arrow

बिजुली बलेपछि स्थानीय खुशी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २ बिहिबार
light.jpeg

दार्चुला । अपिहिमाल गाउँपालिका वडा नं. ३ पाथामा बिजुली बत्ती बलेको छ । निर्माण शुरु भएको छ वर्षपछि १०० किलोवाट क्षमताको विद्युत आयोजनाबाट बत्ती बलेको हो । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सहयोगमा पाथाको घट्टेखोलामा निर्माण भएको विद्युतको सफल परीक्षण गरिएको छ । 

विद्युतको गाउँपालिकाका प्राविधिक समुद्रसिंह धामीको टोलीले सफल परीक्षण गरेको हो । विद्युत् परीक्षण सफल भएभई लामो प्रयासपछि दुर्गम पाथामा बत्ती बलेपछि स्थानीयवासी खुशी छन् । अहिलेलाई पाथा र घाजिरमा विद्युत् दिइएको विद्युत निर्माण समितिका अध्यक्ष नन्दनसिंह धामीले जानकारी दिए । 

अपिहिमाल-३ र ४ का लागि निर्माण शुरु गरिएको बत्ती अन्य बस्तीसम्म पुर्याउन केही ठाउँमा ट्रान्सफर्मर जडान र शाखा लाइन विस्तार हुन सकेको छैन । हाइटेन्सन लाइन जडान गरिएको भए पनि शाखा लाइन जडान नहुँदा अन्य बस्तीसम्म विद्यूत पुर्याउन केही समय लाग्ने उनले बताए ।

सडक नपुगेको पाथामा विद्युत् निर्माण गर्न झण्डै रु सात करोड लागत खर्च भएको छ । यसमा केन्द्रले रु दुई करोड ८५ लाख, गाउँपालिकाले रु एक करोड ९२ लाख, सङ्घीय सांसदको सांसद विकास कोषमार्फत रु ५० लाख तथा बाँकी रकम जनश्रमदानमार्फत विद्युत् निर्माण गरिएको अध्यक्ष धामीले जानकारी दिए ।

विद्युत् पूरै विस्तार भए दुई वडाका ६६६ घरधुरी लाभान्वित हुनेछन् । शाखा लाइन विस्तारका लागि गाउँपालिकाले आगामी वर्ष सहयोग गरे गाउँपालिका उज्यालो हुने उनको भनाइ छ । अघिल्लो सरकारले अपि उज्यालो कार्यक्रमअन्तर्गत विशेष प्राथमिकता दिएर विद्युतमा लगानी गरेको थियो । 

उज्यालो अपिअन्तर्गत अपिहिमाल-२ मा सौर्य विद्युत् जडान गर्ने तयारी छ । यस्तै, अपिहिमाल-६ मा १०० किलोवाट क्षमताको जलविद्युत् निर्माणकार्य जारी छ । अपिहिमाल-५ मकरीगाडमा मकरीगाड हाइड्रोपावरले १० मेगावट क्षमताको विद्युत् निर्माणको अन्तिम चरणमा पुर्याएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ