arrow

हेटौंडा उपमहानगरले ल्यायो दुई अर्ब ७१ करोड ७९ लाखको बजेट

logo
रविन्द्र गौतम, 
प्रकाशित २०७९ असार १२ आइतबार
hhh-bajet.jpg

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को लागि २ अर्ब ७१ करोड ७९ लाख ७२ हजार ८ सय २० रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

आइतबार भएको नगरसभामा  हेटौँडा उपमहानगरपालिकाका उपमेयर राजेश बानीयाँले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गरेका हुन् । बजेटमा कार्यालय तथा प्रशासनिक खर्चतर्फ ३३ करोड ५७ लाख ८९ हजार बजेट विनियोजन भएको छ ।

सामजिक विकास तर्फ ८३ करोड ६७ लाख १७ हजार, पूर्वाधार विकास तर्फ १ अर्ब ८ करोड ४२ लाख रुपैँया, वन तथा वातावरण तर्फ १२ करोड ६ लाख ८० हजार र शुसासन तथा सस्थागत विकास तर्फ ७ करोड ३३ लाख ५० हजार रुपैँया बजेट विनियोजन भएको छ ।

विविध कोष तर्फ ९९ लाख तथा बागमती प्रदेशबाट हस्तान्तरण भएका आयोजनाको लागि ६ करोड ३ लाख ७० हजार रुपैँया विनियोजन भएको छ ।

राजस्व बाँडफाँड ५८ करोड ९३ लाख ७० हजार, प्रदेश सरकारको अनुदानबाट ९ करोड ५८ लाख ९४ हजार र संघीय सरकारबाट  १ अर्ब ६ करोड ९५ लाख प्राप्त हुने जनाइएको छ ।  

उपमहानगरपालिकाले बजेटमा शिक्षा, खेलकुद र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको छ । प्रारम्भिक वालविकास सहजकर्ता र बिद्यालय कर्मचारीको कार्य उत्प्रेरणा अभिवृद्धि गर्न, विद्यार्थीहरुको दिवा खाजा कार्यक्रम, निःशुल्क पाठ्यपुस्तक अनुदान, छात्राहरुलाई निशुल्क सेनेटरी प्याड, सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि छात्रवृत्ति अनुदान लगायत सामाजिक विकास अन्तर्गत शिक्षा तर्फको सशर्त र आन्तरिक बजेट तर्फको कार्यक्रम संचालनका लागि रु. ६६ करोड १५ लाख विनियोजन गरिएको छ ।

त्यस्तै संघीय र प्रदेश सरकारसँगको समन्वय र सहयोगमा उपमहानगरपालिका क्षेत्रभित्र सम्भाव्यता अध्ययनको आधारमा सुविधा सम्पन्न प्रसुती अस्पताल निर्माण र स्वास्थ्य संस्थाहरुबाट सुरक्षित मातृत्वको लागि बर्थिङ्ग सेन्टर सञ्चालन गर्न रु. १ करोड विनियोजन गरिएको छ । सामाजिक विकास अन्तर्गत स्वास्थ्य तर्फको सशर्त र आन्तरिक बजेट तर्फको कार्यक्रम संचालनका लागि रु. ९ करोड ५३ लाख विनियोजन गरिएको छ ।

त्यस्तै रंगशाला पूर्वाधार निर्माण, मिनी रंगशाला निर्माण, फुटबल प्रतियोगितालगायत खेल पूर्वाधार निर्माण लगायतका कार्यक्रमलाई ३ करोड ७३ लाख बिनियोजन गरिएको छ ।

त्यस्तै नगरलाई सफा हरियाली बनाउन, फोहोर बिसर्जन केन्द्र, फोहोर सेग्रिगेसन प्रशोधन केन्द्रलाई बजेट बिनियोजन गरिएको छ भने पूर्वाधार विकास अन्तर्गत १ अर्ब ८ करोड ४२ लाख बिनियोजन गरिएको छ ।उपमहानगरपालिकाले नगर भित्र दर्ता बिना संचालन भैरहेका व्यवसायलाई निगरानी बढाएर अनिवार्य व्यवसाय दर्ता गरि करको दायरामा ल्याउने र नगर भित्र साइकल, ठेला, घुम्तीव्यवसाय गर्नेलाई समेत करको दायरामा ल्याइने बताइएको छ ।

गणपुरक संख्या नपुगेपछि गत १० असारमा सुरु भएको हेटौंडा उपमहानगरपालिकाको नगरसभा स्थगित भएको थियो । एमालेले बैठक सञ्चालन कार्यविधि–२०७४ को १५(२) र १५(३) मा रहेको व्यवस्थालाई संशोधन गरिनुपर्ने माग राख्दै नगरसभामा उपस्थित जनाएको थिएन । एमालेको मागलाई संबोधन हुने किसिमले अर्को बैठकमा छलफल गर्ने सहमति जुटेपछि आज नगरसभाको बैठक संचालन भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ