arrow

उपत्यकाको फोहर व्यवस्थापनमा पहलकदमी लिन प्रधानमन्त्रीलाई गगन थापाको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २५ बुधबार
gagan-thapa-parliament-2079-02-25.jpg

काठमाडौं । नेपाली कांग्रेसका सांसद एवं महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री शेरबहादुर देउवालाई काठमाडौं उपत्यकाको फोहरको व्यवस्थापनमा पहलकदमी लिन आग्रह गरेका छन् । 

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद थापाले फोहर व्यवस्थापनका लागि शहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाले गरेको काममा सबैको कर्तव्य हो भन्दै कतिपय कतिपय कुरा दुई वटा निकायले चाहेरमात्र सम्भव नभएको भन्दै प्रधानमन्त्री देउवालाई नै पहलकदमी लिन आग्रह गरेका हुन् । 

उनले भने, ‘कतिपय स्रोत साधन र कानूनी गाँठो फुकाउनका निम्ति सम्माननीय प्रधानमन्त्री ज्यूले नै पहलकदमी लिनुपर्नेछ । यसका लागि सम्माननीय प्रधानमन्त्री जीलाई विशेष पहलकदमी लिन विशेष आग्रह गर्न चाहन्छु ।’

उनले नगरवासीलाई पनि आग्रह गरेका छन् । उनले भने, ‘सरकारले आफ्नो कर्तव्य पूरा गरेसँगै हामी नगरवासीले पनि केही कामहरु गर्नुपर्नेछ । यसका लागि श्रावण १ गतेबाट नै स्रोतबाट नै कुहिने र नकुहिने फोहर अनिवार्य रुपमा छुट्टाउनका निम्ति काठमाडौं महानगरपालिकाले जुन अपिल गरेको छ काठमाडौं महानगरवासी भएको नाताले र यो क्षेत्रको एउटा सांसद भएको नाताले काठमाडौं महानगरपालिकाले फोहरमुक्त काठमाडौं बनाउने यो अभियानमा सम्पूर्ण महानगरवासीलाई साथ दिनको लागि हार्दिक अनुरोध गर्दछु ।’

सांसद थापाले जनप्रतिनिधिलाई पनि सक्रिय रहन आग्रह गर्दै भने, ‘यो कार्यक्रमलाई सफल बनाउनका निम्ति काठमाडौं महानगरसँग जोडिएका अन्य नगरपालिकाहरुले पनि सँगै काम गर्नुपर्नेछ र सम्पूर्ण वडाहरुले यो बीचमा धेरै तयारी गर्नुपर्नेछ संघसंस्थालाई परिचालन गर्नुपर्नेछ । घरघरमा खवर पुर्याउनु पर्नेछ । केही पूर्वाधारहरु बनाउनु पर्नेछ । यो सन्दर्भमा पनि सम्पूर्ण वडातहका जनप्रतिनिधिहरुलाई सँगसँगै काम गर्ने कुराको लागि हार्दिक अनुरोध गर्न चाहन्छु ।’ 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ