arrow

वृहत्तर परिषदका पूर्व अध्यक्ष सिंह गाडी, नगद र जिन्सी नबुझाइ फरार

logo
निरञ्जनकुमार साह, 
प्रकाशित २०७९ साउन १० मंगलबार
salikram-singh-brihattar-janakpurdham.jpg

जनकपुर । वृहत्तर जनकपुरधाम क्षेत्र विकास परिषदका पूर्व अध्यक्ष शालिग्राम सिंह गाडी, नगद र जिन्सी बरबुझारत बिना फरार भएका छन् । सिंहको कार्यकाल सम्पन्न भएको सात महिना बित्न लाग्दासमेत अध्यक्षका रुपमा सुविधा बापत पाएको गाडी, नगद र जिन्सी अहिलेसम्म बरबुझारत गरेका छैनन् । 

२०७४ साल पुस २८ मा अध्यक्ष नियुक्त भएका सिंहको चार वर्षे कार्यकाल गत पुस २७ गते सकिएपछि पटक पटक पत्राचार गर्दासमेत उनले गाडी फिर्ता गर्न मानेका छैनन् । सिंहलाई गत माघ १० गते नै गाडी फिर्ता गर्न पहिलो पत्राचार गरिएको थियो । तर उनले सुनेनन् । 

त्यसपछि २०७८ माघ १८ गते पुनः अर्को पत्र काटिएको छ । यस पत्रमा भने गाडी फिर्ता गर्न मात्र भनिएको छैन परिषद मातहतको यात्री निवासको पहिलो तल्लाको कोठा नं २०१ र २०२ गरी दुईवटा कोठा ५ सय ४३ दिनसम्म व्यक्तिगत ताल्चा हानेर प्रयोग गरेको र दोस्रो तल्लामा रहेको नव निर्मित २ वटा स्वीट कोठाहरु ३६५ दिनसम्म निरन्तर व्यक्तिगत प्रजोजनका लागि ताल्चा हानेर प्रयोग गरे बापतको रु ११ लाख ४४ हजार ८ सय सहित साँचो बुझाउन भनिएको थियो । 

हुनत उनले ती कोठाहरु प्रयोग गरे बापत कुल २२ लाख ८९ हजार ६ सय बुझाउनु पर्ने थियो । तर २०७६ बैशाख १ गतेको बैठकले वृहत्तरका पदाधिकारीहरुले यात्री निवासको कोठा प्रयोग गर्दा पचास प्रतिशत छुट दिने भनी निर्णय भएकाले मात्र ११ लाख ४४ हजार ८ सय बुझाउन भनिएको हो ।

स्रोतका अनुसार कुर्सी सहितका धेरै समानहरुसमेत सिंहले नै प्रयोग गर्ने गरेको र अहिलेसम्म बरबुझारत गर्न मानेका छैनन् । 

२०७४ साल फागुन २ गते खानेपानी तथा सरसफाई मन्त्री स्तरीय निर्णयबाट मन्त्रालयले सिंहका लागि बा २ झ ३०५३ नं। को ईसुजु भ्यान उपलब्ध गराएको थियो । सिंहलाई वृहत्तरले गत २०७९ असार २० गते काटेको पत्रमा समेत उनी गाडी, जिन्सी र कागजातहरु समेत नबुझाएको भन्दै फिर्ता गर्न ताकेता गरिएको देखिन्छ ।

वार्षिक २ करोड कर्मचारीले खाने वृहत्तरमा विकास बजेट १ करोड मात्र
वृहत्तरको सम्पती  निवर्तमान अध्यक्ष सिंहले बरबुझारत नगरेको सम्बन्धमा सोझैपछि भने परिषदका कार्यकारी निर्देशक बलराम ठाकुरले आफू अध्यक्षसहित सोही विषयमा बुझ्न काठमाडौं आएको जानकारी दिए ।

ठाकुरका अनुसार निवर्तमान अध्यक्ष सिंहले गाडी बुझाउँछु तर गाडीमा आफ्नो लाखौं खर्च भएकाले आफूले पाउनु पर्ने तर्कराखेको बताए ।

कार्यकाल सम्पन्न भएको करिब सात महिनासम्म अनधिकृत रुपमा सरकारी गाडी र जिन्सी प्रयोग गरेका सिंहको करनीले समेत सरकारी कार्यालय र सम्पतीको दुरुपयोग दर्शाइरहेको देखिन्छ ।

 जनकपुरधाम र मिथिला क्षेत्रको धार्मिक, पर्यटकीय, कला, संस्कृति सहितको वृहत विकास र संरक्षणका लागि गठन भएको वृहत्तरको अवस्था आफैं दयनीय रहेको छ । 

कार्यालय सञ्चालनमा वार्षिक २ करोड खर्च भइरहेको वृहत्तरले वार्षिक १ करोडसम्म मात्र विकासे बजेट पाउने गरेको नव नियुक्त अध्यक्ष शितल साहले बताए ।

त्यसमा पनि धेरै बजेट फ्रिज नै भइरहेको छ । उनले परिषदको नाम वृहत्तर राखिएको भए पनि बजेट संकुचित रहेको बताउँछन् । यस्ता संस्थाहरु नाम मात्रको र कार्यकर्ता भर्ती केन्द्रका रुपमा प्रयोग भइरहेको प्रस्ट हुन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ