arrow

एक सय छत्तीसौं वर्षकाे उमेरमा शिवपुरी बाबासँग बेनेटले गरेको संवाद

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ७ शनिबार
Shivapuri-baba-sambad.jpg

काठमाडौं । शिवपुरी बाबा आफ्नो भौतिक शरीरको एक सय छत्तीसौं उमेरमा हिंडदै थिए । बाबा, जीवनका आखिरी दिनहरूमा पशुपतिनाथ मन्दिरदेखि दक्षिण पूर्व र त्रिभुवन विमानस्थलको पश्चिमी भागसँग जोडिएको, ध्रुवस्थलीका आफ्ना कुटीमा बस्थे । साथमा सेवक माधव तिमिल्सीना पनि थिए ।

बेलायती नागरिक जोन जी. बेनेट दोस्रो पटक सन् १९६२ मा आफ्ना नमेटिएका बाँकी जिज्ञासा लिएर पुनः बाबालाई भेट्न आए । उनले पहिलो पटक १९४० को दशकमा शिवपुरी बाबाको बारेमा सुनेका थिए । अघिल्ली वर्ष सन् १९६१ मा उनी पहिलो पटक आध्यात्मिक जिज्ञासा लिएर बाबालाई भेट्न आएका थिए । दोस्रो पटक आउँदा दुई महिला पनि उनीसँगै साथमा आएका थिए ।

अङ्ग्रेजी महिना अप्रिलमा यहाँ आइपुग्दा वसन्तऋ्तुको वेला थियो । ध्रुबस्थली जङ्गलका हॉगाहाँगामा बसेर कोकिल कण्ठमा धक फुकाएर चराचुरुङ्गीले गीतको उत्सव मनाइरहेको त्यो अवसरमा ती दुई महिला र बेनेटले बाबासँगै लामो कुराकानी र आफ्ना जिज्ञासा राखेका थिए । उनीहरूले आफ्ना मात्र नभई उनका साथीभाइले सोधी पठाएका प्रश्न पनि बाबासमक्ष राखेका थिए । बाबाले सबै जिज्ञासा र प्रश्नका जवाफ उत्साहका साथ दिए । 

गुर्जिएफको शिक्षाअनुरूप लतिहानको अभ्यास गर्दै गरेका ती दुई दिदीबहिनीमध्ये एक जना विवाहको केही वर्षपछि नै विधवा भएकी थिइन भने अर्की अविवाहिता । विभिन्न धर्म र संस्कृति बुझ्न उनीहरूले विभिन्न देश विदेशका भ्रमण गरेका थिए । बाबासमक्ष उनीहरूले आफ्नो इच्छा अनुसार प्रश्न राखेका थिए ।

बेनेट शिवपुरी बाबाको शिक्षाको जीवन्तता र सरलताबाट प्रभावित भएर पछि बाबालाई आफ्नो शिक्षकको रूपमा आफ्नो पुस्तकमा उल्लेख गरेका छन्।

शिवपुरी बाबाको जीवनी बेनेट लङ पिल्ग्रिमेज - द लाइफ एण्ड टीचिंग अफ द शिवपुरी बाबा तयार गर्दाको समय बाबाको १९६३ मा मृत्यु भयो । बेनेटले पछि  लङ पिल्ग्रिमेज - द लाइफ एण्ड टीचिंग अफ द शिवपुरी बाबाको अङ्ग्रेजी भर्सन प्रकाशित गरे ।  

शिवपुरी बाबासमक्ष तीनै बेनेट र दुई महिलाले राखेका जिज्ञासा र बाबाको जवाफको विष्णुप्रसाद तिमिल्सीनाले 'शिवपुरी बाबा संवाद' पुस्तक तयार गरेका छन् ।     

प्रस्तुत छ पुस्तका केही अंश
बेनेट: शिवपुरी बाबाजी, मसँग आउनु भएका दुई जना महिलाहरूले हजुरसँग केही प्रश्न गर्न खोज्न भएको छ । सायद उहाँहरूको शङ्का र कठिनाइहरू हज़ूरबाट समाधान हुन्छ होला ।

बाबा : हस् ।

महिला: बाबाजी, हामी दुई दिदीबहिनी हौँ। म कान्छी र उनी जेठी । हामी हाम्रा जीवनका बारेमा बढी जान्न र थाहा पाउन चाहन्छौँ। हामी यो संसारमा किन आएका हौँ ? वर्तमान अवस्थामा हामीले यसबारे कसरी बुझ्ने हो ? म आफ्नो लामो जीवनको विगत हेर्न चाहन्न । म तरूनी पनि छैन, हजुरले देखिभएकै छ । मेरो जीवनमा अनेक घटनाहरू आइपरे । मैले सुबुद व्यापक लगायत अनेक गुरुहरूबाट मद्दत पनि पाएँ । तर आफ्नो प्रश्नको चित्तबुझ्दो जबाफ पाउन भने सकिनँ । मैले आफ्नो कर्तव्य पनि बुझ्न सकिनँ । हामी दुई दिदीबहिनीको विचार पनि फरक छ । मेरो एक जना पुरुषसँग भेट भयो । उनीसँग विवाह पनि भयो । तर छोटो समयमा नै उनको मृत्यु भयो । जीवनबारे मैले अहिलेसम्म केही बुझेको पनि छैन । मलाई लाग्छ, मृत्युका बारेमा अहिले बुझ्न पाए मलाई धेरै मद्दत पुग्छ ।

बेनेट: बाबा, हजुरले बुझेको हो त ?

बाबा : हो

महिला :  अहिले हामी सुबुदको लतिहान पद्धतिको अभ्यास गर्दैछौ तैपनि अझ पूर्वमा भन्दा पश्चिममा हामी यो संसारमा आएको रहस्यबारे बुझ्न सकेका छौनौं भन्ने मलाई लाग्या छ । 

बाबा : (आफ्नो दाहिने हातमा एउटा फूल देखाउँदै भन्नुहुन्छ ) तपाईँले देख्नुभएको यो फूलमा बास्ना छ? म तपाईँलाई यसको बास्ना बताउन सक्छु त ?

महिला: अहँ ।

बाबा : म बताउनै सक्तिनँ । मैले जति बताए पनि तपाई यसको सुगन्ध थाहा पाउन सक्नुहुन्न । तर यही फूललाई मैले तपाईँको हातमा दिएर तपाईँले सुँघूनुभयों भर्ने तपाईँले बास्ना थाहा पाउन सक्नुहुन्छ होइन र ? त्यसै गरी म तपाईँको प्रश्नको उत्तर दिनै सक्दिन । तपाईँको प्रश्नको उत्तर परमात्माले मात्र दिन सक्नुहुन्छ । पहिले उहाँको दर्शन गर्नुस् । हरेक रहस्यको समाधान पाउन सक्नहुन्छ । परमात्मा दर्शन हुनु अधि मैले जति जबाफ दिए पनि तपाईँको समस्या सुल्झन सक्तैन । पहिलो कुरा हो परमात्मामा पुग्नुस् । उहाँको दर्शन पाएपछि सबै थाहा पाउनु हुन्छ । 

महिला: हामीले कसरी परमात्मा दर्शन पाउन सक्छौँ त ?

बाबा: परमात्मा कै चिन्तन गनुस् । त्यस बाहेक मनमा भएका विचारहरू हटाइदिनुस्, परमात्मा दर्शन पाउनुहुन्छ ।

महिला: त्यो त गाह्रो छ नि ?

बाबा: हो । गाह्रो छ । मलाई पनि थाहा छ तर असम्भव भने छैन । असम्भव भने छैन । यो गाह्रो छ मलाई पनि थाहा छ यस्ता कठिनाइहरूलाई तपाई हटाउन सक्नुहुन्छ भने जीवनका कठिनाइहरू तपाई हटाउन सक्नूहन्छ । अपरेसन शुरु गर्न लाग्दा के होला कसो होला भनेर तपाईँलाई केही अनौठो भाव उठ्ला । तर जब अपरेसन सकिन्छ अनि त सबै कठिनाइहरू त समाप्त भई हाल्छ नि। परमात्माको दर्शन नपाउन्जेल हामी केही पनि थाहा पाउँदैनौ । सूर्य नउदाउन्जेल हामी जमिनमा केही देख् सक्दैनौ। तर जब सूर्य उदाउँछ हामी जमिनमा भएका वस्तु देख्न सक्छौ । त्यस्तै परमात्माको उपस्थिति पनि हो । जब हामी परमात्माको ज्ञान प्राप्त गर्छौँ तब सबै करा थाहा पाउँछौँ । त्यसभन्दा अघि जति बयान गरे पनि पार लाग्दैन ।

म भन्छु यो फूलको सुगन्ध मीठो छ। तर मीठो सुगन्ध भएका अनेकौँ फूलहरू संसारमा छन् । फूलको कुन किसिमको सुगन्ध रहेछ भन्ने कुरा तपाईँले नस्घुञ्जेल थाहा पाउन सक्नुहुन्न । जे कुरा पनि मानिसले आफै अनुभव गर्नुपर्छ । अरूको अनुभव काम लाग्दैन । अनुभव बताउनै सकिन्न मनमा परमात्माको मात्र विचार राख्नोस् । अरू विचार हटाउनुस् । तपाई आफू अगाडि उहाँको समाधान हुन्छ । यो पहिलो काम हो ।

अनि तपाई अनुशासित जीवनमा नबसीकन परमात्माको ध्यान गर्न सक्नुहुन्न । तपाईँको शरीर छ, शरीरलाई के के चाहिन्छ भनेर तपाईँले थाहा पाउनुपर्छ । तपाईँले सुत्नै पर्छ, सुन्नै पर्छ, हेर्न नै पर्छ, स्वाद लिनु नै पर्छ, थुक्नु नै पर्छ, श्वास फेर्नु नै पर्छ । यसरी हजारौँ क्रियाकलापहरू शरीरले गर्नुपर्छ । यी सबै क्रियाकलाप हरूलाई अधीनमा राख्नुपर्छ । यो पहिलो कर्तव्य हो । 

अर्को दोस्रो कर्तव्य हो, हामीले गर्नुपर्ने घर, समाज, राष्ट्रप्रतिको जिम्मेवारी । हामीले के के कर्तव्य गर्नुपर्छ भन्ने पत्ता लगाउनुस् । अर्को तेस्रो कर्तव्य पनि छ । धन नभई हामी यी कर्तव्यहरू केही पनि गर्न सक्तैनौ । यसका लागि एउटा व्यवसाय अपनाउनु पर्ने हुन्छ । हामी ले काम गर्नपर्छ  । यी कर्तव्यहरू पत्ता लगाएर कुनै पनि गल्ती नगरी सम्पन्न गर्नुपर्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ