कोरोनाबाट मृत्यु हुने ७५ प्रतिशत भन्दा बढी खोप नलगाएका
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २४ मंगलबार
1k
Shares
काठमाडौं । पछिल्ला दिनहरुमा देशभर फेरि कोरोना भाइरसको संक्रमण कोभिड १९ बढ्दै गएको छ । नेपालमा मात्रै नभएर विश्वका विभिन्न मुलुहरुमा संक्रमण बढ्न थालेपछि विश्वकै संक्रमण दर उकालो लागेको छ ।
नेपालमासमेत विगत दुई सातायता निरन्तर संक्रमण बढ्दै गएको छ । संक्रमण बढेसँगै मृत्यु हुनेको संख्यासमेत बढेको छ । मंगलबार मात्रै कोभिड १९ बाट थप २ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मंगलबार एक हजार ९० जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
यसबीच मन्त्रालयले कोभिड १९ को संक्रमणबाट मृत्यु हुनेमा सबैभन्दा बढी खोप नलगाएका व्यक्ति भएको बताएको छ । मन्त्रालयले हाल कोभिड १९ को संक्रमणबाट मृत्यु भएकामध्ये ७५ प्रतिशत भन्दा बढीले कोभिड १९ विरुद्धको खोप नलगाएको पाइएको बताएको हो ।
खोप नलगाएकाहरु कोभिड १९ को उच्च जोखिममा रहेको बताउँदै मन्त्रालयले हरेक नागरिकलाई नजिकको स्वास्थ्य संस्थामा गई कोभिड १९ विरुद्धको खोपको पहिलो मात्रा, दोस्रो मात्रा र बुस्टर मात्रा लगाउन आग्रह गरेको छ ।