arrow

सदनमा फोहोरको चर्चा

मन्त्री झाँक्रीलाई सदनमा आएर जानकारी गराउन गगन थापाको आग्रह

बजेटबाट केही अरब पैसा छुटाउने हो भने फोहरको दीर्घकालीन हल निस्कन्छ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २४ मंगलबार
gagan-thapas.jpg

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौंको फोहोरको विषयमा शहरी विकास मन्त्री रामकुमारी झाँक्रीलाई सदनमा आएर जानकारी गराउन आग्रह गरेका छन् । प्रतिनिधि सभाको आजको बैठकमा उनले यस्तो आग्रह गरेका हुन् । 

सांसद थापाले भने, 'काठमाडौं र वरपरको सडक फोहोरले पुरिन लागेको छ । यसको व्यवस्थापनको मूल जिम्मेवारी काननुनत शहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिका हो । यो दुवै ठाउँमा नयाँ नेतृत्व आएको छ । त्यो अहिलेको नेतृत्वको कारणले गर्दा यस्तो भएको हो । कदाचित होइन । यो भन्दा अगाडि यी ठाँउहरु को नेतृत्व गर्नेले उपयुक्त कामहरू नगर्दिएकाले अहिले समस्याको चाङ लागेको छ ।' 

काठमाडौं महानगर, शहरी विकास मन्त्रालय, नुवाकोटको ककनी गाउँपालिका, धादिङको धुनीबेसी नगरपालिकाका जनप्रतिनिधिबीच हिजो फोहर व्यवस्थापन गर्ने सहमति भएको थियो तर स्थानीले फेरी अवरोध गरेका छन् । 

थापाले भने,' शहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिका दुवैले प्रशंसनीय काम गर्नुभएको छ । यसकै परिणाम हिजो मात्रै एउटा सहमति भएको छ । फोहोर उठ्न थाल्यो भनी सुखद समाचार पायौ । तर आज बिहानबाट फोहोर लाने काम बन्द भएको छ । केही ठाउँमा बल प्रयोग भएको छ ।'

शहरी विकास मन्त्री झाँक्रीलाई सदनमा आएर जानकारी गराउन आग्रह गर्दै थापाले भने,' सम्माननीय सभामुख मार्फत माननीय शहरी विकास मन्त्रीलाई यहाँ आएर सदनलाई जानकारी गराउन आग्रह गर्न चाहन्छु । के गर्‍यौ भनेर सवाल जवाफ गर्नका लागि होइन । समस्या कहाँ नेर पर्‍यो ? त्यो गाँठो फुकाउने कुरामा हामी मद्दत गर्न चाहन्छौ । यो सदनको सदस्यको रूपमा काठमाडौं सांसदको रूपमा मद्दत गर्ने हाम्रो कर्तव्य पनि हो ।'

स्थानीय बासिन्दाले आफूहरूसँग सहमति नभएको भन्दै फोहोर विसर्जनमा अवरोध गरेका छन् । थापाले केही अरब पैसा छुटाए फोहरको दीर्घकालीन हल निस्कने बताए । उनले भने,' फोहरको व्यवस्थापनका लागि शहरी विकासको पैसाले पुग्दैन । बञ्चरेडाँडा र सिसिडोलमा हामीले गरेका बाचा र प्रतिज्ञा पुरा गर्न अरबौ रुपैयाँ चाहिन्छ । यो वर्षको बजेट बाट केही अरब पैसा छुटाउने हो भने फोहरको दीर्घकालीन हल निस्कन्छ ।' 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ