arrow

अफगान भूकम्प पीडितलाई ताइवानबाट १० लाख डलर सहयोग

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १० शुक्रबार
afghanistan-earthquake.jpg

काठमाडौं । ताइवानले अफगानिस्तानका भूकम्प पीडितका लागि १० लाख अमेरिकी डलर सहयोग घोषणा गरेको छ । संयुक्त राष्ट्र संघ र अन्य मानवीय सहायता एजेन्सीहरुले अफगानिस्तानलाई मद्दत गर्न आह्वान गरेपछि ताइवानले बिहीबार यो सहयोग घोषणा गरेको हो ।

प्रजातान्त्रिक रूपमा शासित टापुलाई आफ्नो क्षेत्रको हिस्सा मान्ने चीनको दबाबका कारण ताइवान संयुक्त राष्ट्र संघको सदस्य हुन सकेको छैन । तर उसले आफूलाई अन्तर्राष्ट्रिय समुदायको जिम्मेवार सदस्य भएको देखाउँदै आएको छ ।

संयुक्त राष्ट्र संघ र अन्य मानवीय एजेन्सीको सहयोग आह्वानको प्रतिक्रिया स्वरुप विपद् राहतको लागि मानवीय भावनामा आधारित रहेर मद्दत गर्न लागेको ताइवानको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

यद्यपि ताइवानले अन्य देशहरूसँग परामर्श गर्दै यातायातको कठिनाइका कारण खोजी र उद्धार टोली पठाउ नसक्ने भएको राष्ट्रपति कार्यालयका प्रवक्ता जेभियर चाङले भनेका छन् ।

ताइवान पनि भूकम्पको जोखिम भएको क्षेत्रमा अवस्थित टापु हो । यसले नियमित रूपमा विश्वभरका अन्य प्रकोप क्षेत्रहरूमा उद्धार टोलीहरू पठाउँदै आएको छ ।

चीनले पनि अफगानिस्तानलाई सहयोग गर्न तयार रहेको बताएको छ । तर विस्तृत विवरण भने सार्वजनिक गरेको छैन ।

आफगानिस्तानका दुर्गम प्रान्तमा आएको भूकम्पका कारण एक हजार बढी मानिसकाे ज्यान गएको छ । सयौं घाइते भएका छन् भने सयाै‌ं घर र भवन भत्केर ठूलो भौतिक क्षति भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ