arrow

हेटौंडा उपमहानगर : गठबन्धन र एमालेको टकरावले नगरसभा स्थगित

logo
रविन्द्र गौतम
प्रकाशित २०७९ असार १० शुक्रबार
sabha-htd.jpg

हेटौंडा । गणपूरक संख्या नपुगेपछि हेटौंडा उपमहानगरपालिकाको नगर सभा स्थगित भएको छ ।

सभामा बहुमत रहेको नेकपा एमालेका जनप्रतिनिधिले उपस्थिति पुस्तिकामा हस्ताक्षर नगर्दा हेटौंडा उपमहानगरपालिकाको नगर सभा प्रभावित बनेको हो । सभामा बहुमत पुर्‍याउन नसकेपछि बैठक स्थगित गरिएको नगरप्रमुख मीनाकुमारी लामाले जानकारी दिइन् ।

नगरसभाको अर्को बैठक असार १२ गते दिउँसो १ बजेका लागि बोलिएको छ । एमालेसँग छलफल नै नगरी बजेट निर्माणमा एकलौटी गरेको भन्दै नगर सभामा एमाले उपस्थित नजनाएपछि ९५ सदस्यीय नगर सभामा नगरप्रमुख र उपप्रमुखसहित ४० जनाको मात्रै उपस्थिति देखिएपछि नगर सभा स्थगित गरिएको हो । नगर सभा सञ्चालन गर्न ५१ प्रतिशत अर्थात् ४८ जनाको अनिवार्य उपस्थिति हुनुपर्ने कानुनी व्यवस्था छ ।

एमालेले बैठक सञ्चालन कार्यविधि–२०७४ को १५(२) र १५(३) मा रहेको व्यवस्थालाई संशोधन गरिनुपर्ने माग राख्दै आएको छ । एमालेले नगर सभामा बहुमत रहेको दलसँग समन्वय नै नगरी नीति तथा कार्यक्रम र बजेट तयार पारेको भन्दै विरोधसमेत गर्दै आएको थियो । कुल ९७ नगर सभा सदस्यमध्ये नेकपा एमालेका ५४ जना रहेका छन् ।

बहुमत छ भन्दैमा मेयरको अधिकार नै कटौती गर्ने विषयमा अडान लिएपछि कुरा नमिलेको हेटौंडा उपमहानगरपालिकाका प्रवक्ताले जानकारी दिए ।

३० वैशाखमा भएको निर्वाचनबाट हेटौँडाको नगर प्रमुखमा गठबन्धनबाट नेकपा एसकी मिनाकुमारी लामा र उपप्रमुखमा कांग्रेसका राजेश बानियाँ निर्वाचित भएका थिए । एमालेको अवरोधका कारण पहिलो कार्यपालिकादेखि नै हेटौँडामा लफडा सुरु भएको थियो । ७ असारमा बसेको कार्यपालिका बैठकमा एमालेले नगर प्रमुखको अधिकार कटौती गर्ने उद्देश्यअनुरूप बैठक सञ्चालन कार्यविधि संशोधन प्रस्ताव लगेपछि हेटौँडामा गठबन्धन र एमालेबीच टकरावको स्थिति बढेको थियो । 

एमालेले राजनीतिक प्रतिशोधको भावनाले बजेटमै असर पार्ने गतिविधि गरेको र त्यो मान्य नहुने बताएकी छिन् ।
बागमती प्रदेशको एक मात्रै उपमहानगरपालिका हेटौंडाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम कार्यान्वयन गर्न करिब २ अर्ब ७१ करोड ७९ लाखको बजेट सार्वजनिक गर्ने तयारी गरेको छ ।

एमालेले अवरोध गरिरहे ३ पटकको पालोमा नगर सभा आव्हान गरेर २५ प्रतिशत सदस्यको उपस्थितिमा नगर सभा अगाडी बढाउने सोचमा हेटौंडा उपमहानगरपालिका रहेको छ ।
  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ