arrow

पौडेललाई रिजालको काउण्टर- कुरा आकाश र जमीनले फरक हुनुहुँदैन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १७ मंगलबार
minndra-rijal.jpg

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई काउण्टर जवाफ दिएका छन् । प्रतिनिधिसभाको मङ्गलबारको बैठकमा गत आर्थिक वर्षमा अर्थमन्त्री रहेका पौडेललाई रिजालले पदमा नहुने वित्तिकै अर्को कुरा गर्ने भन्दै काउण्टर दिएका हुन् । 

आगामी आर्थिक वर्षको बजेटमाथि सामान्य छलफलमा पौडेलले मुलुकको अवस्थालाई ख्याल नगरी बजेट ल्याइएको बताएका थिए । पौडेलले उक्त बजेट मतदातालाई रिझाएर आउने निर्वाचनमा भोट प्रभावित गर्ने उद्देश्यबाट प्रेरित भएको आरोप लगाएका थिए । 

पौडेललाई उत्तर दिँदै डा रिजालले संसदमा भने,' पोहोर साल वहाँले बजेटको विवरण संसदमा होइन संसद बाहिर प्रस्तुत गर्दा आज बोलेकै कुरा सम्झिएर प्रस्तुत गरेको भए त कति राम्रो हुन्थ्यो । वहाँले त्यस बेला अर्थतन्त्र ६.५ प्रतिशतले बृद्धि हुनेछ भन्नुभयो । कोभिडले थलिएको थियो मुलुक । खोप लगाउन शुरु पनि गरेको थिएन । आज ८ भन्दा वहाँलाई अचम्मै जस्तो लाग्यो । ६.५ प्रतिशतले मुद्रास्फिती हुन्छ भन्नुभएको थियो । आज ७ ले हुन्छ भन्दा त्यति पुग्दैन जस्तो लागेको छ । भूमिका बद्लिएको छ । भूमिका बद्लिएको छ भन्ने वित्तिकै हामीले भन्ने कुरा आकाश जमीनले फरक पनि हुनुहुँदैन ।'

बजेटको मूल दिशा ठीक भएको उनले बताए । उनले अर्थमन्त्रीलाई धन्यवाद दिए । उनले बजेटमा चालू र विकास खर्च चुनौतीपूर्ण भए पनि अघिल्लो सरकारको विरासतका रुपमा वैदेशिक र आन्तरिक ऋण तथा व्यापार घाटा कायम रहेको बताउँदै यसको सामनाका लागि सबै गम्भीर छलफलमा आएर आर्थिक अवस्था सुधारमा लाग्नुपर्ने खाँचो औँलाए । उनले बजेटले कृषि क्षेत्रमा आयात बढाउने नीति लिएको, कर्मचारीको तलब वृद्धि भएको, उद्योगका क्षेत्रमा नवप्रवर्तनमा जोड दिइएको, उत्पादनमा नयाँ संरक्षणको खोजी र विदेशी लगानीका लागि नयाँ बाटो तय गरेको जनाए  । 

डा रिजालले अघिल्लो सरकारले संसद् विघटन गरेर निर्वाचन घोषणा भएको अवस्थामा संसद् बाहिरबाट ल्याएको बजेट र हालको बजेटको तुलना गर्न उपयुक्त नहुने बताउँदै भने, “हजारौँ माइलको यात्राको पहिलो कदमको थालनी गरेका छौँ तर सत्ता पक्ष र विपक्षका लागि नेपाल निर्माणका लागि कसरी सँगै जान सक्छौँ, एकापसमा गालीगलौज नगरौँ । मुलुकका लागि सोचौँ ।”

रिजालको कुरा सुनेर एमाले नेता पौडेल भने हाँसिरहेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ