।
गठबन्धन नेतृत्वले सिट बाँडफाँडमा देशैभर एस पार्टीलाई धोका दिएको र मतदानको प्रकृयामा पनि यसको असर देखिएको उनीहरुको दाबी छ । काठमाडौको शंकरापुर नगरपालिका, बुटवल उपमहानगरपालिका, इटहरी नगरपालिका, लगायतका स्थानमा एस पार्टीलाई धोका भएको सो दलका नेताहरुले दाबी गरेका छन् ।
अहिलेसम्मको मत परिणामलाई हेर्दा करिब ६० स्थानभन्दा बढी ठाउँमा एस पार्टीको सहयोगमा कांग्रेसले चुनाव जितेको निष्कर्ष एस पार्टीको भए पनि कांग्रेसले यो विषयमा कुनै प्रतिक्रिया दिइसकेको छैन ।
निर्वाचन आयोगको तथ्यांक अनुसार एस पार्टीले माओवादी र कांग्रेसको सहयोगमा १४ वटा स्थानीय तहको निर्वाचनमा प्रमुख पद हात पारेको छ । जहाँ कुनै पनि संगठन नभएको स्थानीय तहमा पनि एस पार्टीले कांग्रेस र माओवादीकै सहयोगमा चुनाव जितेको छ ।
तर पनि एस पार्टीका अध्यक्ष नेपाल र सम्मानित नेता झलनाथ खनालले आफूहरुलाई धोका भएको बताउँदै यसको समीक्षा हुने बताएका थिए । मंगलबार नै नेकपा एसका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री नेपालले स्थानीय तहको निर्वाचनमा कांग्रेसका कार्यकर्ताहरुले इमानदारी नदेखाएको संकेत गरेका थिए ।
उनले मात्र होइन सम्मानित नेता भलनाथ खनालले पनि गठबन्धन दलहरुले एस पार्टीलाई धोका दिएको संकेत गरेका थिए ।
उनले स्थानीय तह निर्वाचनको परिणाम आफ्नो पार्टीले प्राप्त गर्नुपर्ने जति नभएको बताए । उनले पार्टीले अपेक्षा गरे अनुसार मत परिणाम नआएको बताउँदै गठबन्धनभित्रका दलहरुले आफ्नो पार्टीसँग सहकार्य गर्न नचाहेको बताइसकेका छन् ।