arrow

वन कार्यालय प्रमुख र आपूर्ति प्रमुखद्धारा सरकारी रकम हिनामिना, महालेखाको प्रतिवेदनको उडाइयो धज्जी 

logo
प्रिमेश शिवाकोटी, 
प्रकाशित २०७९ जेठ २८ शनिबार
ban-karyalay-rautahat.jpg

रौतहट । डिभिजन वन कार्यालय रौतहटमा लाखौं रकम हिनामिना गर्न कार्यालय प्रमुख र जिल्ला वन पैदावार आपूर्ति समितिका प्रमुखनै संलग्न रहेको पाइएको छ । वन कार्यालय प्रमुख अमरदेव यादव र वन पैदावार आपूर्ति समितिका प्रमुख बिमल ठाकुरले सरकारी खातामा जम्मा गर्नुपर्ने करिब १ करोड ३१ लाख ९ हजार ९ सय ६४ रुपैयाँ बैंकमा दाखिला नगरी व्यक्तिगत प्रयोजनका लागि प्रयोग गरेका हुन् । 

उनीहरुले आफ्नो पद र अख्तियारको दुरुपयोग गरेर करोडौं रुपैयाँ अपचलन गरेको भए पनि उनीहरुमाथि कारबाही हुन सकेको छैन । महालेखाको प्रतिवेदनले यादव र ठाकुरले सरकारी नगद अपचलन गरेको भन्दै कुल रकमको १० प्रतिशत हर्जानासमेत असुल उपर गर्न भनेको भए पनि उनीहरु राजनीतिक आडमा सरकारी रकम चलाउने र नियम कानूनको धज्जी उडाउने कार्यमा लागेका छन् । 

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ को दफा २८ मा आफ्नो जिम्मामा आएको सरकारी नगद सोही दिन वा त्यसको भोलिपल्ट यथास्थानमा दाखिला नगरेमा कार्यालय प्रमुखले १० दिन भन्दा बढी ढिलो गरेको भएमा १० प्रतिशतका दरले जरिवाना हुने स्पष्ट कानून भए पनि वन प्रमुख यादव र आपूर्ति प्रमुख ठाकुरले महिनौं सरकारी रकम दुरुपयोग गरेका हुन् । 

‘उनीहरुले सरकारी रकम अपचलन गरेर सिंगो कर्मचारीतन्त्रको नाम मात्र बदनाम गराएका छैनन् महालेखाले जरिवाना तिर्न भनेको करिब १३ लाख रुपैयाँसमेत तिर्न अटेर गरिरहेका छन्’ वन कार्यालयका एक कर्मचारीले भने । 

राजनीतिक पहुँचका आडमा यही बैशाख १५ गते उमेर हदका कारण अवकास लिनुपर्ने डिभिजन वन कार्यालय रौतहटका प्रमुख अमरदेव यादव कामकाजमै छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ