arrow

कालीगण्डकीको बिजुली भारत निर्यात शुरु, प्रतियुनिट १९ रुपैयाँ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २१ शनिबार
Nepal-Electricity-Authority.jpeg

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको १४४ मेगावाट जडित क्षमताको कालीगण्डकी ए विद्युत गृहबाट उत्पादित विद्युत् भारत निर्यात शुरु हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले कालीगण्डकी विद्युत्गृहबाट उत्पादित विद्युत् आज राति १२ बजेदेखि निर्यात शुरु गर्न लागेको हो । 

प्राधिकरणले विद्युत् भारतीय ऊर्जा एक्सचेञ्ज (आइएक्स)मा बिहीबारदेखि त्रिशूली र देवीघाट जलविद्युत्गृहबाट उत्पादित विद्युत्लाई स्रोत मानी दैनिकरुपमा करिब ३९ मेगावाट विद्युत् निर्यात गरिरहेको छ । 

कालीगण्डकीको पनि शुरु भएसँगै प्राधिकरणले १७७.७ मेगावाट विद्युत् भारत निर्यात गर्नेछ । कालीगण्डकी ए को १४० मेगावाट, त्रिशूलीको २३.२ मेगावाट र देवीघाटको १४.५ मेगावाट विद्युत् भारत निर्यात हुनेछ । 

वर्षात्सँगै नदीनालामा पानीको बहाव बढेर विद्युत्गृह पूर्ण क्षमतामा चल्न थालेपछि आन्तरिकरुपमा खपत गरी अतिरिक्त भएको ऊर्जालाई प्राधिकरणले भारत निर्यात गरेको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज रातिदेखि निर्यात हुने विद्युतको औशत बिक्री मूल्य प्रतियुनिट ११.२ रुपैयाँ (७ भारु) रहेको बताए । “अधिकतम दर प्रतियुनिट १९ रुपैयाँ (१२ भारु), न्यूनतम २.३८ रुपैयाँ (१.४९ भारु) र औशत दर ११.२ रुपैयाँ (७ भारु) छ”, घिसिङले भने । 

आइएक्समा २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ । त्यसैले हरेक ब्ल्कको मूल्य फरक-फरक हुने गरेको छ ।

प्राधिकरणका अनुसार बिहीबार निर्यात गरिएको विद्युतको अधिकतम र न्यूनतम मूल्य प्रतियुनिट क्रमशः भारु १२ (१९.२ नेरु) र २.४९ (३.९८नेरु) छ । त्यस दिनको औशत मूल्य प्रतियुनिट भारु ६.७२ (१०. ७६ नेरु) छ । 

यसैगरी, शनिबार प्राधिकरणले अधिकतम प्रतियुनिट मूल्य १९.२ रुपैयाँ (१२ भारु) र न्यूनतम ४.०८ रुपैयाँ (२.५५ भारु) मा विद्युत् बिक्री गरेको छ । औसतम मूल्य ११.४८ रुपैयाँ (७.१८ भारु) रहेको छ । नेपालले भारतीय भारतीय ऊर्जा एक्सचेञ्ज मार्केटमा प्रतिस्पर्धी दरमा ३६४ मेगावाटसम्म विद्युत् बिक्री गर्न अनुमति पाएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ