राज्य र निजी क्षेत्रबीचको सहकार्यले मात्र समृद्धि सम्भव छ : वरिष्ठ उपाध्यक्ष ढकाल
हाम्रा कुरा
प्रकाशित २०७९ असार २० सोमबार
847
Shares
काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार तथा निजी क्षेत्रबीचको सहकार्यले मात्र जनअपेक्षा अनुरूपको विकास र समृद्धि हासिल गर्न सम्भव भएको बताए।
चन्द्रागिरि उद्योग वाणिज्य सङ्घद्वारा सोमबार आयोजित नवनिर्वाचित स्थानीय जनप्रतिनिधिहरूलाई बधाई तथा सम्मान कार्यक्रममा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले निजी क्षेत्रसँगको सहकार्यको महत्त्वलाई बुझेर अगाडि बढ्न जनप्रतिनिधिहरूलाई आग्रह गरे।
स्थानीय सरकार र निजी क्षेत्र दुवैको साझा लक्ष्य विकास र सम्मृद्धिमार्फत जनतालाई सुखी तुल्याउने रहेको छ। त्यसैले राज्य र निजी क्षेत्रबीच बलियो साझेदारीका लागि म यहाँहरूलाई आह्वान समेत गर्दछु, उनले भने।
उनले स्थानीय निकायका जनप्रतिनिधिहरूले विकास र लगानीका लागि एक आपसमा प्रतिस्पर्धा गर्नुपर्ने बताएका छन्। ढकालले स्थानीय जनप्रतिनिधिहरूले आफ्नो स्थानीय तहमा धेरै भन्दा धेरै उद्योग व्यवसायहरू सञ्चालन गर्ने, लगानी भित्र्याउने र रोजगारी सृजना गर्ने विषयमा एक आपसमा प्रतिस्पर्धा गर्नुपर्ने बताएका छन्।
यसरी प्रतिस्पर्धा गर्दा स्थानीय निकायहरूले स्थानीयवासी हरुलाई रोजगारी सृजना गर्ने, भौतिक पूर्वाधार निर्माण हुने र साथसाथै राजश्व पनि सङ्कलन हुने उनले बताए।
उनले चन्द्रागिरि हिल्सले चन्द्रागिरिका स्थानीयहरूलाई रोजगारी दिएको, स्थानीय उत्पादनको प्रवर्द्धन गरेको र अन्य सामाजिक क्षेत्रमा सहयोग पुर्याएको बताए।