- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाल–रुस सम्बन्ध बिग्रेका बेला नेपालबाट युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज ‘अथक’ सहितको जम्बो टोली रुस जान लागेको छ । नेपाल बक्सिङ संघको एक सामान्य एजेन्डासहित डेढ दर्जन टोलीको नेतृत्व गर्दै मन्त्री अथक रुस जानका लागि अथक प्रयासमा रहेको स्रोतले बताएको छ ।
मन्त्रीसहित मन्त्रीका स्वकीय, श्रीमती, मन्त्रालयका अधिकारी, राष्ट्रिय खेलकुद परिषद राखेपका प्रशासन प्रमुखहरु तथा बक्सिङ संघका अध्यक्ष राम अवालेसहितका पदाधिकारीको टोली जान लागेको हो ।
रुस–युक्रेन युद्धमा नेपालले युक्रेनको समर्थन गरेर नेपाल र रुसको सम्बन्धमा दरार आएको अवस्थामा नेपालबाट सरकारी टोली रुस जानु आफैंमा कुटनीतिक मर्यादा विपरीत हो ।
बक्सिङका लागि आर्थिक सहायता सम्झौता गर्न मन्त्रीकै नेतृत्वमा टोली जान लागेको बताइएको छ । रुस जानका लागि मन्त्रीपरिषद्को बैठकबाट पास गराउन लागिएको जनाइएको छ ।
उनीहरुको भ्रमण कार्यक्रम मन्त्रिपरिषद्बाट पास गर्नुपर्ने भएकाले सम्भवतः बिहीबारै बस्ने मन्त्रिपरिषद् बैठकले सहमति दिने गरी भ्रमण तालिका तय भएको जनाइएको छ ।
नेपालमा आर्थिक मन्दी लागेको र वैदेशिक मुद्रा सञ्चिती पनि घटेको अवस्थामा उनीहरु रुस भ्रमण जान लाग्नु आफैंमा सकारात्मक सन्देश नभएको खेल क्षेत्रका विज्ञहरुले जनाएका छन् ।
साथै उनीहरुले नेपाल–रुसको सम्बन्धमा पनि दरार आएका बेला जानु कुटनीतिक मर्यादा विपरीत भएकोसमेत बताइएको छ ।
किन जान लाग्यो त जम्बो टोली ?
रुसबाट सहयोग जुटाउन जान लागेको भनिए पनि त्यो केबल घुम्ने बहाना भएको राखेपको स्रोतले जनाएको छ । उक्त स्रोत भन्छ, ‘बक्सिङ संघमा पहिलेदेखि नै विवाद रहेकाले उक्त विवाद मिलाइदिने आश्वासन मन्त्रालय र राखेपले दिएसँगै अवालेले उनीहरुलाई घुम्न लैजान लागेका हुन् ।’
खेलकुदमा विदेश जान पाउनुलाई ठूलो कुरा मानिन्छ । त्यसैकारणले संघको विवाद मिलाउने निहूँमा टोली जान लागेको हो । तर यसको आधिकारिक जानकारी बक्सिङ संघकै पदाधिकारीलाईसमेत छैन ।
संघका महासचिव सबिन भट्टाचार्यले आफूले पनि बाहिरबाट सुनेको जानकारी दिए । उनले संघमा औपचारिक निर्णय त गर्नुपर्ने होला तैपनि केही जानकारी नआइपुगेको बताए ।
उनका अनुसार संघको विवाद मिलाउन राखेपका उपाध्यक्ष शिव कोइरालाले प्रयास गरेका थिए । उनले अध्यक्ष र महासचिवलाई सँगसँगै राखेर संघको बैठक डाक्नु भनेर पनि सुझाएका थिए । तर अवालेले भने बेवास्ता गरेका छन् ।
इमेलसहितका सम्पर्क ठेगाना संघको इमेल दिइएको छैन । अवाले आफैले व्यक्तिगत इमेल कार्यालय काममा लगाएका छन् ।
त्यसो त यो संघ नै अवैधानिक रहेको छ । २०७३ साल जेठ २० गते चार वर्षका भनेर यो कार्यसमिति आएको हो । तर अहिलेसम्म संघ चलाइरहेको छ ।
२०७७ जेठ ४ गते यसको समय सकिएको हो । तर कोरोना भाइरसको महामारीका कारण भन्दै छ महिनाभित्र निर्वाचन गर्ने गरी समय थपिएको थियो । त्यो समय पनि मंसिरमा सकिएको थियो ।
खेलकुद परिषदले विवाद मिलाउनु पर्नेमा त्यतातिर चासो दिएन । तत्कालीन राखेप सदस्यसचिव रमेशकुमार सिलवालले गैरजिम्मेवार भूमिका खेलेपछि बक्सिङको विवाद झन् चर्केको हो ।
अहिले माहोल बनाउने नाममा अध्यक्ष अवालेले मन्त्रालय र राखेपका साथै आफ्नो संघका पनि पदाधिकारीहरुलाई घुमाउन लगेर समस्या टुंग्याउने योजना बनाइरहेका छन् ।
अर्कातर्फ आर्थिक सहायता जुटाउनका लागि यति ठूलो जम्बो टोली जानुका पछाडि ठूलै खेल हुन सक्ने आशंका पनि जन्मिएको छ ।