arrow

यस्ताे छ अमेरिकी सेनाका कमाण्डरको चार दिने नेपाल भ्रमण तालिका

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २६ बिहिबार
charles-flynn-us-army-nepal.jpg
तस्बिर– फाइल

काठमाडौं । अमेरिकी सेनाको इन्डो प्यासिफिक कमाण्डका कमाण्डिङ जनरल चार्ल्स ए फ्लिन बिहीबार (आज) नेपाल आइपुग्दै छन् । चार दिने भ्रमणका लागि नेपालमा रहने जनरल चार्ल्स ए फ्लिनले उच्चस्तरीय भेटवार्ता, माउन्टेन फ्लाइट र सैन्य तालिम केन्द्र एवं शिवपुरी सैन्य ब्यारेकको अवलोकन भ्रमण गर्ने भएका छन् ।

बिहीबार नेपाल आइपुगेपछि जनरल फ्लिन होटल हायातमा रहने छन् । शुक्रबार जनरल फ्लिनले नेपाली सेनाको मुख्यालय जंग्गी अड्डाको भ्रमण गर्ने भएका छन् । 

त्यसपछि उनले प्रधानसेनापति प्रभुराम शर्मासँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले बताएका छन् ।

 भेटमा नेपाली सेनाको अप्रेसन गतिविधिबारे ब्रिफिङ हुने सेनाका प्रवक्ता सिलवालले बताए । त्यसपछि शनिबार एभरेष्ट बेस क्याम्पमा जनरल फ्लिनको माउन्टेन फ्लाइट हुने कार्यक्रम रहेको छ । 

यस्तै २९ गते आइतबार बिहान जनरल फ्लिनले काभ्रेको पाँचखालमा रहेको वीरेन्द्र शान्ति सैनिक तालिम केन्द्रको भ्रमण गर्ने र गतिविधि अवलोकन गर्ने कार्यतालिका तय भएको छ ।

तालिम केन्द्रपछि सोही दिन नेपाली सेनाका स्टाफसँगै जनरल फ्लिनले शिवपुरीको भ्रमण गर्ने भएका छन् ।

सोही दिन २९ गते बेलुकी नै उनी फर्किने अहिलेसम्मको कार्यतालिका रहेको सेनाका प्रवक्ता सिलवालले बताए ।

अमेरिकी सेनाका कमाण्डरको नेपाल भ्रमणलाई निकै चासोका साथ हेरिएको छ । यद्यपि प्यासिफिक कमाण्डका कमाण्डिङ जनरल चार्ल्स ए फ्लिन भारतको चार दिने भ्रमण सकेर नेपाल भ्रमणमा आएका हुन् ।

अमेरिकी उच्च सैन्य अधिकारीको भ्रमण मुलतः सद्भावना भ्रमण नै भएको र विगतमासमेत हुने गरेको नेपाली सेनाले बताएको छ ।

सेनाका प्रवक्ता सिलवाले हाम्राकुरासँग भने 'यस्तो भ्रमण विगतमा पनि प्यासिफिक कमाण्डका जनरलको भिजिट भइरहेको हो, यो पटक पनि उहाँले गर्ने भिजिट मुलत: सद्भावना भ्रमण नै हो ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ