राष्ट्रपतिले नागरिकता विधेयकलाई खारेज गर्नुपर्छ : सीपी मैनाली
भारत आवातजावतको लागि पनि सहज भिसाको व्यवस्था गरिनुपर्ने
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २३ सोमबार
1.3k
Shares
काठमाडौं। नेकपा मालेका महासचिव तथा पूर्व उपप्रधानमन्त्री सीपी मैनालीले नागरिकता विधेयक अहिलेको राज्य व्यवस्थाविपरित भएको टिप्पणी गरेका छन । चुनावको लागि नागरिकता विधेयकलाई फास्ट-ट्रयाकमा लगेर पारित गरिएको उनको आरोप छ ।
नागरिकता अध्ययन कार्यदलमा रहेका मैनालीले नागरिकता विधेयक प्रमाणीकरण नगरी राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गर्नुपर्ने बताए । उनले भने,‘पाँच दलको गठबन्धनलाई विदेशमा भोट हालेर जिताउने गलत मनासयले ल्याइएको हो । यसमा राष्ट्रपतिले विचार गर्नुपर्छ ।’
धेरै अधिकार राष्ट्रपतिलाई भएको भन्दै मैनालीले कानुनको सदुपयोग गरेर राष्ट्रपतिले यो विधेयकलाई खारेज गर्नुपर्ने धारणा राखे । उनले वैवाहिक आधारले नागरिकता पाउने हरेक देशमा व्यवस्था भएपनि नेपालमा आउनेवित्तिकै नागरिकता दिने व्यवस्था देशको हितविपरित भएको तर्क गरे ।
उनले भने,‘हाम्रा चेलीहरुले विदेशमा नागरिकता पाउन धेरै वर्ष समय लाग्ने गरेको छ, तर हाम्रोमा आउने बुहारीहरुलाई चाहीँ तुरुन्तै दिन पर्ने ?’
नेपालको नागरिकता विवादको दीगो समाधानको लागि नेपाल-भारत सीमालाई नियमन र व्यवस्थापन गर्न अपरिहार्य रहेको उनको भनाई थियो । भारत आवातजावतको लागि पनि सहज भिसाको व्यवस्था गरिनुपर्ने उनको भनाई छ ।
अध्ययन कार्यदलका सह-संयोजक नारायण शर्माले नागरिकता विधेयकलाई चरम राष्ट्रघाती विधेयकको संज्ञा दिएका हुन् । उनले यो विधेयकले देशको अस्तित्व नै खतरामा जाने उनको भनाई थियो । देशभक्त नागरिकको हैसियतले आफुहरुले यो विधेयकविरुद्ध अभियान नै चलाएको बताए ।
अध्ययन कार्यदलले नेपालको जन्मसिद्ध बाबु-आमाले नागरिकता प्राप्त गरिसकेपछि मात्र नेपालमा जन्म भई नेपालमा नै स्थायी बसोबास गरेका सन्तानहरुले मात्र नागरिकता पाउने हक हुने जनाएको छ । हकै नभएकाले पनि नागरिकता पाउने गरी ल्याइएको विधेयक राष्ट्रघाती भएको कार्यदलको ठहर छ ।
कार्यदलले सर्वोच्च अदालतले खारेज गरेको अध्यादेशलाई हुबहु नै विधेयकको नाम दिई प्रस्तुत र पारित गर्दा सर्वोच्चको आदेश समेत अवज्ञा र अपमान भएको जनाएको छ ।