arrow

अफगानिस्तान भूकम्प: करिब हजारकाे मृत्यु, सयाैं घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ८ बुधबार
afghanistan-earthquake.jpg

काठमाडौं । अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पबाट मृत्यु हुनेको संख्या ९ सय २० पुगेको छ भने ६ सय बढी घाइते भएका छन् ।तालिवानका प्रकोप व्यवस्थापन अधिकारीका अनुसार उद्धारकर्ताहरू भूकम्पग्रस्त दुर्गम क्षेत्र पक्तिका र खोस्ट प्रान्तमा पुग्ने कोसिस गरिरहेका छन् ।

'अहिलेसम्म हामीले प्राप्त गरेको जानकारी अनुसार कम्तीमा ९२० जना मारिएका छन् र ६०० जना घाइते भएका छन्,' विपद् व्यवस्थापन उपमन्त्री मौलावी सराफुद्दीन मुस्लिमले बुधबार पत्रकार सम्मेलनमा बोल्दै भनेका छन् ।

'केही गाउँहरू पहाडका दुर्गम क्षेत्रमा भएकाले मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने सम्भावना छ र विवरण सङ्कलन गर्न केही समय लाग्ने छ,' आन्तरिक मन्त्रालयका अधिकारी सलाहुद्दिन अयुबीले यसअघि नै भनेका छन् ।

तालिवान नेता हिबतुल्लाह अखुन्दजादाले पनि सयौं घर ध्वस्त भएको र मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन् । अमेरिकी भौगर्भिक सर्भे (युएसजीएस) ले शुरुमा ६ दशमलव १ रेक्टर स्केलको भनेको भूकम्पको स्केल पछिल्लाे समय परिमार्जन गरी ५ दशमलव ९ गरिएको थियो ।

भूकम्पको केन्द्रबिन्दू पाकिस्तानी सीमा नजिक रहेको खोस्ट शहरबाट ४६ किलोमिटर टाढा रहेको युएसजीएसले जनाएको छ।

पक्तिका प्रान्तका जनजाति नेता याकुब मन्जोरले पीडितहरूलाई सहयोग गर्न भूकम्पबाट सुरक्षित रहेकाहरु परिचालन भइरहेको बताएका छन् ।

भूकम्पले ठूलो क्षति पुर्याएको सो क्षेत्रका स्थानीय बजारहरू बन्द गरिएको र सबै मानिसहरू प्रभावित क्षेत्रहरूमा पुगेको उनले बताएका छन् ।

पाकिस्तानको सीमाना नजिक रहेको पक्तिका प्रान्तको भिडियो फुटेजमा पीडितहरूलाई उक्त क्षेत्रबाट हेलिकप्टरमा सारिँदै गरेको र भत्किएका घरहरु देखिएको छ ।
 
भूकम्प मानिसहरु सुतेकै अवस्थामा रातिको १ बजेर ३० मिनेटमा गएको थियो । पाकिस्तानको पेशावर, इस्लामाबाद, लाहोर, कोहट, मोहमन्द, स्वात, बुनेर र पञ्जाब र अन्य भागहरूमासमेत भूकम्पको धक्का महसुस गरिएको थियो ।

भूकम्पको धक्कासँगै मानिसहरु आत्तिएर घर छाडेर सुरक्षित स्थानतर्फ भागेका थिए ।

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको प्रकोप व्यवस्थापन प्राधिकरणले लक्की मारवतका निवासी एक व्यक्तिको भूकम्पमा उनको कोठाको छत भत्किँदा मृत्यु भएको जनाएको छ ।

करिब २ दशकसम्म अफगानिस्तानमा युद्ध गरेर अमेरिकी सेना फिर्ता गएपछि तालिबानले गत अगस्तमा सरकार चलाउन थालेको थियो ।

युद्ध र देशमा निम्तिएको उथलपुथलका कारण गम्भीर आर्थिक सङ्कट भोगिरहेका बेला अफगानिस्तानमा यो अर्काे विपत्ति आएको हो ।

केही देशले अफगानिस्तानको बैंकिङ क्षेत्रमाथि प्रतिबन्ध लगाएका छन् र अर्बौं डलरको विकास सहायता कटौती गरेका छन् ।

संयुक्त राष्ट्र संघ जस्ता अन्तर्राष्ट्रिय संस्थाहरूद्वारा अफगानिस्तानमा मानवीय सहायता कार्यक्रम भने जारी रहेको छ ।

पाकिस्तानद्वारा मानवीय सहयोगको वाचा

भूकम्पको सूचना पाएलगत्तै पाकिस्तान सरकारले छिमेकी देशमा भएको जनधनको क्षतिप्रति समवेदना प्रकट गरेको छ ।

रेडियो पाकिस्तानको रिपोर्टका अनुसार प्रधानमन्त्री शहबाज शरीफले यस कठिन समयमा पाकिस्तान अफगान दाजुभाइ तथा दिदीबहिनीहरूको साथमा रहेको र सम्भव भएसम्म सहयोग गर्ने वाचा गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ