- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
लमजुङ । हिमाली जिल्ला मनाङबाट कम्तीमा २३ करोड ५५ लाख रुपैयाँ बराबरको यार्चागुम्बु बिक्री भएको छ । मनाङमा बाह्य र स्थानीयले संकलन गरेर व्यापारीलाई यार्चागुम्बु बिक्री गरिन्छ ।
आर्थिक वर्ष ०७८–७९ मा मनाङमा व्यापारीले सरकारलाई प्रतिकिलो ३१ हजार रुपैयाँका दरले राजस्व बुझाउँछन् । यार्साबाट मात्रै ३६ लाख २९ हजार ५ सय १ रुपैयाँ राजस्व संकलन भएको छ ।
संकलकले व्यापारीलाई प्रतिकिलो यार्सा नराम्रो १५ लाखदेखि १६ लाख रुपैयाँसम्म र राम्रोको २५ लाखदेखि ३० लाख रुपैयाँसम्म बिक्री गर्छन् । व्यापारी यार्सागुम्बा संकलनस्थलमै पुग्छन् । धादिङको रि–गाउँका एक्का तामाङका अनुसार व्यापारीले प्रतियार्सा ४ सयदेखि ५ सय रुपैयाँमा संकलनस्थलमै किन्छन् । एक किलोमा ठूलो मात्राका ३ हजार २ सय हाराहारीका यार्सा अट्ने उनले बताए ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका प्रमुख लेखनाथ गौतमले काठमाडौं लगेर चिनियाँ व्यापारीलाई प्रतिकिलो यार्सा ५० लाख रुपैयाँसम्म बिक्री गर्ने जानकारी आएको बताए ।
एक्यापद्वारा गठित संरक्षण क्षेत्र व्यवस्थापन समितिले सेवा दस्तुरबापत प्रतिकिलो यार्साको १० हजार रुपैयाँ लिने गरेका हुन् । सरकारलाई तिर्ने राजस्व भने उनीहरूले एक्यापमार्फत डिभिजन वन कार्यालयमा जम्मा गर्छन् ।
वित्तीय आयोगको खातामा जम्मा हुने उक्त राजस्व संघीय सरकारले ५० प्रतिशत, प्रदेश सरकारले २५ प्रतिशत र स्थानीय तहले २५ प्रतिशत पाउँछन् ।
एक्यापका अनुसार मनाङमा गत वर्ष कुल यार्सागुम्बा ४० दशमलव ५ किलोग्राम संकलन भएको थियो । यसबाट १३ लाख ९७ हजार २ सय ५० रुपैयाँ राजस्व संकलन भएको थियो ।