नेकपा एसभित्र दुई धार, एमालेसँग मिल्ने नमिल्नेमा विवाद
हाम्रा कुरा
प्रकाशित २०७९ असार २८ मंगलबार
1.1k
Shares
काठमाडौं । एमालेबाट विभाजन भएको माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीभित्र दुई धार देखिएको छ । विभाजनको ११ महिना नपुग्दै एउटा धार एमालेतिर र अर्को धार माओवादीतिर नजिक हुन थालेको छ ।
‘पार्टीमा दुई धार देखियो, संघीय संसदको निर्वाचन अघि नै ठूलो संख्यामा एमाले फर्कनेको पंक्ति एकातिर छ भने अर्कोतिर माओवादीसँग सहकार्य गर्नुपर्छ भन्ने पंक्ति देखिएको छ । यसले गर्दा पार्टी निर्माण भन्दा पनि को कतातिर भन्ने पंक्तिले माधव नेपाललाई कमजोर पार्दैछ’, एकीकृत समाजवादी पार्टीका एक नेताले भने ।
उनका अनुसार पार्टीको मूल नीति संविधान र लोकतन्त्रको रक्षा तथा विकास र समृद्धिका लागि अहिलेकै पाँचदलीय गठबन्धनलाई निरन्तरता दिनुपर्छ भन्ने छ । तर एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल भने अबको निर्वाचनमा वाम शक्तिबीच सहकार्य र ध्रुवीकरणका पक्षमा देखिएपछि माधव नेपाल चेपुवामा परेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालभित्र प्रतिशोधपूर्ण आरोप–प्रत्यारोप जारी छ । तर ओली र खनालबीच एक–अर्काप्रति नकारात्मक टिप्पणी निकै कम छ । एस पार्टीमा एमालेकै पंक्ति भएकाले अबको निर्वाचनमा एमालेसँग मिलेर जानुपर्ने धारणा अधिकांश नेताहरुको रहेको छ ।
खासगरी पूर्व मन्त्रीहरु किसान श्रेष्ठ र रामकुमारी झाँक्रीले एमालेमा जान सकिने धारणा राख्दै आएका छन् भने विरोध खतिवडा कुनै पनि हालतमा एमालेसँग मिल्नु हुँदैन भन्ने पक्षमा छन् ।
त्यस्तै प्रेम आलेको स्वाभाव भने एमाले र माओवादीप्रति मिल्ने खालको छैन । उनी कांग्रेससँग बढी नजिक रहेका छन् । उनीहरु दिनहुँजसो बानेश्वरको इन्द्रेणीमा भेटघाट गर्ने र आन्तरिक छलफलमा समेत सहभागी छन् ।
एमालेसँगको सहकार्य गर्ने वातावरण भने सम्मानित नेता झलनाथ खनालले बनाएका हुन् । गत ४ असारमा इलामको जिल्ला समन्वय समिति निर्वाचनमा एमाले र एकीकृत समाजवादीबीच तालमेल भएको थियो ।
एकीकृत समाजवादीका सम्मानित नेता खनालको गृहजिल्लामा जिल्ला समन्वय समिति प्रमुखमा एमालेका जयप्रकाश राई र उपप्रमुखमा एकीकृत समाजवादीकी चित्रकला बराइली निर्वाचित भएका थिए ।
स्थानीय तह निर्वाचनमा कांग्रेसले धोका दिएको गुनासो गर्दै आएका नेता खनालले समन्वय समिति निर्वाचनमा एमालेसँग तालमेल गरेका थिए । कांग्रेस नेताहरूले खनालले आफ्नै जिल्लामा गठबन्धन तोडेको र आफूहरूलाई धोका दिएको आरोप लगाएका छन् ।
त्यसअघि सूर्योदय नगरपालिकाको कार्यपालिका गठनमा पनि एमाले र एकीकृत समाजवादीबीच तालमेल भएको थियो । ‘एमालेसँग सहकार्य गर्नुपर्छ भन्ने वातावरण खनालले निर्माण गरिरहनु भएको छ’, स्रोतले भन्यो ।
स्रोतका अनुसार एमालेका दोस्रो तहका नेताले खनालसँग धेरै पटक संवाद पनि गरिसकेका छन् । ‘एमाले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले खनालसँग कुराकानी गरेको छन्’, स्रोतले भन्यो ।
गत शुक्रबारको संसद् बैठकबाट खनाल बाहिरिँदै गर्दा बैठकस्थल प्रवेशका लागि ओली संसद् भवन परिसरमा गाडीबाट ओर्लिएका थिए । त्यही क्रममा उनीहरूबीच करिब दुई मिनेट वार्ता भएको थियो ।
खनाल र ओलीबीच धेरै लामो समयपछि त्यसरी जम्काभेट भएको थियो । त्यस क्रममा उनीहरुबीच सामान्य पारिवारिक कुराकानीसमेत भएको थियो । संस्थागत रूपमा एमाले र एकीकृत समाजवादीबीच तिक्ततापूर्ण सम्बन्ध छ ।
तर, माथिल्ला घटनाक्रमले भने ओली र खनाल नजिकिँदै गएको देखाउँछ । यतिसम्म कि ओली र खनालबीच औपचारिक भेटवार्ताको गृहकार्य भइरहेको छ । स्रोतका अनुसार आगामी निर्वाचनमा सहकार्यलाई लिएर ओली र खनालबीच अनौपचारिक रूपमा केही चरण संवाद पनि भएका छन् ।
एमाले र एकीकृत समाजवादीका कार्यकर्ता तहबीच कुनै समस्या नरहे पनि दुवै पार्टीका नेतृत्व तहका बीच भने तिक्ततापूर्ण सम्बन्ध छ । दुवै पार्टीका शीर्ष नेताहरूले सार्वजनिक कार्यक्रममार्फत आपसमा आलोचना गर्दै आएका छन् ।
स्थानीय तह निर्वाचनमा एमाले र एकीकृत समाजवादीबीच इलाम, डोल्पा, हुम्लालगायत केही जिल्लामा दुवै पार्टीको केन्द्रीय नीति विपरीत सहकार्यसमेत भएको थियो । यो विषय एस पार्टीका अध्यक्ष नेपाललाई भने मन परेको छैन ।
उनी भने कुनै पनि हालतमा एमालेसँग सहकार्य गर्ने पक्षमा छैनन । ‘एमाले अध्यक्ष ओलीसँग सहकार्य गर्न चाहनुहुन्न जसले गर्दा तत्कालै पार्टी विलयी हुन्छ भन्ने मलाई लाग्दैन’, समाजवादीका एक नेताले भने ।
सम्मानित नेता खनालले पार्टीको केन्द्रीय सचिवालय, स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय परिषद् बैठकमा एमालेसँगको सम्भावित सहकार्यको ढोका खुला राख्नुपर्ने धारणा राखेका थिए ।
उनले ओली ठीक नभए पनि एमालेका अधिकांश कार्यकर्ता समाजवादका पक्षमा रहेकाले तल्लो तहमा संघ र प्रदेशको चुनावमा सहकार्यको ढोका खुला राख्नुपर्ने धारणा राखेका थिए । यसले गर्दा पनि अहिले खनाल पक्षीय नेताहरु एमालेसँगको सहकार्यलाई महत्व दिइरहेका छन् ।
यता चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओ नेपाल भ्रमणमा रहेका छन् । उनले एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डलाई भेटेर वामगठबन्धन गर्न दबाब दिइसकेका छन् । एस पार्टीका नेता खनाल पनि चीनसँग नजिक सम्बन्ध राख्ने भएकाले पनि अहिले परिस्थिति अनुकुल बन्दै गएको आशंका गरिएको छ ।