चीन–पाकिस्तान आर्थिक कोरिडोर अफगानिस्तानसम्म विस्तार गर्ने योजना
एएनआई,
प्रकाशित २०७९ साउन ३ मंगलबार
1k
Shares
इस्लामाबाद। चीन–पाकिस्तान आर्थिक कोरिडोर (सिपिइसी) लाई अफगानिस्तानसम्म विस्तार गर्ने बारेमा पाकिस्तान र चीनले विचार विमर्श थालेका छन्।
पाकिस्तानका विदेश सचिव सोहेल महमूद र अफगानिस्तानका लागि चीनका विशेष दूत यु सियाओयोङबीचको भेटवार्तामा क्षेत्रीय सम्पर्क सञ्जाल विस्तारका साथै आर्थिक विकासका निम्ति सिपिइसीलाई अफगानिस्तानसम्म विस्तार गर्ने बारेमा विचार आदानप्रदान गरेका थिए।
सिपिइसी चीनको विशाल परियोजना ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ को एउटा भाग हो। यो परियोजनाको मुख्य उद्देश्य दक्षिण–पूर्वी एसियाका तटीय देशमा ऐतिहासिक व्यापार मार्गलाई पुनः सञ्चालन गर्ने हो। विश्लेषकहरू चीन र पाकिस्तानको यो योजना भारतको लागि सुरक्षा चिन्ताको विषय हुन सक्ने टिप्पणी गरेका छन्।
दुवै पक्षले अफगानिस्तानको राजनीतिक एवम् सुरक्षा अवस्था, अफगानिस्तानलाई पाकिस्तान र चीनले गरेको मानवीय सहायता र आपसी हितका अन्य विषयमा विचार विमर्श भएको पाकिस्तानी विदेश मन्त्रालयले जनाएको छ।
सन् २०१५ मा चीनले ४६ अर्ब अमेरिकी डलरको उक्त परियोजना घोषणा गरेको हो। परियोजनाले अरब सागरमा रहेको बलुचिस्तानको पाकिस्तानको दक्षिणी ग्वादर बन्दरगाहलाई चीनको पश्चिमी सिनजियाङ क्षेत्रसँग जोड्ने छ। परियोजनामा चीन र मध्यपूर्वका मुलुकमा सम्पर्क विस्तारका साथै सडक, रेल र तेलका पाइपलाइन सञ्जाललाई समावेश गरिएको छ।