arrow

मकवानपुर गोल्डकपको उपाधि आर्मीलाई

logo
रविन्द्र गौतम
प्रकाशित २०७९ जेठ ३० सोमबार
arrrrrr.jpg

हेटौंडा । हेटौंडामा भएकाे स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले हात पारेको छ । साेमबार सम्पन्न खेलमा घरेलु टोली विजयी युथ क्लब हेटौंडालाई २-१ गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो । आर्मीले शिल्डसँगै १५ लाख हात पारेको छ भने उपविजेता बनेको हेटौंडाले शिल्डसँगै १० लाख पाएको छ ।

आर्मीले यसअघि २०७७ सालमा भएको तेस्रो मकवानपुर गोल्डकपको फाइनलमा खेलमा पनि घरेलु टोलीलाई हराउँदै आर्मीले उपाधि हात पारेको थियो । अघिल्लो पटक फाईनलमा पुगेर उपाधि हात पार्न नसकेको हेटौंडाले यस पटक पनि उपविजेतामा चित्त बुझाएको छ ।

आर्मीलाई च्याम्पियन बनाउन कप्तान भरत खवास र कमलबहादुर थापाले गोल गरे । घरेलु टोली विजय युथका डोना थापाले पेनाल्टीमार्फत एक गोल फर्काए । खेलको १५ औं मिनेटमा कप्तान भरत खवासको गोलबाट आर्मीले शुरुआती अग्रता लिन सफल भएको थियो ।

घरेलु टोलीले बराबरी गोल फर्काउन सफल बनेपछि दोस्रो हाफको शुरुमै कमलबहादुर थापाले गोल गर्दै आर्मीलाई २–१ को अग्रता दिलाए ।

खेलको उत्कृष्ट खेलाडी घोषित हुँदै विजय युथका क्याप्टेन अशोक बरालले बुलेट बाइक पाएका छन् । यस्तै प्रतियोगिताको उत्कृष्ट गोलरक्षक आर्मीका बिकेश कुथु घोषित भए । उत्कृष्ट मिडफिल्डरमा आर्मीका विवेक बस्नेत, स्ट्राइकरमा आर्मीकै दिनेश हेम्जन र प्रशिक्षकमा आर्मीका नवीन न्यौपाने घोषित भए ।

विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पाएका छन् । जिल्ला फुटबल संघ मकवानपुरको आयोजनामा सञ्चालन भएको प्रतियोगितामा १२ वटा क्लबले सहभागिता जनाएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ