arrow

पहिलो पटक एनओसीले दियो अवार्ड, गौरिका र प्रिन्स बेष्ट खेलाडी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १० शुक्रबार
noc-award-2022.jpg

काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले पौडी खेलाडी गौरिका सिंह र ब्याडमिन्टनका प्रिन्स दाहाललाई एनओसी अवार्ड प्रदान गरेको छ । अन्तर्राष्ट्रिय ओलम्पिक दिवसका अवसरमा बिहीबार यहाँ आयोजित कार्यक्रममा गौरिकालाई एनओसी उत्कृष्ट महिला खेलाडी र प्रिन्सलाई उत्कृष्ट पुरुष खेलाडीबाट सम्मान गरिएको हो । 

त्यस्तै उत्कृष्ट प्रशिक्षक अवार्ड पुरुषतर्फ दीपक मगर र महिलातर्फ सङ्गीना वैद्यले प्राप्त गरे । उत्कृष्ट सङ्घको अवार्ड भने नेपाल तेक्वान्दो सङ्घले प्राप्त गरेको छ । 

त्यसैगरी एनओसीले चार जना खेलकुद पत्रकारलाई पनि सम्मान गरेको छ । कान्तिपुर दैनिकका राजु घिसिङले एनओसी बेस्ट प्रिन्ट जर्नालिस्ट अवार्ड, बीबीसीका निरञ्जन राजवंशीले एनओसी बेस्ट मल्टिमिडिया जर्नालिस्ट अवार्ड प्राप्त गरे । 

यसैगरी कान्तिपुर टेलिभिजनकी सविना कार्कीले एनओसी बेस्ट भिजुअल जर्नालिस्ट अवार्ड तथा राजेन्द्र चित्रकारले एनओसी बेस्ट स्पोर्ट्स फोटो जर्नालिस्ट अवार्ड प्राप्त गरेका छन् । 

विश्वभर ओलम्पिक दिवस जुन २३ तारिखमा मनाइन्छ । सो क्रममा एनओसीले पनि मनाउँदे आएको छ । विभिन्न खेलुकदका कार्यक्रमसमेत हुँदै आएका छन् । एनओसी अन्तर्गत स्पोर्ट्स फर अल कमिसनले बिहीबार लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्रमा विविध कार्यक्रम गरी मनायो ।

सो अवसरमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले राष्ट्रिय झण्डा तथा एनओसीका महासचिव नीलेन्द्रराज श्रेष्ठले ओलम्पिकको झण्डा झण्डोतोलन गरेका थिए । ओलम्पियनहरुले टर्च बोकी मार्च पास्ट गरेका थिए भने ओलम्पिक डे– २०२१ को स्मारिका पनि विमोचन गरिएको थियो ।

जुडो, बक्सिङ, फेन्सिङ र करातेका खेलाडीले ‘डेमोस्ट्रेसन’ प्रस्तुत गरेका थिए भने विभिन्न विद्यालयका विद्यार्थीहरुको पनि प्रस्तुती थियो । कमिसनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठले ओलम्पिक डेका अवसरमा कमिसनले गरेको विभिन्न कार्यक्रम बारे जानकारी गराएका थिए । 

उनले सातै प्रदेश, आर्मी, प्रहरी, सशस्त्र प्रहरी, विद्यालयलगायत विभिन्न संस्थाले विभिन्न समयमा २ हजार ८ सय १७ कार्यक्रम आयोजना गरेको जानकारी गराए । उनले सम्पूर्ण कार्यक्रममा २ लाख ९ हजार ३ सय ५० जनाको संलग्नता रहेको अवगत गराए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ