- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । शिरोमणि पुरस्कार २०७८ बाट विम्बकवि तथा कलाकार रमेश श्रेष्ठलाई प्रदान गरिने भएको छ । शिरोमणि पुरस्कार पोखरेली युवा सांस्कृतिक परिवारले वाङ्मयिक क्षेत्रमा क्रियाशील स्रष्टालाई प्रदान गर्दै आइरहेको छ । पुरस्कारको राशी नगद १५ हजार रुपैयाँ, ताम्रपत्र र दोसल्ला रहेको छ ।
प्रतिभा छनोट पुरस्कार छनोट समितिको सिफारिसलाई परिवारले श्रेष्ठलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । समितिमा वरिष्ठ कलाकार दुर्गा बराल, कवि तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठ, संगीतकार कृष्णबहादुर श्रेष्ठ, संस्थाका अध्यक्ष मोती भुजेल र सहसचिव शिव त्रिपाठी रहेका थिए ।
यस पुरस्कारबाट यसअघि मुक्तिनाथ शर्मा, अलिमियाँ, दुर्गा बराल, सर्वज्ञमान प्रधानाङ्ग, सरूभक्त, देवीप्रसाद वनवासी, गोविन्दबहादुर कुँवर, तेजनाथ घिमिरे, तीर्थ श्रेष्ठ, प्रेम छोटा, अमृत गुरुङ, ओम खत्री, अनुप बराल सम्मानित भइसकेका छन् । आगामी असार ४ गते पोखरामा कार्यक्रम गरी श्रेष्ठलाई पुरस्कार प्रदान गरिने परिवारका अध्यक्ष मोती भुजेलले जानकारी दिए ।
को हुन् श्रेष्ठ ?
विम्बकवि तथा कलाकार रमेश श्रेष्ठले विगत चार दशकदेखि कविता र चित्रकला क्षेत्रमा महत्वपूर्ण योगदान दिई नेपाली कविता र कलालाई अन्तर्राष्ट्रिय जगतसम्म पुर्याउँदै आएका छन् ।
वि.सं. २०२३ साल पुस १७ गते पोखराको तेर्सापट्टीमा जन्मिएका श्रेष्ठले पृथ्वीनाराण क्याम्पसबाट संस्कृति र इतिहास विषयमा स्नातकसम्मको औपचारिक शिक्षा लिएका छन् । कलम र कुची, अक्षर र रङलाई समानान्तर शैलीमा अगाडि बढाएका श्रेष्ठले २०६६ मा नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सभा सदस्य र २०७१ मा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको परिषद् सदस्य तथा चित्रकला विभाग प्रमुख, पोखरेली युवा साँस्कृतिक परिवारको अध्यक्ष र सल्लाहकारको भूमिका निर्वाह गरिसकेका छन् ।
आफ्ना कविता र चित्रकलालाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गरेका श्रेष्ठले दोस्रो अन्तर्राष्ट्रिय साहित्य सम्मेलन लण्डन, १६ औं आर्ट बाइनाले बङ्गलादेश, कला कार्यशाला तथा प्रदर्शनी बेइजिङ, सार्क आर्ट क्याम्प भुटानमा सहभागिता जनाएका छन् । नपोतिएका रङहरू गीत सङ्ग्रह २०५२ श्रेष्ठको पहिलो प्रकाशित कृति हो । ‘मलामी पहाड र सारङगी’, ‘आँसुमा खसेको पृथ्वी’, र ‘कोलाज उत्सव’ काव्य कृति प्रकाशनको तयारीमा छन् ।
काव्य र कलाक्षेत्रमा विगत चार दशकदेखि सिर्जनात्मक काम गरेका रमेश श्रेष्ठ दर्जनौं पुरस्कार, मानसम्मान र पदकबाट विभूषित छन् । राष्ट्रिय प्रतिभा पुरस्कार २०५७ बाट पुरस्कृत श्रेष्ठलाई २०६६ सालमा विम्बकविको उपाधि प्रदान गरिएको हो । नेपाली कविताका क्षेत्रमा टिकटमा एकल कविता वाचन गर्ने अभियन्ताका रूपमा श्रेष्ठ परिचित छन् ।