arrow

विश्वकप लिग टुमा नेपाल र अमेरिकाबीचको खेलमा रोमाञ्चक टाइ, अन्तिम ओभरमा अदिलले गरे कमालको बलिङ 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २९ आइतबार
nepal-cricket-2022-06-12.jpg

काठमाडौं ।  आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु को त्रिदेशीय एक दिवसीय क्रिकेट सिरिज अन्तर्गत नेपाल र अमेरिकाबीचको खेलमा रोमाञ्चक टाइ भएको छ । 

अमेरिकाको टेक्ससस्थित मोसा क्रिकेट मैदानमा आइतबार बिहान सम्पन्न खेलमा टाइ भएको हो । २७५ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २७४ रन जोडेपछि खेलमा रोमाञ्चक टाइ भएको हो । 

अमेरिकाका लागि ओपनर स्टेभेन टेलरले ११४ रन बनाए । यस्तै कप्तान मोनान्क पटेलले ८५ रनको अर्धशतकीय इनिङ्स खेले । नेपालका लागि मोहम्मद अदिल आलमले सर्वाधिक ३ विकेट लिए । अमेरिका जित उन्मुख भइरहँदा अदिलले उत्कृष्ट बलिङ गर्दै बराबरी गराएका थिए । 

प्लेयर अफ द म्याच अदिलले अन्तिम ओभरमा शानदार बलिङ गरे । अमेरिकालाई जितको लागि अन्तिम ६ बलमा ६ रन चाहिएको थियो । तर अदिलले पाँच रन खर्चिदै खेल टाइ गराए ।

रोमान्चक बनेको खेलमा अमेरिकालाई अन्तिम दुई बलमा जितका लागि एक रन आवश्यक थियो । पाँचौं बलमा अदिलले आरोन जोन्सलाई आउट गरे भने अन्तिम बलमा राहुल जरिवाला रन आउट भए । 

खेलमा कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले १–१ विकेट लिए । 

नेपालको इनिङ्स
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा अलआउट हुँदै २७४ रन जोडेको थियो । तीन खेलाडीले अर्धसतक बनाएको इनिङ्समा उपकप्तान रोहित पौडेलले ७२ बलमा ६२ रन बनाए । 

आसिफ शेखले ७० बलमा ६१ रन बनाए । देव खनालले ६९ बलमा ५४ रन बनाए । अदिलले २४ बलमा ३६ रन बनाए । कुशल भुर्तेलले १९ तथा सन्दीपले १० रन बनाए ।

आरिफ शेख ८, दिपेन्द्र सिंह ऐरी १ सोमपाल कामी १ रनमा आउट हुँदा सुशन भारी १ रनमा अविजित रहे । करण केसीले खाता खोलेनन् । 

अमेरिकाका रुष्टि थिरनले ४ विकेट लिए । अलि खान र सौरभ नेत्रभाल्करले २र२ विकेट लिए ।

खेल टाइ भएपछि नेपाल र अमेरिकाले एक एक अंक पाएका छन् ।

अबको खेल 
सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको थियो । अमेरिकाले भने पहिलो खेलमा ओमानलाई हराएको थियो।

अब नेपालले तेस्रो खेलमा ओमानविरुद्ध मंगलबार र अन्तिम खेलमा अमेरिकाविरुद्ध बुधबार खेल्ने तालिका रहेको छ ।

अंक तालिका
लिग टु मा ओमान ३४ खेलमा ४२ अंकसहित शीर्ष स्थानमा रहेको छ । स्कटल्याण्ड २० खेलबाट २८ अंकसहित दोस्रो तथा यूएई २२ खेलबाट २६ अंकसहित तेस्रो स्थानमा छ । 

अमेरिका २२ खेलबाट २१ अंकसहित चौथो, नामिबिया १४ खेलबाट १४ अंकसहित पाँचौं तथा नेपाल १४ खेलबाट १३ अंकसहित छैटौं स्थानमा छ । 

पपुवा न्यूगिनी २० खेलबाट मात्र २ अंकसहित पुछारमा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ