arrow

भारत र चीन दुवै देशसँग दौत्य सम्बन्ध कायम राख्न माग, जेठ २७ मा र्‍याली

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २५ बुधबार
india-chinas-morchan.jpg

काठमाडौं । भारत र चीनसँगको सुमधुर सम्बन्ध कायम राख्दै असंलग्न परराष्ट्र नीतिअनुसार दुवै देशसँग दौत्य सम्बन्ध कायम राख्न संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले माग गरेको छ । 

संयुक्त मोर्चाले राजसंस्थासहितको धर्मसापेक्ष वैदिक सनातन हिन्दु अधिराज्य नेपाल स्थापना, भारत र चीनसँगको सुमधुर सम्बन्ध कायम राख्दै असंलग्न परराष्ट्र नीतिअनुसार दुवै देशसँग दौत्य सम्बन्ध कायम राख्न माग गरेको छ । 

मोर्चाले लिपुलेक, लिम्पियाधुरामा जनगणना र स्थानीय चुनाव नगरेकोमा पनि आपत्ति जनाएको छ । र, यसको जवाफ जनतालाई दिनुपर्नेसमेत माग अघि सारेको छ । यस्तै, मोर्चाले लिपुलेक, कालापानीसहितको नयाँ नक्सा अविलम्ब पाठ्यक्रममा समावेश गर्न पनि माग गरिएको छ । 

मोर्चाले भ्रष्टाचार, विकृति, विसंगतिविरुद्ध बृहत् विरोध र्‍याली गर्ने घोषणा गरेको छ । आज पत्रकार सम्मेलन गर्दै आगामी जेठ २७ गते ११:३० बजे भृकुटीमण्डपमा विरोध र्‍याली सुरु गरेर वसन्तपुरमा कोणसभा गरी समापन गर्ने जानकारी दिइएको हो । 

मोर्चाले राष्ट्र घात, भ्रष्टाचार, दण्डहीनता, विकृति, विसंगतिविरुद्धको कार्यक्रममा ऐक्यबद्धता जनाउन सम्पूर्ण देशवासीलाई आग्रह गरेको छ । मोर्चाले सङ्घीयता, गणतन्त्र र धर्मनिरपेक्षता खारेज, निर्मला पन्तको हत्यारा सार्वजनिक गर्न, अखण्ड नेपाल कायम गर्न माग अघि बढाएको छ । 

पत्रकार सम्मेलनमा बोल्दै मोर्चाका सह-अध्यक्ष विष्णुप्रसाद भट्टराइले स्थानीय निकायको निर्वाचन सकिँदै गर्दा राजनीतिक दलहरूले एकले अर्कालाई धाँधली गरेको भनेर आरोप लगाएको सुन्दा हाँसो उठेको सुनाए । राजा वीरेन्द्रको वंश विनाश भएको दिन जेठ १९ गते नेपालगञ्जमा सालिक राख्न नदिएर अपमान गरेको भन्दै भट्टराईले त्यस घटनामा पनि आपत्ति जनाए । उनले गणतान्त्रिक मुलुकमा राजालाई छैटौं सूचिमा राखेको भन्दै दुःख व्यक्त गरे ।

पछिल्लो समय चर्चामा रहेको इम्बोस्र्ड नम्बर प्लेटको बारेमा बोल्दै उनले नेपालको संविधानको धारा ७ ले कामकाजको भाषा देवनागरी लिपिमा हुनुपर्छ भनेर लेखेको स्मरण गराए । उनले भने,‘त्यो इम्बोस्ड भाषामा कतै नेपाली भाषा देख्नुहुन्छ ? कसले चलाएको छ ? संविधानले तय गरेको कामकाजको भाषा नेपाली हो, अनि सरकारले नै सबै इङ्लिसमा लेख्यो भने कारबाही गर्ला, कसले गर्ने कारबाही ?’ भ्रष्टाचारको विरुद्ध जनतालाई सचेत गराउनुपर्ने उनले बताए । 

पछिल्लो समय बलात्कारको मुद्दा पनि धेरै उठेका भन्दै उनले महिला बलात्कारी नै सरकारमा बसेको आरोप लगाए । उनले भने,‘महिला बलात्कारी नै सरकारमा बसेको छ, त्यही बलात्कारीले बनाएको कानुन तपाईँहरूले मान्नुपर्छ ।’

उनले ९४ प्रतिशत नेपाली जनता हिन्दुत्वमा विश्वास गर्ने पनि ठोकुवा गरे । बलात्कारको मुद्दामा हदम्यादको विषय हटाएमा धेरै जना कारबाहीमा पर्ने उनले जिकिर गरे । उनले भने,‘माओवादीलगायत कति पार्टीका मानिसहरू समानुपातिकको नाममा क-कसले कति गैर कानुनी सम्बन्ध राखेका छन्, ती सबै बलात्कारी भएर कारबाहीमा पर्लान् की सिंहदरबारमा बसेर मन्त्री होलान् त ? यसै कारणले गर्दा अपराधीको साम्राज्य हो । यसबारेमा पनि जनतालाई सूचित गर्नुपर्छ ।’

९४ प्रतिशत नेपालमा हिन्दु भएको उल्लेख गर्दै गत स्थानीय तहमा धर्मनिरपेक्ष भन्नेहरूले पनि धर्म निरपेक्षवादीलाई गणतन्त्रमा भोट हालेको उनले सुनाए । नेपालको राष्ट्रिय अखण्डता जोगाउन विरोध प्रदर्शनको आयोजना गरिएको उनले स्पष्ट पारे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ