arrow

म्याग्दीका ७७० घरधुरीमा विद्युत् सुविधा विस्तार

logo
रासस
प्रकाशित २०७९ साउन १० मंगलबार
Bidhut.jpg

म्याग्दी । म्याग्दीमा पछिल्लो एक वर्षको अवधिमा ७७० घरधुरीमा केन्द्रीय प्रसारण लाइनको विद्युत सुविधा विस्तार भएको छ । नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रले आर्थिक वर्ष २०७८/७९ मा जिल्लाका विभिन्न ठाउँमा सो संख्यामा उपभोक्ता थपिएका जनाएको छ ।

केन्द्रका प्रमुख प्रशान्त झाले थप ११ किलोमिटर ११ केभी र ४००-२०० भोल्टेजको ९५ किलोमिटर शाखा लाइन विस्तार गरेर विद्युत् वितरण गरेको जानकारी दिए । रघुगङ्गाको चिमखोला, दरमिजा, घ्याँसीखर्क, मङ्गलाको अर्मन, गहते, छिसवाङ, मुसलबारी, मालिकाको घरिथोक, मगरदाङ, पन्थोक, जुग्जा, ओखरबोट, निस्कोट, कोदालीवाङ, धौलागिरिको मुना, फलियागाउँ, दर, सोलवाङ, खारालगायतका बस्तीमा नयाँ लाइन विस्तार भएको हो ।

२० वटा नयाँ ट्रान्सफर्मर जडान र बाबियाचौरलगायत केही ठाउँमा वितरण र शाखा लाइनको नाङ्गो हटाएर कालो तार राखिएको छ । उज्यालोका लागि सोलार, मट्टितेलको टुकी, दियालो र सिट्ठामा निर्भर स्थानीयवासीमा बिजुली बलेपछि खुसियाली छाएको छ । घरायसी काम, विद्यार्थीलाई अध्ययन गर्न सहज हुनुका साथै उद्यम व्यवसाय सञ्चालन गर्ने अवसर सिर्जना भएको छ । 

यस वर्ष थपिएकासहित म्याग्दी वितरण केन्द्रअन्तर्गत २० हजार ५०५ विद्युतका ग्राहक पुगेका छन् । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा केन्द्रअन्तर्गत १९ हजार ७३४ उपभोक्ता थिए । पर्वतको जलजला गाउँपालिकाको मल्लाज, वारीबेनी क्षेत्रमा पनि म्याग्दी वितरण केन्द्रअन्तर्गतको मिलनचोक सवस्टेशनमार्फत विद्युत् वितरण हुँदै आएको छ । गत वर्ष म्याग्दी वितरण केन्द्रमा नयाँ लाइन विस्तारका लागि विनियोजन भएको रु चार करोड ७५ बजेटबाट ठेक्का लगाइएको एक वटा योजनाको ६० प्रतिशत प्रगति र चार वटाको ठेक्का सम्झौता भएको केन्द्रका प्रमुख झाले बताए । 

लाइन विस्तार र मर्मत सुधारका लागि आव २०७६/७७ का पाँचमध्ये चार र २०७७/७८ का छ वटामध्ये पाँचवटा ठेक्काको काम सकिएको छ । बाँकी एक÷एक वटा ठेक्काको काम यही साउन महिनामा सकिदैछन् । यो आवमा मालिकाको रुम, स्याउलुङ, औल, रघुगङ्गाको पात्लेखर्क, धौलागिरिको मराङ, अन्नपूर्णको दोवामा छुटेका बस्तीमा लाइन विस्तार र विद्युत् आपूर्ति सुधार गर्न नयाँ ट्रान्सफर्मर राख्ने योजना छ ।

गत आवमा वितरण केन्द्रमार्फत एक करोड ३६ लाख ८२ हजार ३४९.१४ युनिट विद्युत खपत भएको छ । रु १४ करोड ५७ लाख ५५ हजार ७४१ मूल्य बराबरको विद्युत् खपत भएको हो । बक्यौता र अग्रिमसहित रु १४ करोड ८३ लाख १३ हजार ८७६ महशुल सङ्कलन भएकोमा रु दुई करोड ९९ लाख ३९ हजार ६७३.०६ अनलाइनमार्फत प्राप्त भएको थियो । गत वर्ष समयमा महशुल नबुझाउने ३६८ उपभोक्ताको लाइन काटेर रु ४६ लाख ८३ हजार २७३.७३ बक्यौता असुल गरिएको छ । अघिल्लो आव २०७७/७८ मा ५३ जना ग्रहाकको लाइन काटेर रु २३ लाख ९९ हजार ६८६ बक्यौता अशुल भएको थियो ।

कालोसूचीमा राखिएका पाँच जना ग्राहकबाट रु ३९ हजार ३२५ महशुल असुल भएको छ । तारबाट हुक गरेर विद्युत् चोरी गर्ने पाँच जनालाई रु एक लाख ६२ हजार ८६५ जरिवाना तिराइएको छ । छ महिनासम्म महशुल नबुझाउनेलाई कालोसूचीमा राखिने प्राधिकरणले जनाएको छ ।

विद्युत् आपूर्तिलाई गुणस्तरीय र नियमित बनाउन नयाँ विस्तार हुने मुख्य, शाखा र वितरण लाइनको तार कालो राख्न थालिएको छ । बजार र जोखिमयुक्त क्षेत्रमा पनि नाङ्गो तार विस्थापित गर्न थालिएको छ । अनलाइनबाट महशुल भुक्तानी गर्न, फोनमार्फत र सामाजिक सञ्जालमार्फत मिटर रिडिङ गर्ने सुविधा दिएको केन्द्रका प्रमुख झाले बताए । ग्रामीण क्षेत्रका उपभोक्ताले घरमा नआइ अनुमानको भरमा मिटर रिडिङ गरिँदा कुनै समय कम र कुनै महिना अस्वभाविक महशुलको बिल आउने गरेको गुनासो गरेका छन् ।



नयाँ