arrow

भारत र चीनले सोचे भन्दा बढी रुसी तेल किन्यो- अमेरिका

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ९ बिहिबार
russia-india-china-oil.jpg

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनका एक आर्थिक सल्लाहकारले भारत र चीनले अमेरिकी सरकारले पहिले सोचेभन्दा बढी रुसी तेल किनिरहेको बताएका छन् । दुई ठूला देशले रुसी तेल खरिद बढाउँदा विश्व बजारको आपूर्ति अवरोध सहज हुँदै पछिल्लो समय तेलको मूल्य घटेको उनले बताएका छन् ।

अमेरिकी कच्चा तेल (वेस्ट टेक्सास इन्टरमिडिएट) को मूल्य ५.६ प्रतिशतले घटेर १०३.३१ डलर प्रति ब्यारेलमा पुगेको छ भने उत्तर सागरको कच्चा तेल ब्रेन्टको भाउ ५.२ प्रतिशतले घटेर १०८.६२ डलरमा कारोबार भइरहेको छ ।

बुधवार ब्लूमबर्ग टीभीसँगको अन्तर्वार्तामा बोल्दै बाइडेनका आर्थिक सल्लाहकार परिषद्का अध्यक्ष सेसिलिया राउजले भने, 'अहिले विशेष गरी तेल बजार अस्थिर छ ।'

'मैले स्पष्टीकरणको अंश सुनेको छु कि चीन र भारतले वास्तवमा हामीले विश्वास गरेको भन्दा बढी रुसी तेल किनिरहेका छन्, ताकि बजारमा थप आपूर्ति होस् ।'

युक्रेन युद्धपछि रुसमाथि पश्चिमाले प्रतिबन्धहरू लगाएपछि भ्लादिमिर पुटिनले ठूलो मागका बेला रुसी तेललाई एसियाली बजारमा केही छुटमा बेच्दै आएका छन् ।

सन् २०२२ को शुरुमा रुसी कच्चा तेलको दुई तिहाई युरोपमा निर्यात हुँदै आएको थियो । अहिले देशको करिब ५० प्रतिशत तेल एसियामा बेच्न थालिएको गाजप्रोम नेफ्टका प्रमुख कार्यकारी अधिकृत अलेक्जेण्डर ड्युकोभले बताएका छन् ।

बजार अनुसन्धान फर्म केप्लरको ढुवानी डाटालाई उद्धृत गर्दै न्यूयोर्क टाइम्सले अधिकांश अतिरिक्त तेल दुई देशहरू चीन र भारतमा गइरहेको उल्लेख गरेको छ ।

चीनमा रुसी तेलको आयात अघिल्लो महिनाको तुलनामा मे महिनामा २८ प्रतिशतले बढेको छ । चीनले आफ्नो सबैभन्दा ठूलो तेल आपूर्तिकर्ताको रुपमा साउदी अरेबियालाई पछि पार्दै रुसलाई पहिलो स्थान दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ