arrow

राष्ट्रपतिले नागरिकता विधेयकलाई खारेज गर्नुपर्छ : सीपी मैनाली

भारत आवातजावतको लागि पनि सहज भिसाको व्यवस्था गरिनुपर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २३ सोमबार
cp-mainali-1.jpg.jpeg

काठमाडौं। नेकपा मालेका महासचिव तथा पूर्व उपप्रधानमन्त्री सीपी मैनालीले नागरिकता विधेयक अहिलेको राज्य व्यवस्थाविपरित भएको टिप्पणी गरेका छन‍ । चुनावको लागि नागरिकता विधेयकलाई फास्ट-ट्रयाकमा लगेर पारित गरिएको उनको आरोप छ । 

नागरिकता अध्ययन कार्यदलमा रहेका मैनालीले नागरिकता विधेयक प्रमाणीकरण नगरी राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गर्नुपर्ने बताए । उनले भने,‘पाँच दलको गठबन्धनलाई विदेशमा भोट हालेर जिताउने गलत मनासयले ल्याइएको हो । यसमा राष्ट्रपतिले विचार गर्नुपर्छ ।’ 

धेरै अधिकार राष्ट्रपतिलाई भएको भन्दै मैनालीले कानुनको सदुपयोग गरेर राष्ट्रपतिले यो विधेयकलाई खारेज गर्नुपर्ने धारणा राखे । उनले वैवाहिक आधारले नागरिकता पाउने हरेक देशमा व्यवस्था भएपनि नेपालमा आउनेवित्तिकै नागरिकता दिने व्यवस्था देशको हितविपरित भएको तर्क गरे । 

उनले भने,‘हाम्रा चेलीहरुले विदेशमा नागरिकता पाउन धेरै वर्ष समय लाग्ने गरेको छ, तर हाम्रोमा आउने बुहारीहरुलाई चाहीँ तुरुन्तै दिन पर्ने ?’

नेपालको नागरिकता विवादको दीगो समाधानको लागि नेपाल-भारत सीमालाई नियमन र व्यवस्थापन गर्न अपरिहार्य रहेको उनको भनाई थियो । भारत आवातजावतको लागि पनि सहज भिसाको व्यवस्था गरिनुपर्ने उनको भनाई छ । 

अध्ययन कार्यदलका सह-संयोजक नारायण शर्माले नागरिकता विधेयकलाई चरम राष्ट्रघाती विधेयकको संज्ञा दिएका हुन् । उनले यो विधेयकले देशको अस्तित्व नै खतरामा जाने उनको भनाई थियो । देशभक्त नागरिकको हैसियतले आफुहरुले यो विधेयकविरुद्ध अभियान नै चलाएको बताए । 

अध्ययन कार्यदलले नेपालको जन्मसिद्ध बाबु-आमाले नागरिकता प्राप्त गरिसकेपछि मात्र नेपालमा जन्म भई नेपालमा नै स्थायी बसोबास गरेका सन्तानहरुले मात्र नागरिकता पाउने हक हुने जनाएको छ । हकै नभएकाले पनि नागरिकता पाउने गरी ल्याइएको विधेयक राष्ट्रघाती भएको कार्यदलको ठहर छ । 

कार्यदलले सर्वोच्च अदालतले खारेज गरेको अध्यादेशलाई हुबहु नै विधेयकको नाम दिई प्रस्तुत र पारित गर्दा सर्वोच्चको आदेश समेत अवज्ञा र अपमान भएको जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ