arrow

सशस्त्रमा बढुवाको लर्को, आईजीपीको पदावधि घटाइँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ३० सोमबार
apf-armed-police-force-logo.jpg

काठमाडौं । सशस्त्र प्रहरी बलमा प्रहरी महानिरीक्षक (आईजीपी) को पदावधि घटाउने चलखेल शुरु भएको छ । आफ्नो अनुकुलका व्यक्तिलाई महानिरीक्षक बनाउनका लागि सशस्त्र प्रहरीमा नियमावली संशोधन गरी पदावधि घटाउने तयारी भएको हो । 

सशस्त्र प्रहरीमा रहेका कुनै व्यक्ति विशेषलाई बढुवा गर्न र बढुवासँगै भविष्यमा आईजीपीसम्म बनाउन पर्ने भएपछि सशस्त्र प्रहरीमा नियमावली संशोधन गर्न लागिएको स्रोतको दाबी छ । गृह मन्त्रालयमा तयारी हालतमा रहेको प्रस्तावित नियमावलीमा आईजीपीको पदावधि घटाउने तथा एसएसपीको बढुवा समयवधि घटाउने रहेको छ ।

‘एसएसपीमा बढुवा हुन ४ वर्षे सेवा गरेको हुनुपर्ने नियमलाई हटाएर अब एसएसपीमा बढुवा हुनका लागि ३ वर्ष सेवा गरेको भए पनि योग्य मानिने व्यवस्था गर्न लागिएको र प्रहरी महानिरीक्षकको पदावधि पनि घटाएर ३ वर्ष बनाउने प्रस्ताव गरिएको छ’, मन्त्रालय स्रोतले भन्यो । 

सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ४० को उपनियम १ मा ‘सशस्त्र प्रहरी सेवामा बढुवाका लागि सम्भाव्य उम्मेदवार हुन बढुवा हुने श्रेणी वा तहभन्दा एक श्रेणी वा तह मुनिको पदमा चार वर्ष सेवा अवधि पूरा भएको हुनुपर्नेछ’ भनिएको छ । 

त्यसैगरी नियम ४० को उपनियम २ मा ‘उपनियम १ मा जुनसुकै कुरा लेखिएको भएता पनि सशस्त्र प्रहरी नायब महानिरीक्षक र सोभन्दा माथिल्लो पदमा बढुवा हुन न्युनतम सेवा अवधिको हद लाग्ने छैन’ भन्ने उल्लेख छ । 

अर्थात् एसएसपीसम्म बन्न त्योभन्दा तल्लो तहमा कम्तीमा चार वर्ष सेवा पूरा गरेको हुनुपर्नेछ भने डीआइजी बन्न वा त्योभन्दा माथिल्लो पदमा जानका लागि सेवा अवधि लागू नहुने कुरा उल्लेख छ । 

तर सशस्त्र प्रहरीले यो व्यवस्थालाई हटाएर एसएसपीमा बढुवाका लागि आवश्यक सेवा अवधि चार वर्षलाई घटाएर तीन वर्ष कायम गर्न संशोधनको प्रस्ताव गरेको छ । योसँगै सशस्त्र प्रहरी महानिरीक्षकको सेवा अवधि घटाएर अहिलेका एआईजी नारायणदत्त पौडेललाई अनुकूल हुने गरी संशोधन प्रस्ताव गरिएको स्रोतको दाबी छ । 

जसबाट हालका एआईजी सीपी गौतम एआइजीमै घर जानेछन् । उनी सिनियर भए पनि नारायणसँग पहिले नै आईजीपी बनाउने सहमति भएको स्रोतको दाबी छ । ३० वर्षे सेवा अवधि कायमै रहेमा गौतम २०८२ सालमै घर जाने छन् । यद्यपि नेपाल प्रहरीमा जस्तै सशस्त्र प्रहरीमा पनि ३० वर्षे सेवा अवधि हटाउने अर्को तयारी पनि रहेको छ । 

अहिले भने एसएसपीको बढुवा अवधि ३ वर्ष बनाउँदा अहिलेका कामु एसएसपी दीपेन्द्र कुँवरलाई सहज बनाउने गरी संशोधन गर्न लागिएको छ । उनी यसै पटक डीआइजी हुने र निकट भविष्यमा आईजीपी हुने गरी तयारी थालेका छन् । 

प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाका बहिनी ज्वाइँ रहेका एसएसपी कुँवरले आफ्ना ब्याचका सबैलाई टप गरेर डीआईजी हुने खेलमा लाग्दा सबै प्रकारका नियमावली संशोधन गर्न दबाब दिइरहेका छन् । 

यसअघि नियमावली संशोधन गरेर सेवा अवधि घटाउनका लागि सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल नै  समिति गठन गरेका थिए । सुझाव दिनेगरी गठन गरिएको समितिमा तत्कालीन आईजीपी खनाल निकट भनेर चिनिएका डीआईजी नारायणदत्त पौडेल संयोजक थिए  । 

आईजीपी अर्यालले सेवा अवधि घटाउने लगायतका प्रस्ताव राखेर तयार पारेको नियमावली संशोधन प्रस्तावसहितको पत्र गृह मन्त्रालयको प्रहरी प्रशासन शाखामा पठाइसकिएको भए पनि अहिले विचराधिन अवस्थामा छ ।

समितिले एसएसपीमा बढुवाका लागि सेवा अवधि तीन वर्ष बनाउने गरी नियमावली संशोधनको सुझाव सहितको प्रतिवेदन दिएको थियो । त्यसैगरी वर्तमान आइईजीपी राजु अर्याल र पौडेलबीच भएको भद्र सहमति अनुसार आइजीपीको कार्यकाल तीन वर्ष बनाउने र दुवै जना मिलीमिली कार्य सञ्चालन गर्ने रहेको छ । 

त्यसो गर्दा देउवाका ज्वाइँ कुँवरलाई फाइदा हुनेछ । उनी आफ्नो ब्याचमा १० नम्बरका रहेका छन् । उनी भन्दा अघि कामुबाट कन्फर्म हुने लाइनमा रहेका एसएसपीहरु सुरेश श्रेष्ठ, दिपेन्द्र शाह, दिपक अधिकारी, पुरुषोत्तम थापा र अन्जनी पोखरेललगायत छन् । 

कुँवरको ब्याचमा भने एक नम्बरमा विष्णु भट्ट, दिग्विजय सुवेदी, विश्व भट्टराई, भुपेन्द्र केसी, कमल तिउसिना, निरकृष्ण अधिकारी, सुधिरजंग थापा, किरण बस्नेत र माधवप्रसाद पौडेल लगायत छन् । कुँवरसँगै  सुवेदी, तिउसिना, बस्नेत निकै विवादित अधिकृत हुन् । 

बारामा बसेका सुवेदीलाई तस्करीलाई साथ दिएको आरोप लागेको थियो भने तिउसिनालाई आईजीपीलाई मात्रै रिपोर्ट गर्ने गणको गणपति हुँदा गृह मन्त्रालयले गणमा छापा मारेर कारबाहीको सिफारिस गरेको थियो । तर उनले निकै मेहनत गरेर मिलाएका थिए । 

यो नियमावली संशोधनपछि सशस्त्र प्रहरीमा सिसम–१ को ब्याचबाट २०७५ बैशाख २७ मा एसपीमा बढुवा भएका अधिकृतहरुको सेवा अवधि तीन वर्ष पूरा भएको छ । 

सिसम–२ का अधिकृतहरु २०७५ चैत १५ मा एसपीमा बढुवा भएका थिए । एसपी पदमा ती अधिकृतहरुको सेवा अवधि २०७८ चैत १५ मा ३ वर्ष पूरा भैसकेको छ । 

सिसम–२ का ती एसपी सशस्त्र प्रहरी महानिरीक्षक अर्यालसँगै रहेका छन् । उनी यतिबेला कायम मुकायम एसएसपी छन् । उनीलगायत आफ्ना केही व्यक्तिलाई चाँडै बढुवा र भविष्यमा आईजीपीको दाबेदार बनाउने गरी यतिबेला नियमावली संशोधनको प्रयास भइरहेको स्रोत दाबी छ ।

आईजीपी राजु अर्याललाई यतिबेला निकै तनाव रहेको बताइन्छ । अहिले डीएसपीदेखि माथिका पदमा ठूलो संख्यामा बढुवा हुँदै गर्दा उनले धेरैलाई आश्वासन दिएको उच्च स्रोतको दाबी छ । ठूलो संख्यामा आकांक्षीसमेत रहेका छन् । 

अर्कातर्फ उनलाई दबाब दिने नेताहरुको संख्यासमेत बढिरहेको छ । यसमा उनले कसरी व्यवस्थापन गर्छन् भन्ने सोचनीय रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ