- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भारतले आयरल्याण्ड विरुद्धको दोस्रो तथा अन्तिम टी–२० क्रिकेट श्रृंखलामा संघर्षपूर्ण जित निकालेको छ । डब्लिनमा मंगलबार राति भएको खेलमा भारत ४ रनले विजयी भएको हो ।
यो जितसँगै भारतले दुई खेलको श्रृंखलामा दुवै खेल जितेर क्लिनस्विप गरेको छ । पहिलो खेलमा भारत ७ विकेटले विजयी भएको थियो । भारतको यो वर्षको तेस्रो श्रृंखला जित हो । यसअघि भारतले श्रीलंका र वेष्टइन्डिजलाई हराएको थियो । दक्षिण अफ्रिकासँग भने २–२ को बराबरी खेलेको थियो ।
मंगलबार रातिको खेलमा पहिले ब्याटिङ गरेको भारतले ७ विकेटको क्षतिमा २२५ रन बनायो । दीपक हुडाले ५७ बलमा १०४ रन बनाए ।
हुडा टी–२० मा शतक बनाउने चौथो भारतीय हुन् । यसअघि रोहित शर्मा, लोकेश राहुल र सुरेश रैनाले शतक बनाइसकेका छन् ।
त्यस्तै सन्जु साम्सनले ४२ बलमा ७७ रन जोडे । दोस्रो विकेटका लागि हुडा र साम्सनबीच भएको १७६ रनको साझेदारी भारतका लागि सर्वाधिक हो । यसअघि सन् २०१७ मा राहुल र रोहितले श्रीलंकाविरुद्ध १६५ रनको साझेदारी गरेका थिए ।
अन्य खेलाडीले सम्झनयोग्य रन बनाएनन् । जवाफमा आयरल्याण्डले शानदार ब्याटिङ गर्दागर्दै ४ रनले हार्न पुग्यो । कठिन चुनौतीलाई सहज रुपले खेलिरहेको आयरल्याण्डले ५ विकेटको क्षतिमा २२१ रन बनाउन सक्यो ।
कप्तान एन्डी बालबिर्नाईले ३७ बलमा ६०, पल स्टिर्लिङले १८ बलमा ४०, ह्यारि टेक्टरले २८ बलमा ३९, जर्ज डोक्रेलले १६ बलमा अविजित रहँदै ३४ तथा मार्क अडिरले १२ बलमा अविजित रहँदै २३ रन बनाए ।
हुडा प्लेयर अफ द म्याच र प्लेयर अफ द सिरिज बने । उनले पहिलो खेलमा २९ बलमा ४७ रन जोडेका थिए ।
अब १ जुलाईदेखि भारतले इङ्गल्याण्डविरुद्ध टेष्ट श्रृंखला खेल्नेछ । इङ्गल्याण्डले घरेलु मैदानमा हालै न्यूजिल्याण्डलाई ३–० ले हराएको छ ।