- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भारतले इङ्गल्याण्ड विरुद्धको पहिलो टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलमा घरेलु टोलीमाथि सहज जित हासिल गरेको छ । बिहीबार राति घरेलु टोली ५० रनले पराजित भयो ।
जितसँगै तीन खेलको श्रृंखलामा भारतले १–० को अग्रता लिएको छ । जितका लागि १९९ रनको लक्ष्य पछ्याएको इङ्गल्याण्ड १९.३ ओभरमा अलआउट हुँदै १४८ रनमा समेटियो ।
मोइन अलीले सर्वाधिक ३६ रन बनाए । भारतका हार्दिक पान्डेयाले सर्वाधिक ४ विकेट लिए । त्यस्तै अर्शदीप सिंह र युजभेन्द्र चहलले २–२ विकेट लिए । अर्शदीपले यसै खेलबाट डेब्यु गरेका हुन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १९८ रन बनायो ।
अलराउण्डर हार्दिकले सर्वाधिक ५१ रन बनाए । उनले ३३ बलको सामना गरेका थिए । उनी एकै खेलमा अर्धशतक तथा चार विकेट लिने पहिलो खेलाडी हुन् ।
सूर्यकुमार यादवले ३९, दीपक हुडाले ३३ तथा कप्तान रोहित शर्माले २४ रन बनाए ।
क्रिस जोर्डन र मोइन अलीले समान दुई विकेट लिए ।
यो जित इङ्गल्याण्डको भूमिमा भारतको सबैभन्दा फराकिलो जित हो । अब दोस्रो खेल शनिबार हुनेछ ।
यसअघिको पाँच खेलको टेष्ट श्रृंखला भने २–२ को बराबरीमा सकिएको थियो ।