arrow

रामायण सर्किट जोड्ने रेल दिल्लीबाट जनकपुरधाम आइपुग्यो, तीर्थयात्रीको भव्य स्वागत

logo
निरञ्जनकुमार साह, 
प्रकाशित २०७९ असार ९ बिहिबार
ramayan-circuit-rail-nepal-india.jpg

जनकपुरधाम । रामायण सर्किट जोड्ने रेल भारतको राजधानी नयाँदिल्लीबाट जनकपुरधाम आइपुगेको छ । भारतीय रेलले शुरु गरेको ‘भारत गौरव पर्यटक रेल’ धार्मिक पर्यटक लिएर जनकपुरधाम आइपुगेको हो । 

रामायण सर्किटको धार्मिक सांस्कृतिक प्रवद्र्धन गर्ने उद्देश्यसहित ४ सय ९९ तीर्थयात्री बोकेर सो रेल बिहीबार दिउँसो जनकपुरधाम आइपुगेको हो । १८ दिनको यात्रा अन्तर्गत तेस्रो दिन ‘भारत गौरव पर्यटक रेल बिहीबारर दिउँसो करिब पौने २ बजे जनकपुरधाम पुगेको हो । 

गत मंगलबार साँझ नयाँदिल्लीको रेल्वे स्टेशनमा भारतका रेलमन्त्री र पर्यटनमन्त्रीले संयुक्तरुपमा हरियो झण्डा देखाएर सो रेलको उद्घाटन गरेपछि रामायणसँग जोडिएको क्षेत्रको यात्रा गराउन जनकपुरधामका लागि प्रस्थान गरेको थियो ।

बिहीबार उक्त रेल्वे जनकपुरधाम पुग्दा तीर्थयात्रुलाई मधेस सरकार, जनकपुरधाम उपमहानरपालिका र जानकी मन्दिरका पदाधिकारीले स्वागत गरेका हुन् ।

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुधन महतो, जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज साह, जानकी मन्दिरका सहायक महन्थ रामरोसन दाससहित स्थानीयहरु स्वागतका लागि रेल्वे स्टेशन पुगेका थिए ।

रेल्वे स्टेशनबाट यात्रीहरु जनकपुरधामको विभिन्न होटेलमा गएका छन् । उनीहरुका लागि भारतीय राजदूतावासले जनकपुरधामको विभिन्न होटल बुक गरेको छ ।

तीर्थयात्रीहरु साँझ ६ बजे महागंगा आरतीमा सरिक हुने र त्यहाँबाट जानकी मन्दिर पुगेपछि मन्दिरको प्रांगणमा प्रदेश सरकारले आयोजना गर्ने मिथिलाको कला संस्कृति झल्किने रात्रि सांस्कृतिक कार्यक्रमको आयोजना गरिने बताइएको  हो।

शुक्रबार बिहान जनकपुरधामको राममन्दिर, जनक मन्दिर लगायतको दर्शन गरी उनीहरु धनुषाधामस्थित धनुष मन्दिर पुग्ने छन् । त्यहाँबाट फर्केपछि तीर्थयात्रीहरु बस चढेर भिठामोड हुँदै सीतामढीका लागि प्रस्थान गर्नेछन् ।

जनकपुरधामबाट बस चढेर सीतामढी पुग्ने तीर्थयात्रीलाई लिएर त्यहाँबाट रामायण सर्किट हुँदै दिल्ली फर्किने बताइएको छ । रामायण सर्किट अन्तर्गत भारत र नेपालबीच पर्यटक रेल शुरु भएपछि जनकपुरधामको पर्यटन विकासमा मद्धत पुग्ने व्यवसायीहरुको विश्वास छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ