arrow

नेविसंघले देखाएका सबल पक्ष र अबको बाटो

logo
आकाश जंग कार्की,
प्रकाशित २०७३ भदौ ९ बिहिबार
Akash-karki.jpeg
नेपाली काँग्रेसको प्रभावशाली भातृ संगठन नेपाल विधार्थी संघको ११औं महाधिवेशन भर्खरै सम्पन्न भई नयाँ नेतृत्व चयन भएको छ। झन्डै १० वर्ष देखि हुन नसकेको ११ औँ महाधिवेशन संयोगवस ११ औँ दिनमा पुगेर नै समापन भयो। पक्कै पनि देशको ठूलो प्रजातान्त्रिक शक्तिको भातृ संगठनको यति लामो सम्म महाधिवेशन हुन नसक्दा थुप्रै समस्याहरु जेलिएर रहेका थिए। त्यसलाई निराकरण गर्न त्यति सजिलो थिएन र लामो समय लागेर भए पनि महाधिवेशन सम्पन्न गराउनु वर्तमान काँग्रेस कार्यसमितिको सफलताको रुपमा लिन सकिन्छ। विपीले शेर बहादुर देउवा र रामचन्द्र पौडेललाई सँगै राखेर रामचन्द्रजी नेविसंघको नेतृत्व सम्हाल्नु भन्दा पौडेलले भनेका थिए यो त शेर बहादुरजीले लिनुहुन्छ। आज यहि नेविसंघको नेतृत्व सम्हाल्दैँ मुलुकको प्रधानमन्त्रि हुँदै हाल पार्टीको सभापति भई नेतृत्व सम्हाल्दै छन्। त्यसैले नेविसंघ नेपाली काँग्रेसको शक्ति हो। देश–विदेशबाट समेत प्रमुखताका साथ नियालिएको महाधिवेशनबाट थुप्रै सकारात्मक परिवर्तनको सञ्चार हामी माझ भएको छ। 
 
भातृ संस्थाहरुमा प्रजातान्त्रिक पद्दतिको निरन्तरता 
भातृ संस्थाहरु पार्टीको नर्सरीको रुपमा लिइन्छ। भातृ संस्था पानीका मुहान सरह हुन्। यदि मुहान सफा रहे हरेक धारामा सफा पानी नै बग्दछ। नेविसंघको महाधिवेशन सम्पन्न भए सँगै अहिले तरुण दल, महिला संघ लगाएत अन्य भातृसंस्थाहरु महाधिवेशनको सँघारमा रहेका छन्। यदि नेविसंघको चुनाव हुन नसकेको भए अन्य भातृ संस्थाहरुको पनि महाधिवेशन नहुने प्रायः निश्चित देखिन्थ्यो। यसले सम्पूर्ण भातृ संस्थाहरुलाई प्रजातान्त्रिक अभ्यासमा अभ्यस्त गराउन मार्ग प्रशस्त गरेको छ।
 
संघियतालाई संस्थागत गर्नमा मद्दत
हाल नेविसंघको नयाँ कार्यसमितिमा प्रादेशिक संरचना अनुरुपको कार्यसमिति चयन गरिएको छ। भर्खरै मात्र अभ्यासमा ल्याउन लागिएको संघियताको स्वरुपलाई यस महाधिवेशनले संस्थागत हुन सहयोग गरेको छ। 
 
काँग्रेस नेतृत्वको सफलता 
शेर बहादुर देउवा सभापतिको उम्मेदवार रहँदा देखि नै सम्पूर्ण भातृ संस्थाहरुको चुनाव गराउने प्रतिवद्धताका साथ चुनावी मैदानमा दौडिएका थिए। यसर्थ पनि सडकमा उहाँको पक्षमा प्रायः विधार्थी, तरुण साथै महिलाहरुनै क्रियाशील रहेको देखिन्थ्यो। सभापति देउवाद्धारा गरिएको प्रतिवद्धता अनरुप ६ महिना भित्र नै नेविसंघको महाधिवेशन सम्पन्न गराउन सक्नु वर्तमान नेतृत्वको सफलताको सुरुवातको रुपमा लिन सकिन्छ। यसले काँग्रेस कार्यसमिति भित्रको सहकार्यता, दक्षता र दृढ इच्छाशक्तिको उजागर गरेको पाइन्छ।  
 
विद्यार्थी संगठनहरुमा उर्जा 
लामो समयसम्म चुनाव हुन नसक्दा एकातिर विधार्थी संगठनहरुको अस्तित्वमा नै प्रश्न चिह्न उठ्दै आएको थियो भने अर्कातर्फ विधार्थी आन्दोलनबाट प्राप्त गरेका शैक्षिक एवं सामाजिक उपलब्धिहरु नै ओझेलमा परेको अवस्था थियो। यस महाधिवेशन सम्पन्न भए पश्चात् सम्पूर्ण विधार्थी संगठनहरुमा नै नयाँ उर्जा थपिएको छ जसले अबका दिनमा प्राप्त शैक्षिक उपलब्धिहरुलाई संस्थागत गर्दै शिक्षा जगत सामूहिक रुपमा सकरात्मक परिवर्तन हुनेमा विश्वस्त देखिन्छ जुन यस महाधिवेशनको प्रबल पक्ष मान्न सकिन्छ।
 
अबको बाटो
विपी भन्नुहुन्थ्यो प्रजातन्त्रमा नागरिक अधिकार, कानुनी शासन र सार्वभौम सम्पन्न जनता तीन खुट्टे कुर्सी सरह हुन्। कुनै एक मात्र नभए त्यो उभिन सक्दैन्। अब नेविसंघले सम्पूर्ण विधार्थीहरुको हक अधिकारलाई सुरक्षित र संवर्धन गर्दै कानुनी राज्य स्थापनार्थ अघि बढ्नु जरुरी देखिन्छ। प्रमुखतः नेविसंघको संशोधन विधान अनुरुप तय भए बमोजिम ३२ वर्षे हदम्याद, एक व्यक्ति एक पदलाई लागु गर्न वर्तमान कार्यसमितिको प्रमुख दायित्व रहनुपर्दछ। जसले समयानुसार नेतृत्व हस्तान्तरण गर्दै आन्तरिक प्रजातन्त्रलाई सुढृढीकरण गर्न टेवा पुग्दछ। नेविसंघले अब भड्किलो प्रचार प्रसारमा मात्र जोड दिने हैन विचारको मन्थन गर्ने थलोको रुपमा विकास गर्दै आर्थिक सुशासनमा जोड दिनु अत्यावश्यक छ। अहिलेको समय सूचना र प्रविधिको समय हो। प्रजातन्त्रको मुटु नै सुचनाको प्रवाहमा निर्भर रहने हुँदा, नेविसंघ भित्रका सम्पूर्ण क्रियाकलापलाई आफ्ना विद्यार्थीहरुका माझ सुसुचित गर्दै अघि बढ्नु अनिवार्य रहन्छ। प्रश्नै प्रश्नैमा अल्झिएको नेविसंघ होइन अब उत्तर सहितको नेविसंघ बन्नु पर्दछ। समस्याको पोको मात्र होइन, समाधान सहितको विकल्पहरुमा उभिन सक्ने नेविसंघको आवश्यकता छ। चौरी गाई चराउँदै गरेका हिमालका विद्यार्थी हुन या त पहाडमा हलो जोत्दै गरेका विद्यार्थी हुन् न त तराईमा भैँसि चराउँदै गरेका नै विद्यार्थी किन नहुन, अब सम्पूर्ण विद्यार्थीहरुको समान पहुँचमा पुग्न सक्ने नेविसंघको आवश्यकता छ। 
 
अन्त्यमा, विगत १० वर्ष सम्म हुन नसकेको नेविसंघको चुनाव वर्तमान काँग्रेस कार्यसमितिले सम्भव तुल्याए अनुरुप विगत ८ वर्ष सम्म हुन नसकेको स्ववियु निर्वाचन सम्पन्न गराउने कार्यभार नेविसंघको काँधमा आएको विश्वास आम विद्यार्थीहरुले गरेको यो अवस्थामा यसलाई सम्पन्न गराउन वर्तमान नेविसंघ कार्यसमिति सफल रहुन्। नवनिर्वाचित अध्यक्ष नैनसिंह महर लगाएत सम्पूर्ण कार्यसमितिलाई पुनः हार्दिक बधाई।
(कार्की नेविसंघ, नेपाल ल क्याम्पससँग सम्वद्ध छन्)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ