arrow

च्याम्पियन्स लिगको उपाधि रियाल मड्रिडलाई, लिभरपुल निराश 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १५ आइतबार
real-madrid-champions-league-2022.jpg

काठमाडौं । स्पेनिश क्लब रियाल मड्रिडले च्याम्पियन्स लिगमा कीर्तिमानी १४औं उपाधि जितेको छ । शनिबार राति फ्रान्सको राजधानी पेरिसमा भएको खेलमा चार वर्ष अघिको फाइनलमा निकालेको नतिजालाई दोहोर्याउँदै उपाधि जितेको हो । 

युरोपेली क्लब फुटबलको सबभन्दा ठूलो प्रतियोगितामा चार वर्षअघि २०१८ मा पनि रियालले फाइनलमा लिभरपुललाई ३–१ को नतिजामा निराश पारेको थियो । पाँच सिजनमा तेस्रो पटक च्याम्पियन्स लिग फाइनल खेलेको लिभरपुललाई अर्को एउटा निराशा चखाउने क्रममा रियालले पेरिसमा १–० को विजयी नतिजा निकाल्यो ।

५९औं मिनेटमा फेडेरिको भाल्भेर्डेको क्रसलाई गोलमा परिणत गर्दै भिनिसियर जुनियरले रियालको जितको कथा रचेका थिए । भिनिसियर जुनियरको जारी सिजनको च्याम्पियन्स लिगमा यो चौथो गोल हो । 

च्याम्पियन्स लिग फाइनलमा गोल गर्ने सन २००० यता जन्मिएको पहिलो खेलाडी बन्ने कीर्तिमान पनि भिनिसियर जुनियरले यो गोलसँगै आफ्नो नाममा लेखाए । यसैगरी रियालका प्रशिक्षक कार्लो एन्सेलोट्टी पनि प्रशिक्षकका रुपमा चार पटक उपाधि जित्ने एकमात्र प्रशिक्षक बन्न सफल भए । 

चार वर्षअघि किभमा भएको फाइनलमा भोगेको हारको बदला लिने लिभरपुलको उद्देश्य असफल भएपछि योर्गान क्लोपको टोलीको सातौं च्याम्पियन्स लिग उपाधि जित्ने प्रतिक्षा थप समयका लागि लम्बिएको छ । 

च्याम्पियन्स लिगको इतिहासमा रियालले सर्वाधिक १४ पटक उपाधि जितेको छ भने सात पटक उपाधि जितेको इटालियन महारथी एसी मिलान दोस्रो स्थानमा छ ।

रियालका गोलकिपर थियाबाउट कोर्टवाले ९ वटा खतरनाक आक्रमणमा पर्खाल झै बनेर पोष्ट सुरक्षामा सफल हुँदा लिभरपुल हकलाग्दो जितबाट विमुख भएको थियो । जसका कारण घरेलु लिग कप र एफए कप जितिसकेको लिभरपुल एकै सिजनमा तीन उपाधि जित्ने कीर्तिमान बनाउनबाट पनि चुक्यो ।

पहिलो हाफ हुन एक मिनेट बाँकी रहँदा उच्च फर्ममा रहेका रियालका फ्रान्सेली फरवार्ड करिम बेन्जेमाले गरेको गोलले अफसाइड  पाउँदा स्पेनिश टोली शुरुआती अग्रताबाट बिमुख भएको थियो ।

सुरक्षाको कारण देखाउँदै निर्धारित समयभन्दा आधा घण्टा ढिलो गरी सुरु भएको खेलमा लिभरपुलका मोहम्मद सलाहका दुई प्रहार विपक्षी गोलकिपर कोर्टवाले उत्कृष्ट बचाउ गरेका थिए । 

यसैगरी, १७औं मिनेटमै साडियो मानेको प्रहार पोष्टमा लागेर फर्किँदा कोर्टवाले नै बचाएका थिए । यसैगरी ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड, लुइस डियाज, थियागो अल्कान्टारा, फाबिन्हो र जोर्डन हेन्डरसनका प्रहार पनि रियालका गोलकिपर कोर्टवालाई पार गर्न सफल भएनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ