arrow

जिसस मकवानपुरमा गठबन्धनकाे प्यानल विजयी

logo
रविन्द्र गौतम, 
प्रकाशित २०७९ असार २ बिहिबार
lait-ghalan.jpg

जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको प्रमुखमा ललितबहादुर घलान विजयी भएका छन् । बिहीबार भएको निर्वाचनबाट गठबन्धनका उम्मेदवार घलान विजयी भएका हुन् ।

सत्तारुढ दलबीचको गठबन्धनको उम्मेदवारको रुपमा नेकपा माओवादी केन्द्रका घलान १७ मतसहित विजयी भए । जिसस प्रमुखमा घलानसहित उपप्रमुख र सदस्यहरुमा गठबन्धनको प्यानलै विजयी भएको छ ।

हेटौंडा उपमहानगरपालिका १२ नम्बर वडा अध्यक्षको पदबाट राजिनामा दिएर घलानले जिसस प्रमुखमा उम्मेदवारी दिएका थिए । जिसस प्रमुखकै आकांक्षी नेकपा एमालेबाट बुद्धिराम डिम्डुङले ३ मत मात्रै प्राप्त गरे । यस्तै जिसस उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका सानुकाजी लुइटेल विजयी भएका छन् । उनको  एकल उम्मेदवारी परेपछि उनि निर्विरोध भएका हुन् ।

महिला सदस्यमा गठबन्धनबाट नेपाली कांग्रेसकी तारा ढुंगाना (१७ मत), विष्णुमाया थपलिया (१७ मत) र सुमित्रा थिङ (१७ मत) सहित निर्वाचित भएका छन् । दलित सदस्यमा नेकपा एकीकृत समाजवादीबाट सुनिता दर्नाल परियारको एकल उम्मेदवारी परेकाले उनी पनि निर्विरोध निर्वाचित भइन् ।

त्यस्तै खुलातर्फ ३ जना सदस्यमा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका वीरेन्द्रकुमार लामा (१६ मत), नेकपा माओवादी केन्द्रबाट खड्कबहादुर पुलामी (१७ मत) र सुवर्ण गोपाली (१७ मत) का साथ विजयी भएका छन् ।

निर्वाचित सम्पूर्णले पद तथा गोपनियताको सपथग्रहण आजै गरेका छन् । जिससका नवनिर्वाचित प्रमुख घलानलाई मुख्य निर्वाचन अधिकृत दिल्लिरत्न श्रेष्ठले सपथ खुवाएका छन् भने अन्य सदस्यलाई प्रमुख घलानले पद तथा गोपनियताको सपथ खुवाएका छन् । एक कार्यक्रमका विच निवर्तमान जिसस प्रमुख रधुनाथ खुलालले नवनिर्वाचित प्रमुख घलानलाई माइनोट दिदै कार्यभार हस्तान्तरण गरेका छन् ।

९ सदस्यीय जिल्ला समन्वय समितिमा प्रमुख तथा उपप्रमुख र सात जना सदस्य रहने छन् । मकवानपुरमा हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र ८ वटा गाउँपालिका इन्द्रसरोबर, भीमफेदी, मकवानपुरगढी, बागमती, बकैया, मनहरी, राक्सिराङ, कैलाश रहेका छन् । सबै पालिकाको प्रमुख र उपप्रमुख गरी कूल २० जनाले जिससको लागि मतदान गरेका थिए । जसमध्ये कांग्रेसको ९, माओवादी केन्द्रको ७, नेकपा एमालेको ३ र एकीकृत समाजवादीको १ जना मतदाता थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ